जनस्वास्थ्य तथा वातावरणका दृष्टिकोणले अत्यन्त सकारात्मक निर्णय गर्दै काठमाडौँ महानगरपालिकाले आज बिहीबारदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ।
यसका लागि महानगरले यही मङ्सिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरेको थियो। कामपाका प्रवक्ता नवीन मानन्धरले सुर्तीजन्य वस्तु प्लाष्टिकले बेरेको वा कागजले बेरेको भए पनि हानिकारक हुने भएकाले कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो।
कच्चा सुर्ती, खैनी, गुट्खा एवं चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको प्रवक्ता मानन्धरले जानकारी दिनुधयो। उहाँले भन्नुभयो, “सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, २०६८ को व्यवस्था कार्यान्वयन गराउने अभियान हो, विधि प्रक्रिया तोकिएको छ। सार्वजनिक स्थलमा धुमपान गरे त्यस स्थानबाट निकाल्ने, रु एक सयसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको एक सय मिटर वरपर बिक्रीवितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्नेसम्मको कारबाही गर्न सकिने ऐनमा व्यवस्था छ।”
प्रवक्ता मानन्धरका अनुसार भोलिदेखि निरन्तर अनुगमन गरिनेछ, अनुगमनका लागि १० जनाको समूहमा नगर प्रहरीका पाँच वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन्। उहाँले भन्नुभयो, “अनुगमन गर्दा पसलमा सुर्तीजन्य वस्तु पाइए सचेत गराउँदै दुई पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारबाही हुनेछ।”
सुर्तीजन्य वस्तुको भण्डारण, बेचबिखन, प्रयोगसम्बन्धी जानकारी पाउने नागरिकले महानगर प्रहरी बलको हटलाइन १८१०५००००६० वा टेलिफोन नम्बर ०१ ५९०१७६३ र ०१ ५९०१७६४ मा खबर गरेर जानकारी दिन पनि कामपाले आग्रह गरेको छ।
चुरोट, बिँडी, सिंगार, तमाखु, हुक्का, सुल्फा, कक्कडको प्रयोगलाई धुमपान मानिन्छ। सुर्तीजन्य वस्तुमा कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने वस्तुलाई मान्ने गरिन्छ। कामपाले जारी यसैवर्ष जारी गरेको जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ।
ऐनको दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउनसक्ने, निषेध गर्नसक्ने व्यवस्था छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको कामपाको भनाइ छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन, २०६८ मा पनि यससम्बन्धी व्यवस्था छ। ऐनको दफा ४ मा सार्वजनिकस्थललाई परिभाषित गर्दै, शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुरेन्ट, छात्राबास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायत ठाउँ सार्वजनिक भएको उल्लेख छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान