मानवअधिकार विश्वका समस्त मानव जातिसँग सम्बन्धित कुरा भएकाले यो स्वत: विश्वव्यापी सरोकारको विषय बनेको हो । सबैको चासो रहेको यो विषय संवेदनशील छ । मानवअधिकार मानव भएर जन्मेपछि स्वत: प्राप्त हुने जन्मसिद्ध अधिकारको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘एप्लाइड बुद्धिज्म’ अन्तर्गत ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ विषयमा विगत केही वर्षदेखि प्राध्यापन गर्दै आइरहेको छु । प्रत्येक वर्ष पढाउन थाल्दाका सुरुका दिनहरूमा विद्यार्थीहरू मानवअधिकारको अवधारणा पनि गौतम बुद्धबाटै सुरु भएको अनुमान गर्छन् । मेरो पुस्तक ‘बुद्ध र मानवअधिकार’ को गाता हेरेको वा शीर्षक मात्रै सुनेकाहरूमा पनि यही बुुझाइ रहेको पाइन्छ । बुद्ध र मानवअधिकार दुई बेग्लाबेग्लै विषय हुन् तर भिन्न पनि छैनन् । बुद्ध र मानवअधिकार बीचको सम्बन्धले यी दुई विषय बुझ्न अझ सघाउ पुग्ने देखिन्छ ।
मानवअधिकारको अवधारणा वा विकासको कुरा गर्दा हामी सोझै सन् १२१५ को म्याग्नाकार्टाको कुरा गर्छौं । इङ्ल्याण्डका राजा जोनको शासनसँग जनता सुखी थिएनन् र विद्रोह गर्न पुगे । विद्रोहपछि राजा र जनताबीच एक सम्झौता भयो जसलाई म्याग्नाकार्टा नाम दिइएको छ । यस सम्झौताले जनताको हितमा अधिकारहरू सुचिश्चित गरिएको थियो । यसमा नागरिक अधिकार, सम्पत्ति राख्ने अधिकार, पूर्वजको सम्पपत्ति प्राप्त गर्ने अधिकार, अधिक करबाट मुक्त हुनेलगायतका अधिकारहरू थिए । सम्पत्तिवाला विधवाले पुन: विवाह गर्ने वा नगर्ने निर्णय व्यक्तिको तजबिजमा छाडियो अर्थात् विवाह नगर्ने अधिकार प्राप्त गरे । त्यस बेला चर्चमाथि राजाको हस्तक्षेप भइराख्थ्यो र आइन्दा त्यस्तो हस्तक्षेप गर्न नपाउने पनि भयो । यी अधिकारहरू इतिहासमै पहिलोपल्ट लिखित रूपमा आएका थिए । यसैकारणले पनि हुनुपर्छ यसलाई मानवअधिकारको पहिलो दस्तावेजका रूपमा लिइन्छ ।
मानवअधिकारको अर्को महत्वपूर्ण दस्तावेज सन् १७७६ को अमेरिकी स्वतन्त्रताको घोषणापत्रलाई मानिन्छ । मानिसको प्रकृतिप्रदत्त अधिकारलाई कसैलै हस्तक्षेप गर्नु हुँदैन र सक्दैन भन्ने विचारलाई यसले सार्वजनिक गर्ने काम गर्यो । राज्य र नागरिकका सीमा र अधिकारहरूलाई परिभाषित गर्यो । अमेरिकी स्वतन्त्रताको घोषणापत्रसम्बन्धी दस्ताबेजको मस्यौदा अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफरसन (१७४३–१८२६) ले गरेका हुन् । जसमा सबै मानिस जन्मिदा बराबर हुन्छन् र यसले उनीहरू सम्झौता गर्न नसकिने अधिकारबाट सम्पन्न हुन्छन् भन्ने तथ्य स्थापित गर्यो । साथै मानव स्वतन्त्र र समान अधिकारसहित जन्मेका हुन् र मानवको जीवन, स्वतन्त्रता, सम्पत्ति तथा सुरक्षा सबैका लागि बराबर हो भन्ने लेखियो । यसको प्रत्यक्ष प्रभाव १३ वर्षपछि सन् १७८९ अगस्ट २७ मा फ्रान्सेली राज्यक्रान्तिको घोषणामा पर्यो ।
फ्रान्समा राजा लुई सोह्रौंप्रति जनतामा ठूलो भरोसा थियो तर उनबाट केही सुधार नभएपछि भएको क्रान्तिले अन्तत: राजतन्त्र नै समाप्त गरी लोकतान्त्रिक फ्रान्सको स्थापना गयो । यही बेला ‘मान्छेको अधिकारको घोषणा’ जारी भएको थियो । यस घोषणामा अमेरिकामा प्रत्याभूत गरिएका अधिकारहरू समावेश गरी लागू गरियो । घोषणापत्रको धारा १ मा प्रत्येक मानव स्वतन्त्र र समान अधिकारसहित जन्मेका हुन् भनेर लेखियो । मानवको सम्मानमाथि प्रहार गर्ने, सम्पत्तिमा हस्तक्षेप गर्ने, सुरक्षा नहुने, जीवनको खतरा हुने कुरालाई मानवको प्रकृतिप्रदत्त अधिकारमाथिको हस्तक्षेप हो भन्ने प्रस्ट पारियो । धारा २ मा मानिसको प्राकृतिक अधिकार जसमा जीवन, सम्पत्ति, सुरक्षा, स्वतन्त्रता तथा आफ्नो कानुनी प्रतिरक्षा गर्न पाउने हक एवं कानुनको नजरमा सबै समान हुन् भन्ने कुरा प्रस्ट गरियो । सबै मानव प्राकृतिक अधिकारसहित जन्मेका हुन्छन् ।
बुद्धको शिक्षा अर्थात् बौद्ध धर्मदर्शनलाई आफ्नो मार्गदर्शनका रूपमा स्वीकार गरी जीवन यापन गर्ने कोशिस गर्ने बौद्धले दैनिक जीवनमा पालना गर्नुपर्ने शील मानवअधिकारको विरुद्धमा छैन । कुनै पनि प्राणीको हत्या नगर्ने, चोरी नगर्ने, व्यभिचार नहुने, झुुठो नबोल्ने तथा नशालु पदार्थको सेवन नगर्ने प्रण गर्नुले बरु मानवअधिकारको प्रवर्द्धनमा सघाउ नै पुुग्ने हुन्छ ।
मानव अधिकारका कुराहरू जति गरे पनि यो नाम सुरुदेखि नै प्रचलित भने थिएनन् । सुरुका दिनहरूमा यसलाई कसैले प्राकृतिक अधिकार भने त कसैले प्राकृतिक कानून । कसैले यसैलाई मान्छेको अधिकार भने त कसैले अरु नै शब्दको प्रयोग गरे । ‘मानवअधिकार’ शब्दको पहिलो प्रयोग दार्शनिक थोरोले आफ्नो नागरिक अवज्ञा शीर्षकको लेखमा गरेका थिए । त्यसयता मानवअधिकार शब्द नै प्रयोग हुँदै आइरहेको छ । दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा स्थापित संयुक्त राष्ट्रसंघको बडापत्रमा मानवअधिकारका आधारभूत सिद्धान्तहरूलाई समावेश गरियो । यसैको आधारमा पछि मानव अधिकारको विश्वव्यापी घोषणा पत्र–१९४८ डिसेम्बर १० तारिखका दिन जारी गरियो । मानवअधिकारलाई शान्ति, स्वतन्त्रता र विकासको मूल आधारका रूपमा अंगीकार गर्दे यो घोषणापत्र जारी भएको हो । सदस्य राष्ट्रहरूले यो घोषणा पत्रलाई आफ्नै देशको संविधानको मूल मर्मको रूपमा ग्रहण गर्दछ । मानव मात्रको जन्मसिद्ध एवं नैसर्गिक अधिकारको परिभाषा गरेको मानवअधिकारको आधिकारिक पहिलो दस्तावेजको रूपमा लिइने यसले संसारका राज्य र सरकारहरूलाई व्यक्तिको न्यूनतम अधिकारको क्षेत्र किटान गरेको छ । ती देशहरूलाई आफ्ना नागरिकको अधिकारप्रति सचेत र संवेदनशील हुन आवश्यक नैतिक दबाब सिर्जना गरेको छ । मानव अधिकारसम्बन्धी यही घोषणापत्रको आधारमा संयुक्त राष्ट्र संघअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरू हुन्छन् र ती महासन्धि लगायतका दस्तावेजहरू पक्ष राष्ट्रको कानुन सहर हुन्छन् ।
