बैतडीको पञ्चेश्वर गाउँपालिकामा–१ मा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीमा ३० हजार लिटरको भुइँ पानीट्यांकी छ। खानेपानीको चरम समस्या खेपिरहेको उक्त स्वास्थ्यचौकीमा अकासे पानी र टाढाबाट ट्यांकरमा ल्याई जम्मा गरिएको हुन्छ। उक्त ट्यांकीमा एकपटक पानी भरेपछि २ देखि ३ महिनासम्म काम चलाउने गरिएको छ।
लामो समयसम्म पानी ट्यांकीमा जम्मा भएर बस्ने र सरसफाइसमेत नहुने भएकाले भ्यागुता र चेपागाँडा देखिने गरेका छन्। सोही पानी स्वास्थ्यचौकीमा प्रयोग हुन्छ।
‘भुइँ पानीट्यांकी हो, निकासको व्यवस्था छैन। पानी जमेर बस्छ, फोहोर धेरै नै छ,’ पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले भन्नुभयो। पशुलाई समेत दिन नमिल्ने खालको पानी सुत्केरी सेवा र अन्य सरसफाइको कार्यमा प्रयोग गर्ने गरिएको स्वास्थ्यचौकी इन्चार्ज सार्कीले बताउनुभयो। खानेपानीको व्यवस्था नहुँदा चरम समस्या भोग्नु परेको उहाँको भनाइ छ।
भुइँ ट्यांकीमा मात्रै नभई अकासे पानीले भरिने प्लास्टिकको ट्यांकीमा समेत फोहोर जमेर चेपागाँडा देखिएका छन्।
सुत्केरीका लागि प्रयोग हुने उक्त पानीले महिलामा पाठेघरको समस्या देखिन थालेको छ। पञ्चेश्वर गाउँपालिकामा मात्रै आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकामा ११० जना महिलामा पाठेघरको समस्या देखा परेको छ। यस्तै उक्त पञ्चेश्वर स्वास्थ्यचौकीमा मात्रै १०३ जना महिलामा पाठेघरको समस्या देखिएको हो। बाँकी ७ जना गाउँपालिकाको अन्य ५ वटा स्वास्थ्यचौकीमा सेवा लिएका महिला रहेका छन्।
पञ्चेश्वर स्वास्थ्यचौकीमा सुत्केरी सेवा लिएका महिलामध्ये अधिकांश महिलामा प्रदूषित पानीकै कारण पाठेघरमा समस्या देखिएको स्वास्थ्य चौकइ इन्चार्ज सार्कीले दाबी गर्नुभयो। ‘यस स्वास्थ्यचौकीबाट सुत्केरी सेवा लिएका अधिकांश महिला पाठेघरको समस्या लिएर आएका छन्,’ सार्कीले भन्नुभयो, ‘सुत्केरी भएको महिनादिनभित्र सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, शरिर दुख्नेलगायतका समस्या लिएर आउँछन्।’
स्वास्थ्यचौकीमा सुत्केरी भएका बेला नुहाउने, लुगा धुने र स्वास्थ्यचौकीमा प्रयोग हुने औजारको सफाइ गर्न त्यही पानी प्रयोग गर्नेे गरिएको छ।
बैतडीको सुर्नया गाउँपालिका–७ स्थित शिखरपुर स्वास्थ्यचौकीमा पनि खानेपानीकै समस्या छ। नजिकैको खोलाबाट पाइपमार्फत पानी ल्याउने गरिएको स्वास्थ्यचौकी इन्चार्ज वीरबहादुर बोहराले बताउनुभयो।
‘स्वास्थ्यचौकी र सुत्केरी महिलाका लागि खोलाबाट पाइपमार्फत तानेर ल्याउने गरेका छौँ,’ स्वास्थ्यचौकी इन्चार्ज बोहरा भन्नुहुन्छ, ‘खोलाको पानी फोहोर हुन्छ। तर पनि के गर्नु अर्काे विकल्प छैन।’
२०७८ कात्तिकमा आएको बाढीले स्वास्थ्यचौकीसम्म आउने खानेपानीको मुहान नै बगाएपछि त्यसयता खोलाको पानी नै प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो। स्थानीय सरकारसँग पटकपटक माग गर्दा कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ।
जिल्लाको पाटन ८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकीको पानी ट्यांकीमा पनि फोहोर भरिएको छ। सरसफाइ गर्न निकास नहुँदा सफाई गर्न नसकिएको स्वास्थ्यचौकीले जनाएको छ।
