शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ।
फागुन २ गते उदयपुर कटारीको त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताउनुभयो। साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उहाँको भनाइ थियो।
“डा केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ”, उहाँले भन्नुभयो, “मेडिकल कलेज स्थापनाका लागि कम्तीमा एक सय बिघा जग्गा हुनुपर्छ, अहिले जग्गा खोजीको प्रक्रिया जारी छ।”
सांसद अम्बरबहादुर रायमाझीले शिक्षा नीति सबैलाई बराबरी हुने गरी ल्याउनुपर्नेमा जोड दिनुभयो। कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले यो विद्यालयमा आवासगृह, विद्यालय बस, छात्राबास निर्माणलगायतका लागि मन्त्री राईको ध्यानाकर्षण गराउनुभयो।
कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले दरबन्दीअनुसार शिक्षक नपाउँदा दरबन्दी मिलानमा समस्या भएको भन्दै मन्त्री राईलाई दरबन्दीअनुसार शिक्षक उपलब्ध गराउन माग गर्नुभयो।
विद्यालयले तीनदिने विभिन्न कार्यक्रममा वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताउनुभयो। वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न सम्मान, प्रशंसा तथा प्रमाणपत्र, पुरस्कार वितरण गरेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टाइनलाई विशेष अधिकार प्रदान गर्ने प्रस्ताव पारित
- कोलकाता: आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली
- एक वर्षदेखि बन्द छ बेलको जुस उद्योग
- लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी
- इजराइललाई हतियार आपूर्ति रोक्ने राष्ट्रपति बाइडेनको धम्की
- संविधानले किन आकार नै लिनसकेको छैन?
- वनको व्यवस्थापन नभएर बढ्यो डढेलो
- किन रोक्न सकिएन जङ्गली हात्तीको उपद्रो?
- बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
- पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य