सन् १९४५ मा स्थापित संयुक्त राष्ट्रसंघको बडापत्रमा मानवअधिकारको कुरा हुनु र त्यसलाई मूर्त रूप दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र–१९४८ जारी हुनुको अर्थ मानवअधिकार सम्पूर्ण कुराहरू एकै पटक सिर्जना भएको होइन । यसका लागि अनेकौं व्यक्ति तथा संघसंस्थाहरूले ठुलै हन्डर खाँदै चिन्तन मनन गरेर विकास गरेका हुन् । मानिसलाई शासकले जनावरको जस्तो व्यवहार गर्न नहुने धारणाले युरोपेली समाजमा बलियो विचार बनाउँदा फ्रान्स सरकारले सन् १७९४ मा दासदासी उन्मूलनको घोषणा गर्यो । सन् १८८७ मा एडल बेक नाम गरेका व्यक्तिलाई चोरी र बलात्कारीको आरोपमा अदालती फैसलाबाट १७ वर्ष जेल हालियो । पछि उनी निर्दाेष ठहरिए । सन् १९०४ मा सोही मुद्दाबाट बेलायतमा पहिलो अदालतको फैसलाकै भरमा कसैलाई पनि दोषी करार गर्न मिल्दैन भन्दै बेलायती संसद्ले अपिल अदालतले हेर्नुपर्ने नियम बनायो । यसरी मानव जीवनको महत्वले युरोपमा ठाउँ पायो । पछि अपराधीलाई मृत्युदण्डको सजाय दिन नहुने मान्यता पनि विकास भयो । कुनै बेला सानो तिनो अपराधीलाई पनि मृत्युदण्ड दिइन्थ्यो ।
मतदानको अधिकार महिलालाई पछि मात्रै प्राप्त भएको हो । सन् १९०२ मा अस्ट्रेलियामा, १९२० मा अमेरिकामा, १९२८ मा बेलायतमा र सन् १९४४ देखि फ्रान्समा महिलालाई मतदानको अधिकार प्राप्त भयो । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि, सन् १९७९ मा बन्यो । यसरी नै बाल अधिकारसम्बन्धी महासन्धि, सन् १७८९ मा बन्यो । यस्ता अधिकारहरू आवश्यकताअनुसार बन्दै र परिमार्जन हुँदै आइरहेको पाइन्छ । यसअनुसार मानव अधिकारलाई गतिशील मान्न सकिन्छ ।
मानवलाई प्रतिष्ठित जीवन जिउनका लागि प्रत्याभूत गर्ने मानव अधिकारको लामो इतिहासबारे चर्चा गर्दा प्राय: पश्चिमी मुलुक तथा चिन्तनमा हामी ठोकिन पुुग्छौं । यही बेला इतिहासमा हामी पूर्वेली कहाँ थियौं भन्ने प्रश्न स्वभावत: उठ्छ । मानव सभ्यताका सवालमा पूर्वीय सभ्यता तथा चिन्तन परम्परा निकै प्राचीन मानिन्छन् । ती चिन्तनहरू हाम्रा सामु अहिले लिखित रूपमै छन् तर मानवअधिकारका सवालमा सबै जस पश्चिमाहरूले पाउँदा पूर्वेलीहरूले आत्मसमीक्षा गर्नुपर्ने अवस्था छ ।
वैदिक सभ्यताको दस्तावेजका रूपमा ऋग्वेद तथा अन्य वेदलाई मानिन्छ । यसरी नै उपनिषद्, स्मृति, पुराण, महाकाव्य आदिको पनि चर्चा गर्छौं । यी वाङ्मयहरूमा उल्लेखित विधिविधान तथा मूल्यमान्यता कतिपय सन्दर्भमा हिजोआज पनि जीवन्त छ । मानव जातिको हितको लागि भनेरै सिर्जना गरिएका ती वाङमय तथा चिन्तन पद्धति कतिपय सन्दर्भमा मानवअधिकारको मूलभूत मान्यताभन्दा विपरीत छन् । वर्णव्यवस्था समानतामा आधारित छैन । यसले ब्राह्मण वर्गको उच्चतालाई बढावा दिन्छ । क्षेत्री, वैश्य र शूद्रको व्यवस्था पनि तहगत हो । शूद्रको अवधारणा र उसका लागि निर्दिष्ट नीतिनियमहरू मानव सभ्यताका लागि एउटा कालो धब्बा हो । यस अवस्थामा मानवअधिकारको कुरा मुखरित हुने कुरै भएन ।
