हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै एक सय ३५ मेगावट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ।
गत मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिनुभयो। यसका साथै आयोजना निर्माणका लागि वन क्षेत्रमा पर्ने एक हजार आठ सय ३९ रुख काट्न र पोल हटाउन स्वीकृति पाएको उहाँले बताउनुभयो।
मन्त्रिपरिषद्को बैठकबाट आयोजना निर्माणस्थलमा भएका रुख काट्न र पोल हटाउन स्वीकृति दिने निर्णय भएसँगै प्रशासनिक र कानुनी तवरबाट जग्गा प्राप्तिको कामलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो।
मनाङमा पहिलो पटक आयोजना निर्माण गर्न लागिएको आयोजनाका लागि एक्यापको वन क्षेत्रमध्ये ३३ दशमलव ४७ हेक्टर क्षेत्रलफलमा निर्माण हुने आयोजनाका सहायक प्रबन्धक राजकुमार बरालले बताउनुभयो। उहाँका अनुसार आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रको राष्ट्रिय वनको उक्त क्षेत्रमा आयोजना निर्माण हुनेछ।
उहाँले भन्नुभयो, “प्रशासनिक कार्य गरिरहेका छौँ। कम्तीमा तीन/चार महिनापछि आयोजनाको संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ।”
आयोजना निर्माणका लागि मनाङको सदरमुकामस्थित चामे गाउँपालिकाको १, २, ३ र ५ र नासों गाउँपालिकाको ८ र ९ नम्बर वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाका प्रबन्धक एवम् बुटवल पावर कम्पनीका प्रबन्धक महर्जनले बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रिपरिषदबाट स्वीकृति पाएका छौँ। अब हाम्रो कम्पनीको नाममा सार्नका लागि आवश्यक काम भइरहेको छ।” वन क्षेत्रको जग्गा २५ वर्षसम्म आयोजनाले उपयोग गर्न पाउने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको छ।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकासको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो। चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको महर्जनले बताउनुभयो।
आयोजनामा नेपाली साझेदार बिपिसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ।
आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ। आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण उपलब्ध गराउने सम्झौता भएको उहाँले बताउनुभयो। आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु एक अर्ब ३३ करोड स्वपुँजी लगानी गर्नेछ। आयोजनाले वार्षिक रु ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ।
एक सय ३५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको हुनेछ। जसबाट वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुने महर्जनले जानकारी दिनुभयो। सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल छ दशमलव शूल्य ७५ किलोमिटर छ। आयोजनामा २० प्रतिशत बिपिसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहनेछ।
आयोजनाले मनाङको चामे गाउँपालिकाको कोतोमा अर्धजलाशययुक्त ड्याम (पर्खाल) बनाउने गरी नासों–८ कम्लोमा पावर हाउस बनाउनका लागि आवश्यक कार्यालय स्थापना गरिसकेको आयोजनाले जनाएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै वन्यजन्तु विभागलगायतका सम्बन्धित निकायसँग सम्झौता गरी विकास निर्माणको काम अघि बढाइने प्रबन्धक महर्जनले बताउनुभयो।
विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो ताल मुहान भएको मर्स्याङ्दी नदीबाट लमजुङको माथिल्लो मर्स्याङ्दी आयोजना, मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना र तनहुँमा मर्स्याङ्दी जलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन तथा वितरण भइरहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
- आज १९औँ लोकतन्त्र दिवस
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
