डोजरे सडक विकासले बरबाद परिवार

यो सडकको बीचमा बेहोरेको चुल्ठेनामा दलितका ५ घर थिए, पहिरोको जोखिम भइरहेकोले २ घर सुरक्षित स्थानमा सरे, खेती भने चुल्ठेनामा गरिरहे। बाँकी रहेका ३ परिवार त्यहीँ जेनतेन गुजारा गरिरहे, खेतीले दुई महिना पनि खान नपुग्ने हुनाले ज्यालामजदुरीमै बाँचिरहेका छन्। पढदापढदै गरेका १२ वर्षका नानीहरूलाई दिल्लीतिर रोजगारीको लागि पठाएका छन्। उनीहरूका माटोढुङ्गाको गारो र खर (फुस) को छानो भएका ससाना झुपडी थिए। माटे सडकमुनि भिरोलोम रहेका तीनैवटा झुपडी पनि २०७२ सालको भूकम्पले चिरचिरा पार्‍यो, गाउँलेहरूको सदाशयता र निर्वाचित वडाको सिफरिसमा पाएको सरकारी अनुदानबाट पक्की जस्तापाताको छानो भएका चिटिक्क परेका घर बनाए। तर उनीहरूको यो खुसी धेरै दिन टिकेन। उनीहरूकै घरमाथिको कच्ची सडकनिरबाट लाहाँटा खेतमा जान उपभोक्ता समितिले त्यही भिरालोमा डोजरे सडक खन्यो र फलस्वरुप त्यसै चोकनिरबाट वर्षात्को पहिलो झमटमै लहरै ठूला पहिराहरू गए र त्यसका धाँजा (चिरा) पल्लो घरसम्म पुगे। उनीहरूको घरमाथि सडक बनाउँदा बँचेको राइँलाको लुलाको खायलको सुर्को पनि खस्यो र सडकमा लछारियो र २ वटा घरहरूमा सडकको आधा किनारा झर्‍यो र पहिरोले घरै बगाउन लागेकोले लब्दी सुरक्षित स्थानमा बास बस्न गए। पोलीथिन जम्मा पारेर घरको भित्तासम्म खसिरहेको पहिरोलाई छोपियो। भाद्रमा वर्षात् थामिएपछि मात्र कोदालो र डोकोको भरमा पहिरो पन्छाएपछि बल्ल घरमा बस्न पाए।

यो गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासको बाख्रछेँडा—बाँधकाघाट ७ कि.मि. माटे सडकको कथा हो। यो सडक बन्न लागेको २० वर्ष जति भए होला, २०५२ सालतिर हो। यसलाई जिल्ला मुख्य सञ्जाल (District Road Core Network – DRCN) मा सडक सङ्केत 46DR015 relation 7704081 बाख्रेछेँडा—रातडाँडा—बडागाँउ—मुसिकोट—पौंदी अमराई सडक उल्लेख गरेको पाइन्छ। तम्घासबाट सेउवा—पनाहाघाट हुँदै बाँधाघाटसम्म पुग्न १३ कि.मि जति लाग्ने भएकोले बाख्रछेँडाबाट—बाँधाघाटसम्म छोटो बाटो यात्रा गर्न रुचाउँछन्। बाख्रेछेँडाको पिपलको चौपारीनिर दुइटा घरको बीचबाट यो सडक सुरु हुन्छ। दुबैतिर घर छन्र सडकको चौडाइ १० फिट जति मात्र छ। २०५२ सालमा अर्खले गाउँ विकास समितिका अध्यक्ष डिट्ठा टेकबहादुर कुँवर समेतको रोहबरमा समाजसेवीहरू तथा व्यापारीहरूले पूर्वतिरको घर पञ्चकृति मूल्य कायम भएअनुसार रकम दिई सडक फराकिलो पार्ने कुरा भएको थियो। पछि बाटो फराकिलो गराउन सरकारले पनि वास्ता गरेन र त्यत्तिकै छ। हालका प्रधानमन्त्री शेरबहादुर देउवाज्यू पहिलो पटक प्रधानमन्त्री हुँदा शिलान्यास भएको यो माटे सडकको अवस्था दयनीय बनेको छ।

