“मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण मान्य छैन”

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले पदभार ग्रहण पछि मायादेवी मन्दिरको रिडिजाइन गरी पुनर्निर्माण लागि आफूले व्यक्तिगत ७ करोड रुपैयाँ दिने घोषणा गर्नुभएको थियो।

सोही सन्दर्भमा श्रोत जुटाउन र छलफलका लागि भन्दै उपाध्यक्ष लामा दलबल सहित छलफलका लागि थाइल्यान्ड पुग्नुभएको छ। यसैबिच लुम्बिनी बचाउ सङ्घर्ष समितिले स्थानीय धार्मिक तथा पुरातात्त्विक महत्वको प्राचीन मायादेवी मन्दिरलाई रिडिजाइन र पुनर्निर्माण गर्ने कुरा स्वीकार्य नहुने बताएको छ।

सङ्घर्ष समितिका अध्यक्ष राम विकास चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै यही भदौ २४ गते काठमाडौँमा बसेको लुम्बिनी विकास कोषको मन्त्रीस्तरिय बैठकमा मायादेवी मन्दिरलाई रिडिजाइन र पुनर्निर्माण गर्ने छलफलमा विमति जनाएका कोषका स्थानीय बोर्ड सदस्य विश्वराज पौडेललाई भदौ २५ गतेदेखि बोर्ड सदस्यको जिम्मेवारीबाट हटाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

‘विवादित छविका डा. ल्हारक्याल लामालाई लुम्बिनीवासीको मनोभावना विपरीत लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त गरेदेखि भएका विभिन्न निर्णयहरूप्रति हामी सशङ्कित छौँ,उहाँ नेतृत्वको लुम्बिनी विकास कोषले लुम्बिनीवासीको आस्थामा ठेस पुग्ने खालका एकपछि अर्को निर्णयहरू गर्दा हामी विरोध गर्न बाध्य भएका छौँ’–विज्ञप्तिमा भनिएको छ–‘लामा नेतृत्वको कोषको चार सदस्यीय सचिवालय बैठकले २०८० साउन २६ गते लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापित गर्ने घातक निर्णय गरे पनि स्थानीयवासीको विरोध र सुझावका कारण त्यसको कार्यान्वयन नगरेकोमा धन्यवाद छ, तर हाम्रो आस्थाको केन्द्र पुरातात्त्विक महत्वको मायादेवी मन्दिरलाई रिडिजाइन गर्नेप्रति हामी सन्तुष्ट छैनौ।’

लुम्बिनीवासीको प्रतिनिधित्व गरेका एक मात्र बोर्ड सदस्य विश्वराज पौडेललाई हटाउने निर्णय लुम्बिनीवासीलाई मान्य नहुने भन्दै सो निर्णय तत्काल नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link