विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुराइएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।
अमेरिकाको म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग, जुनियरले आज एक विशेष समारोहबिच चार पुरातात्त्विक वस्तुहरू हस्तान्तरण गरेको बताउनुभयो ।
नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र युएस होमल्यान्ड सेक्युरिटी इन्भेष्टिगेशन (एचएसआई) का डेपुटी स्पेशल एजेन्ट क्रिस्टोफर लाउसहितको उपस्थितिमा ती पुरातात्त्विक वस्तुहरू फिर्ता गरिएको हो ।
न्युयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएकोमा दुई वटा भैरव मास्क रहेका छन् साथै शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका छन् । ती मूर्तिहरू १६ औँ र १७ औँ शताब्दीका छन् ।
कार्यवाहक महावाणिज्यदूत गौतमका अनुसार- ‘गैर कानुनी रूपमा निकासी गरिएका यी चार मूर्तिहरू फिर्ता हुनु भनेको नेपालको सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण कदम हो । यस कार्यले सांस्कृतिक सम्पदाको पुन:प्राप्ति र पुनर्स्थापनामा ठुलो योगदान पुर्याएको छ ।’
त्यस्तै जिल्ला न्यायाधिवक्ता ब्रागले आफूहरू पुरातात्त्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुहरूको खोजीका लागि सधैँ सहयोग गर्ने पनि बताउनुभयो ।
नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याइएका नेपालका पुरातात्त्विक वस्तुहरू फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ता कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।
प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने महावाणिज्य दूतावासले जनाएको छ ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको प्रेस विज्ञप्ती
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वन श्रमिकका समस्या : न बीमा न सुरक्षा
- ढोरपाटनमा सकियो दोस्रो सिकारयाम
- डढेलोबारे अझै छैनन् सचेत
- देशभरका ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस-विभिन्न कार्यक्रम गरी मनाइँदै
- आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
- जनकपुरमा जानकी जन्मोत्सव, विभिन्न कार्यक्रमका साथ मनाइँदैछ
- वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
- कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