रेसुङ्गा पहाडको फेदीको सल्लेरी वन हुँदै जाने पुरानो पैदल हिँडने गरेको बाटोनै मोटर बाटोमा परिणत भएकोले सवारी यात्रा गर्न पनि यसैलाई सुविधाजनक मान्दछन्। भाडगाउँतिरको बाटो नछिचोलिँदासम्म चित्रेका मोठ (दमाइको चौपारी) देखि बेहोरेहुँदै बाँधाघाट—मुसिकोट जानेआउने गरिन्थ्यो। तम्घासबाट बाख्रेछेँडा—बाँधाघाट—रातडाँडा—इन्द्रेगौंडा हुँदै मध्यपहाडी लोकमार्गको खर्बाङ ((७+१.५+११+११ कि.मि.) ३०.५ कि.मि. पर्छ। यो खर्वाङ नाकाबाट बाग्लुङ—पोखरा (६५+७४ कि.मि.) पुग्न सकिन्छ।

बाखे्रछेँडाबाट—बाँधाघाटसम्मको यो सडकमा वर्षात्भरि सवारी चल्दैनन्। हिउँद लागेपछि जीप चल्न थाल्छन्तर स्थानीयले गाडी चढन पाउदैनन्किनभने टाढाबाट चढेका यात्रीहरूनै जीप भरिएका हुन्छन्। स्थानीय बासिन्दाहरूले सडकको पहिरोबाट पीडित हुने, धुलो खाने, हिलोले छ्यापिने अनि दुर्घटनामा पर्ने अवसर भने पाउँछन्। वडा नं. ३ तरकारी, फलफूल र दुग्ध पदार्थ उत्पादनमा अग्रणी भएकोले उत्पादन बजारमा लैजान यातायात जरुरी छ, बाक्लो बस्ती छ र बसाइसराइ नगन्य रुपमा छ।

बाख्रेछेँडाबाट १ कि.मि. उत्तर गएपछि भनभनेको डर लाग्दो भीर (भन्भन्रिङ्गटा लाग्ने भएकोले भनभने नाम रहेको) आउँछ। त्यही रिङ्गटा लाग्ने भन्भने भीरबाट पनेलापोखरा जाने “नगरपालिकाको गौरवको आयोजना”को नाममा पहिले बनेको सडकको समानान्तर हुने गरी २०७७ सालमा नगरपालिकाले नयाँ माटे सडक खोल्यो र त्यसले गर्दा ग्राभेल र नाली बनाइसकेको ठीक त्यसमुनिको पुरानो सडकमा माथिबाट खसालेको गेग्र्‍यान, ढुङ्गामाटोले थप पहिराहरू गए। गौरवको आयोजना सडक पनि नाली र कल्भर्ट नभएकोले थप पहिराहरू गएका छन्र घरबस्ती पहिरोका चपेटामा परेका छन्। सडकको अन्त्य (road end) भएको स्थानमा ७ मिटर चौडाइको मापदण्डमा माटे सडक निर्माण गरेकोले यो पाखोनै पहिरोले आक्रान्त छ। माटो कोपरेर भीरमा फाल्नुभन्दा ४ मिटर चौडाइ भए नाली सहितको ग्राभेल सडक बनेको हुन्थो। यो माटे सडक निर्माण गर्दा खनेका ढुङ्गामाटो तल खसालेकोले थामिन नसकेर पहिरा गएर जुकेखोलीमुनि छहराखोलाबाट बेहोरे जाने खानेपानीको मुहान भासियो र पछि जेनतेन अक्करेभीरबाट लगेको खानेपानीको पाइप पानी पर्नासाथ बगाउने गरेकोले वर्षात्मा समेत गाउँमा पानीको हाहाकार हुने गरेको छ। त्यही जुकेखोलीनिरबाट सिद्धका थान जान अर्को डोजरे सडक खनेकोले पूरै भीर खसेको छ र बेल्बासे टोल पनि जोखिममा परेको छ। अझ यति विनाशले नपुगेर यसै सडकलाई क्रस गर्दै भाडगाउँ वडा कार्यालय वल्तिरबाट अर्खले सेतीखोली जान उपभोक्ता समितिमार्फत डोजरे सडक बनाउन सुरु गरेपछि सल्लाका रुखहरूसँगै पहिराहरू खस्ने थाले र सडक अधुरै छोडियो। यो ७ कि.मि. लामो बाख्रेछेँडा—बाँधाघाट माटे सडकको बीचमा साना ठूला गरी ५० भन्दा बढी पहिरा खसेका छन्। यहाँ बनेका कुनै सडकको वातावरणीय अध्ययन गरिएको छैन।

