पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ । रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा परीक्षण थालिएको हो ।
केन्द्रका सञ्चालक समृद्ध भन्तनाले १२ बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षण तथा विभिन्न परिकारको परीक्षण सुरु गरेका हुन् । व्यावसायिक रूपमा जी–९ केरा लगाए पनि उनले जातीय परीक्षणका लागि विभिन्न जातका मालभोग, चिनी चम्पा, हाइब्रिड, जोगी केरा, मुग्रे, धुस्रे, मालुङ्गे, झप्री, मिर्कोटे, घीउकुमारीलगायत स्थानीय, स्वदेशी तथा विदेशी जातका केराको परीक्षण सुरु गरेको जानकारी दिए। उनले भने, “यहाँ लगाइएका केराको आनुवंशिक विविधता अध्ययन भइरहेको छ ।”
…