बैतडीका अधिकांश स्वास्थ्यचौकीमा प्रयोग हुने पानी प्रदूषित रहेको पाइएको छ। हालै स्वास्थ्य कार्यालय बैतडीले स्वास्थ्य संस्थाले प्रयोग गर्ने खानेपानीको मुहानको अनुगमन तथा निरीक्षण गरेको थियो। यहाँ रहेका आधा स्वास्थ्यचौकीले प्रयोग गर्ने खानेपानीको मुहानमा दिसामा पाइने कीटाणु ‘कोलिफर्म’ भेटिएको छ।
नियमित रूपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्यांकीबाट नमुना संकलन गरी परीक्षण गर्दा दिसामा हुने कीटाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो।
‘जिल्लाका सबै पालिकाबाट स्थानीयले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमुना संकलन गरी परीक्षण गरेका थियौँ,’ भट्टले भन्नुभयो, ‘१३६ ओटा मुहानको पानी पिउनयोग्य छैन। ५०.८ प्रतिशत मुहानको पानी दूषित छ।’
दशरथचन्द नगरपालिकामा ३४ वटा मुहानको नमुना संकलन गरी परीक्षण गर्दा ११ ओटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ। यस्तै पुर्चाैडीमा ३० मध्ये १२, पाटनमा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो।
यस्तै पञ्चेश्वरका १८ मध्ये १४, शिवनाथका १८ मध्ये १२, सिगासका ३७ मध्ये १०, सुर्नयाका २४ मध्ये १७ दोगडाकेदारका २७ मध्ये १८ र डिलाशैनि गाउँपालिकाका २१ ओटा खानेपानीका मुहानबाट नमुना संकलन गरी परीक्षण गर्दा १२ वटा पानीका मुहानमा कोलिफर्म भेटिएको हो।
पानीको मुहान, इन्टेक र धारालाई नियमित सरसफाइ गर्न आवश्यक रहेको भट्टको भनाइ छ।
दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउँजस्ता विभिन्न सरुवा रोगको संक्रमण बढ्ने गरेको छ। स्वास्थ्य संस्थामै प्रयोग हुने खानेपानीमा केलिफर्मजस्ता कीटाणु भेटिनुले समस्या झन् भयावह बन्ने सक्ने उहाँको चिन्ता छ।
१, फोहोरको थुप्रोले भरिएको पञ्चेश्वर स्वास्थ्यचौकीको पानीट्यांकी। आँखाले सहजै भ्यागुता र चेपागाँडा देखिन्छन्। सोही पानी स्वास्थ्यचौकीमा प्रयोग हुन्छ।
पञ्चेश्वर स्वास्थ्यचौकीमा रहेको प्लास्टिक ट्यांकीमा रहेको प्रदूषित पानी। यही पानी यहाँ नियमित प्रयोग हुँदै आएको छ। ्
पाटन–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकीको पानीट्यांकी।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कृष्ण विष्ट/ बैतडी का अन्य पोस्टहरु:
- नयाँ सहरको पुरानै काम : बनेका संरचना कुरूप, मुख्य काममा प्रवेश नै पाएन
- बैतडीमा अवैधानिक मेडिकलको बिगबिगी, स्वास्थ्यमाथि चरम लापरबाही
- बैतडीमा बुझ्न र बुझाउन नसकिएको ‘मर्यादित महिनावारी’
- कौसाडीको दलित परिवार : खानेपानी नपाउँदा तीन दिन भोकै
- परोपकारी उपमेयर कौशिला : आफ्नो पारिश्रमिक विद्यार्थीलाई पढ्न सहयोग गर्दै
- पालिकाले बलजफ्ती सडक खन्यो, महिनापछि पहिरोले आमाछोराको ज्यान गयो
- योजना नै नपरी सेवाग्राहीलाई गाउँपालिकको फोन, एकप्रति फोटोकपीको सय रुपैयाँ !
- ग्रामीण बजार मदिरा पसलले भरिए, सिसाले भरियो वातावरण
- बैतडीमा बालमैत्री संरचना, हाँस्दै खेल्दै पढ्न पाएपछि दंग बालबालिका