यो सडकको बिलौना यतिले मात्र सिद्धिएन। १ कि.मि. पर लब्दीको चौरमा मिसिन आउने भाडगाउँलाई धरापमा राखेर धैरेनीको भीरमा बनाइएका पाँच घुम्ती (यति धेरै घुम्ती गुल्मी जिल्लाभरि छैनन्) भएको सडकबाट खस्ने पहिरोले वर्षेनी अजङ्गका खोल्साहरू बनाउँदै लब्दीको चौरनिर झर्ने गर्छ। लब्दीचौरमा रहेका परम्परागत रुपले वरपिपलसँग विवाह गराइदिएका दुईटा पोखरीहरूका ढुङ्गा र मान्द्रेढुगा पनि सडकमा पर्‍यो भनेर ढुङ्गा निकालेर लगे। प्राकृतिक बहाव भइरहेको खोल्सीमा नबनाइ सिमलको रुखनिरको सिम खेतमा पर्ने गरी बनाएको कल्भर्ट भत्काउँदै अघिल्लो वर्ष आएको धैरेनी—पाँचघुम्तीको भलले लब्दीको १० रोपनी सिम खेत लछार्दै बगर बनायो। त्यसपरको ७ परिवारको मकै बाली लगाएको २५ रोपनी खेत २०७७ वैशाख २७ गते आएको पहिलो बाढीले बगर बनायो। सिञ्चाइ कुलोको नामनिशानै नरहने गरी बगायो र गोठनिरको चिदीको सोहोरेर अजङ्गको खोल्सो बनायो। अर्को दिन ३ नं. वडा अध्यक्ष थम्मनबहादुर के.सी लगायतमा जनप्रतिनिधिहरू, कुलोका उपभोक्ताहरू, सो सडक हेर्ने मदनभण्डारी राजमार्ग योजना कार्यालय तम्घासका प्राविधिक, सञ्चारकर्मीहरूले अवलोकन गरेपछि सडक बनाउँदा नाली नबनाएको र ठेकदार मोहन पाण्डेले (रेसुङ्गा नगरपालिका ७ नं. वार्ड अध्यक्ष) डोजरले ढुस्को कोपर्दा आएका ढुङ्गाका चट्टाहरू आफैले बनाउन लगाएको सडकमा थुपार्न लगाएकोले बाढी पसेर क्षति भएको हुँदा ठेकदारकै डोजरले खेत बनाइदिने, कुलो बनाइ दिने, पाँचुघम्तीबाट बगेर आउने प्राकृतिक बहाव हुने ठाउँ (चौरनिर) मा नयाँ कल्भर्ट गराइ दिने सहमति भयो। त्यसै अनुसार ३ नं. वडा कार्यालयले जिल्ला प्रहरी कार्यालय गुल्मीलाई क्षतिको मुचुल्का गरिदिन र मदनभण्डारी राजमार्ग सडक आयोजना कार्यालयलाइ ठेकदारबाट क्षति भएको काम सुधार गराउन २०७७ वैशाख २९ मा पत्र लेख्यो र २०७७ असार १२ गते ताकेता पठायो। जिल्ला प्रहरी कार्यालय गुल्मीले २०७७ साउन १८ गते गरेको मुचुल्का सहित २०७७ आश्विन १५ मा जिल्ला प्रशासन कार्यालय गुल्मीलाई मुचुल्का सहित पत्र पठायो। तर अहिलेसम्म ठेकदारले क्षति भएको खेत बनाएका छैनन्।

बिगारेको खेत बनाइदिन पटकपटक ताकेता गर्दा पनि ठेकदारले बनाएनन् र सडक कार्यालयमा सम्पर्क गर्दा “ठेकदारलाई बनाउन भनेको छ, बनाउँछन्” भनेर भोलिभोलि भनेर टारियो। सडकका हाकिमहरू बदलिइरहे। पछिल्लो पटक सडक प्रमुख ई. सुनित के.सी.लाई आग्रह गर्दा “ठेकदारको अरु पनि ठेक्का भएकोले सो काम नगरे भुक्तानी रोक्का हुन्छ। क्षति सुधार हुन्छ।” भनेर आश्वासन दिए। ठेकदार र सडकका कर्मचारीको घनिष्ठताले कुनै पनि काम गरेनन्।

असारको हिसाबकिताब पछि उनको पनि बीचमा प्यूठान सरुवा भएको सुनियो। त्यसपछि ई. रामकृष्ण तिमल्सिनालाई अनुरोध गर्दा “बजेट छैन, माथिबाट बजेट आए काम हुन्छ” भनेकोले प्रदेश र संघमा हारगुहार गरेपछि बजेट गयो। बजेट आए पनि बिगारेको खेत र कल्भर्ट नबनेकोले सडक कार्यालयमा गएर सोध्दा “आएको बजेट पाँचघुम्ती नपुग्दै सकियो। अर्को साल बजेट आएपछि बन्छ।” भने। उनको पनि कता सरुवा भयो। कार्यालयमा गएर गुनासो गरेपछि निरीक्षण गर्न गएका भुजेलखर्क घर हुने श्रेष्ठ थरका साइट सुपरभाइजरले पनि नापजाँच गरेझैं गरे तर बनाइ दिएनन्। पछि सोध्दा उनी पनि अन्त कतै गए भन्ने सुनियो।

त्यही बिगारेको खेतको ५०० मिटर जति पर खन्याथानमा डोजरले सडक खन्दा जंगबीर नेपालीसमेतका ३ परिवारको गोठमा जाने पैदलबाटो र कुलो कोपरेर भीर पारेर खेतको बीचमा रहेको पानीको सिम मुहानका आँप लगायतका रुखहरू डोजरले पुरेर ६० फिट चौडाइको माटे सडक बनायो। खेतको पखेराका ढिक भत्काएर ढुङ्गा निकाल्दै छाँगो बनायो। प्राकृतिक जलप्रवाह हुने खेतको सीमानाको जंगलको खोल्सीमा कल्भर्ट नबनाइ त्यही सडककिनाराको बाँकी बँचेको खेतको बीचमा सडक तलका खेतमा भल पस्ने कल्भर्ट बनायो।

“तपाईहरूको मदन भण्डारी सडक आयोजना कार्यालयअगाडि पीच गरेको सडक त १७ फिट पनि छैन, यो सडक सुरु भएको बाख्रेछेँडामा दुई घरको बीचमा १० फिट मात्र चौडाइ छ। किन खन्याथानको खेत मासेर ६० फिट बनाउनु पर्‍यो? प्राकृतिक जलप्रवाह हुने खोल्सीमा कल्भर्ट नबनाइ खेतको बीचमा भल पस्ने गरी किन कल्भर्ट बनाउन लगाउनु भयो ?” भनेर सडक कार्यालयका प्रमुखलाई प्रश्न गर्दा “साइट सुपरभिजन नगरेको ठेकदारले आफूखुशी बनाउँदा त्रुटि भयो, सडक पनि १५ फिटमा सीमित हुन्छ, ठेकदारले नचाहिने ढंगले ढुंगा निकाल्दा बनाएको भीर/भित्तामा रिटेनिङ्ग वाल लगाइन्छ। त्रुटिपूर्ण कल्भर्ट खेतबाट खोल्सीमा सारिन्छ।” भनेर आश्वासन दिए। तर अहिलेसम्म जस्ताको तस्तै छ र खेत बाँझै छन्। सडक निर्माण स्थलमा पछि गरेको निर्माणको कँही पनि जानकारी बोर्ड राखिएको छैन, २०७४ सालको पुरानो जानकारी बोर्ड अझै बाख्रेछेँडा खडा छ। बाख्रेछेँडा—बाँधाघाट सडक निर्माण वा मर्मतसम्भारको कार्यान्वयन मदनभण्डारी राजमार्ग सडक कार्यालय तम्घासबाट गर्न पायक पर्ने भए तापनि तम्घासबाट ९५ कि.मि. टाढा पर्ने कपिलवस्तुको शिवपुरबाट अनुगमन भएको देखाई भुक्तानी दिनेलिने काम भएको र महालेखा परीक्षण समेत भैसकेको स्थानीयहरूले गुनासो गरे। यो माटे सडक छल्दीपनाह खोला बाँधाघाट पुगेपछि डोजर र टिपरको आतङ्क देख्न सकिन्छ। यस खोलाको सिरानदेखि मजेङ खोलाको दोभानसम्मका अजङ्गका ढुङ्गाहरू डोजरले निकाल्ने र टिपरमा ओसार्ने गरेर अब ढुङ्गा बाँकी छैनन्। फलस्वरुप, माथिबाट तल झर्ने खोलाको भेललाई प्राकृतिक रुपले अवरोध गरेर वेग मत्थर पार्ने ढुङ्गाहरू लगेकोले खोला किनारामा बाढी पसेर खेतहरू बगरमा परिणत हुन थालेका छन्। जलचरहरू बस्ने आश्रय (माछा बस्ने कूर) मासिएकोले माछाको नामोनिशान नभएको र माछा मारेर जीविका गरिरहेका स्याँला—रातचौरका जलाहारीहरूले आफ्नो रोजीरोटी समेत मासिएको गुनासो गर्छन्।

 राष्ट्रिय योजना आयोगको ग्रामीण सडक निर्माणमा भारी उपकरण प्रयोगबाट उत्पन्न विपद् सम्बन्धी अध्ययनको एक अंश।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link