कौसाडीको दलित परिवार : खानेपानी नपाउँदा तीन दिन भोकै

कृष्ण विष्ट/बैतडी

गत जेठ ९ गते मध्यराति। भीम नेपालीकी पाँच वर्षीय नातिनी शान्ति रुँदै पानी माग्न थाल्नुभयो। बेलुका भोकै सुतेकी उहाँ मध्यरातमा रुँदै पानी माग्न थालेपछि भीम नेपाली आत्तिनुभयो। झरो (खोटो भएको सल्लाको दाउरा) बालेर छिमेकीको घर जानुभयो र लोटामा पानी मागेर ल्याई खुवाउनुभयो।

‘दिउँसो न्वालो (पानीको खाडल) मा पानी भर्नै पाइएन। केही भाँडाकुँडा रित्याएर पानीको जोहो गरी दिउँसो खाना पकाएँ। तर राति खानेपानी भएन। अनि सुत्यौँ,’ भीमले सुनाउनुभयो।

बैतडीको सिगास गाउँपालिका–६ कौसाडी टोलका भीम गत जेठ ९ गते सधैँझैँ बिहानै न्वालोमा पानी भर्न जानुभएको थियो। तर न्वालोमा आफ्नो पालो नआउँदै पानी सकिएपछि रित्तै गाग्रो फर्किनुभयो। यही कारण नातिनीले पानी माग्दा छिमेकीको घरमा जानुपर्ने बाध्यता आइलाग्यो।

भीमका अनुसार जेठ ९ गते मात्रै होइन जेठ १४ र २१ गतेसमेत पानी नपाएरै भोकै बस्नु परेको सुनाउनुभयो। ‘तीन दिन पानी नपाएरै भोकै सुत्न बाध्य भयौँ,’ उहाँले दुखेको पोख्नुभयो, ‘खानेपानीको साह्रै समस्या छ।’

आजभोलि पनि वर्षा भएको बेला अकासे पानी भरेर गुजारा चलाउने गरेको उहाँको भनाइ छ। ‘कुनै पानीको मुहान छैन। पानी परेको बेला आकाशको पानी भरेर गुजारा चलाउछौँ,’ उहाँले भन्नुभयो।

१२ दलित परिवारको बसाइँ रहेको कौसाडी टोलमा खानेपानीको चरम समस्या छ। खानेपानीको सुविधा नहुँदा जनजीवन नै प्रभावित बनेको छ। ‘करिब एक घण्टाको दूरीमा रहेको न्वालोमा पानी भर्न लाइन लाग्नुपर्छ,’ अर्का स्थानीय लक्ष्मी मेजार पानी भर्दाका दुःख कहनुहुन्छ, ‘कहिलेकाहीँ पालो नआउँदै पानी सकिन्छ। खानसमेत नपुग्ने पानीले कसरी करेसाबारी गर्नु ? कसरी चौपाया पाल्नु ? खानकै लागि पानी भए, अरु गुजारा जसोतसो गरिन्थ्यो होला।’

लुगा सिउने र फलामको काम गर्ने उक्त टोलका दलितहरू खलो (गैरदलितको काम गरिदिएबापत मागिने अन्न) मागेरै गुजारा गर्न गरेका छन्। मागेर परिवार पाल्दै आएका दलित परिवारले पानीकै अभावमा भोकैसमेत बस्नुपर्ने बाध्यता छ। खानेपानीको समस्याबारे सबै निकायलाई जानकारी गराए पनि कतैबाट कुनै सुनुवाइ नभएको स्थानीयको भनाइ छ।

सिगास गाउँपालिका–६ कौसाडी टोलका दलित परिवार ।

दलित बस्तीसँगै जोडिएका ठाटीकेदार, लदौलालगायतका टोलमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीय संग्राम सिंह धामी बताउनुहुन्छ। ‘दलित टोलमा धेरै समस्या छ। अन्य टोलमा पनि खानेपानीको समस्या नै कम छैन,’ उहाँले भन्नुभयो।

बर्खाका बेला पानीका मूल फुट्ने भएकाले समस्या नभए पनि माघदेखि असारसम्म पानीको चरम अभाव हुने उहाँको भनाइ छ।

वडअध्यक्ष तेज बहादुर साउदले वडा नं ६ मा खानेपानी योजना निर्माणका लागि बजेट बिनियोजन नगरेको बताउनुभयो। ‘यस वर्ष खानेपानी निर्माणका लागि बजेट विनियोजन गरिएन,’ उहाँ भन्नुहुन्छ, ‘सडक, विद्युत् र स्वास्थ्य क्षेत्रका केही संरचना निर्माणका लागि मात्रै बजेट विनियोजन गरिएको छ।’

गाउँपालिकाको केही शीर्षक र खानेपानी सरसफाइ डिभिजनसँग आवश्यक समन्वयमा पाइप समेत खरिद गर्न सकियो भने श्रमदानबाट खानेपानीको व्यवस्थापन गर्न सकिने अध्यक्ष साउदको भनाइ छ।

यता खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले पाइप वितरण गर्दा समस्याको समाधान हुने अवस्था आए उक्त टोलमा पाइपको व्यवस्था गर्न सकिने बताउनुभयो। ‘गाउँपालिकाबाट योजना जानुपर्थ्यो, यहाँबाट प्रदेशका मात्र योजना कार्यान्वयन हुन्छन्। पाइप वितरण गरेर समाधान हुने भए त्यसको व्यवस्थापन गर्न सक्छौँ,’ बोगटीले भन्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कृष्ण विष्ट/ बैतडी का अन्य पोस्टहरु:
कौसाडीको दलित परिवार : खानेपानी नपाउँदा तीन दिन भोकै
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link