वैदिक कालमा महिलाको स्थिति अलि राम्रो देखिए पनि यही वैदिक मूल्य मान्यतालाई व्यवस्थित गर्न भनी ल्याइएका विधिविधानहरूले महिला वर्गलाई मानव दर्जा नै दिइएन । जसरी शूद्रलाई मानवको दर्जा दिइएको थिएन, त्यही दर्जामा महिलालाई राखी धोवी र गधालाई जस्तै महिला र शूद्रलाइ पिट्न हुने विधान बनाइयो । महिलाको मानमर्दन गर्ने अनेक शब्दहरू यो समाजमा पुरुषार्थका रूपमा मान्यता थियो । सति प्रथाजस्तो अमानवीय चलनको अन्त्य भारतमा व्रिटिश साम्राज्यले राज गरेपछि मात्रै भएको थियो ।
मानवअधिकारको कुरा गौतम बुद्धको प्रसंगमा अलि बेग्लै छ । बुद्धको समय भन्नु उत्तर वैदिक कालभन्दा पनि यता हो । यस बेला वैदिक मूल्य मान्यताविरुद्ध अरु मात्रै होइनन्, स्वयं वैदिकहरूले नै पनि आन्तरिक विद्रोह वा सुधारको माग गर्न थालिसकेको थियो । भागवत् सम्प्रदाय यसैको ज्वलन्त उदाहरण हो । वैदिक मूल्य मान्यतामाथि आन्तरिक एवं वाह्य रूपमा नै प्रश्न उठेर वैचारिक उहापोह भइरहेको अर्थात् इशापूर्व छैठौं शदीतिर महावीर वर्धमान तथा गौतम बुद्धले आआफ्नो ठाउँमा वैचारिक क्रान्तिको बिगुल फुुकेका थिए । बुद्धले दार्शनिक क्षेत्रमा प्रत्यक्ष र अनुमान गरी दुई वटालाई मात्र प्रमाण मान्नुुको अर्थ वेदलाई अस्वीकार गर्दिनु हो । वेदलाई शब्द प्रमाणको रूपमा लिइन्छ । यसरी नै वेदमा आधारित वर्णव्यवस्था तथा जातप्रथाको अनौचित्यलाई प्रकाश पार्दै तत्कालीन समाजमा एक प्रकारको हुँकार गरिदिए । समाजमा ब्राह्मण वर्गको मात्रै पेवाको रूपमा रहेको आध्यात्मिक साधनालाई बुद्धले तल्लो वर्ण र जाति भनिएकाहरूलाई पनि सर्वसुलभ गरिदिए । धर्मको अभ्यासमा पुुरुषले जति नै महिलाले पनि अभ्यास गर्न सक्ने र मेहनतअनुसार समान रूपमा फल पाउने मान्यता बुद्धको थियो । महावीर वर्धमानको मान्यतामा महिलाले जति साधना गरे पनि ‘कैवल्य’ को भागिदार पुुरुष मात्रै हुुने र महिला हुँदैनन् भन्ने थियो भने बुद्धले कुनै पनि प्रकारको लैंगिक भेदभाव नभएको प्रष्ट पारे ।
गौतम बुद्धको दृष्टिकोण मानवअधिकार अनुकुल नै भएको तर मानवअधिकारको सवालमा बुद्धलाई किन ‘क्रेडिट’ दिंदैन त भन्ने सवाल महत्वपूूर्ण छ । अधिकारको प्रत्याभूत गर्ने काम शासक वा शासकीय निकायको हुन्छ । बुद्ध कुनै शासक होइनन् । उनले आफूूले देखेको धर्म अरुलाई सिकाएका मात्रै हुन् । अनुुयायीहरू आफू खुुसी त्यसको पालना गर्ने हुन्, व्यवहारमा उतार्ने हुन् । बुद्धका उपदेशहरू वैधानिक रूपमा बाध्यकारी होइनन् तर मानवअधिकार वैधानिक रूपमा नै बाध्यकारी शासन व्यवस्थाको कुरा हो ।
मानवअधिकारको सवालमा अन्य धर्मदर्शनमा कुरा गर्नु जति अप्ठ्यारो हुन्छ त्यति बौद्ध धर्म–दर्शनमा हुँदैन । मानवअधिकारका चिन्तकहरूमा बुुद्ध र बौद्ध–दर्शनका बारेमा के कति जानकारी होला अथवा नहोला, छलफल वा खोजीको बेग्लै विषयवस्तु हो तर चिन्तनमा विरोधाभास पाइँदैन । बौद्ध धर्म–दर्शनको अभ्यास वा पालनामा मानवअधिकार मुुखरित हुन्छ । यसलाई अझ स्पष्ट शब्दमा भन्नुुपर्दा मानवअधिकारको रक्षाको लडाइँलाई पनि बौद्ध साधनाअन्तर्गत नै राखेर हेर्न सकिन्छ । फरक कति भने, मानवअधिकारको विषयवस्तु मानिस मात्रै हुुन् भने बौद्ध धर्म–दर्शनको विषयवस्तु मानिससहित समस्त प्राणी हुन् ।
बुद्धको शिक्षा अर्थात् बौद्ध धर्मदर्शनलाई आफ्नो मार्गदर्शनका रूपमा स्वीकार गरी जीवन यापन गर्ने कोशिस गर्ने बौद्धले दैनिक जीवनमा पालना गर्नुपर्ने शील मानवअधिकारको विरुद्धमा छैन । कुनै पनि प्राणीको हत्या नगर्ने, चोरी नगर्ने, व्यभिचार नहुने, झुुठो नबोल्ने तथा नशालु पदार्थको सेवन नगर्ने प्रण गर्नुले बरु मानवअधिकारको प्रवर्द्धनमा सघाउ नै पुुग्ने हुन्छ । कुनै पनि बौद्धको गहनाको रूपमा लिइने ‘चतुुव्रह्म विहार’ अन्तर्गतको मैत्री, करुणा, मुुदिता र उपेक्षाको भावना मानव अधिकारको रक्षा, प्रवद्र्धन तथा संरक्षणका लागि बीजमन्त्र नै भन्दा पनि हुन्छ । सबैसँग प्रेमपूूर्ण भावना जगाउनु मैत्री चित्त हो भने, अरुको दुु:खलाई आफ्नै दु:खको रूपमा आत्मसात गरी समाधानको बाटो खोज्नु करुणा चित्त हो । यसरी नै अरुको हित सुखमा इष्र्यालु नभई बरु खुुसी र आनन्दित हुनु मुुदिता भावना हो । कुनै पनि कुरामा तटस्थ भावमा बस्नु उपेक्षा हो । बौद्ध साधनामा निर्दिष्ट गरिएका कतिपय कुरा नैतिक शिक्षाजस्तो मात्रै लागे पनि ती साधनाका न्यूनतम मापदण्ड हुन् जसको अभावमा साधना संभव छैन । अनि यी कुराहरू मानवअधिकारसँग कतै न कतै जोडिएकै पाइन्छन् ।
मानवअधिकारको उल्लंघन किन हुन्छ ? यस्तो बढी मात्रामा अशान्ति, लडाइँझगडा र द्वन्द्वको बेला हुन्छ । कोही कमजोर र कोही शक्तिशाली भएको बेलामा पनि मानवअधिकारको उल्लंघन हुनपुुग्छ । बुद्धका अनुसार मान्छेमा तृष्णा हुञ्जेल यस्ता कुराहरू हुँदै गर्दछन् । तृष्णाको मात्रा जति बढ्यो मानवअधिकारको उल्लंघन पनि उही मात्रामा बढ्छ । सबै समस्याको कारण तृष्णा हो । यसअनुसार मानवअधिकारको उल्लंघनमा पनि तृष्णाले काम गरिरहेको हुन्छ । बुद्ध शिक्षाको मूल उद्देश्य नै तृष्णाको क्षय हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
बसन्त महर्जन का अन्य पोस्टहरु:
- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
- किन र कसरी विकास भयो बौद्ध धर्म–दर्शनका अनेकौं सम्प्रदायहरू ?
- सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
- नेवार समाजमा छोरी
- सत्यमोहन जोशीसँगका सम्झना
- किन हुन सकेन विज्ञानको कसीमा राखेर धामीझाँक्रीको अध्ययन?
- दसैंमा पशुुबलि
- तीर्थ हो टुकुचा, कहाँ हराएको थियो र भेटिनलाई?
- गणतन्त्रमा कैलासकूट राज–भवनको खोजी
- सांस्कृतिक अनभिज्ञताको प्रतीक यँया: (इन्द्रजात्रा)