एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक

कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा जनताको प्रत्यक्ष सहभागिता र लोकतान्त्रिक निगरानी हुनुपर्ने आवाज उठेको छ। निर्वाचित जनप्रतिनिधिहरूको विश्वव्यापी सञ्जाल ‘पार्लियामेन्टेरियन्स फर ग्लोबल एक्सन’ (पीजीए) ले हालै एक घोषणापत्र जारी गर्दै ‘एआई सुरक्षा उपायसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन’ निर्माण गर्ने प्रस्तावको समर्थन गरेको हो।

सिंगापुरका विदेश मन्त्री भिभियन बालकृष्णनले गत सेप्टेम्बरमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको महासभामा यो अवधारणा अघि सारेका थिए। महासभाको एक बहसमा बोल्दै उनले प्रविधिको साझा मापदण्ड तय गर्न र प्रमाणीकरण गर्न अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) वा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) जस्तै एक अन्तर्राष्ट्रिय संस्थाको आवश्यकता औँल्याएका थिए।

राष्ट्रसङ्घीय बैठकमा राष्ट्र तथा सरकार प्रमुखहरूले अनुमोदन गरेको घोषणापत्रमा एआईले मानव जीवन सुधार गर्न, विज्ञानको विकास गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन सक्ने उल्लेख छ। तर यसको उचित व्यवस्थापन नगरिएमा अत्याधुनिक एआई मोडेलहरूको तीव्र विकासले विश्व सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनीसमेत दिइएको छ।

छरिएको नियमन र विश्वव्यापी प्रयास

एआईले चिकित्सा, शिक्षा, कृषि र अनुसन्धानमा ठुलो सहयोग पुर्‍याउने भए पनि यसले श्रम बजारमा अस्थिरता ल्याउने, अनधिकृत निगरानी बढाउने, भ्रामक सूचना तथा ‘डिपफेक’ फैलाउने र राजनीतिक बहसलाई प्रभावित पार्ने जोखिम छ।

एआई नियमनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रयासहरू भइरहे पनि ती छरिएका र प्रभावहीन देखिएका छन्। युरोपेली सङ्घ (ईयू) ले ‘एआई एक्ट’ लागू गरेको छ भने ओईसीडी र युनेस्कोले गैर–बाध्यकारी सिद्धान्तहरू तय गरेका छन्। सन् २०१४ देखि २०२४ सम्म एआई शासनमा संलग्न ११९ अन्तर्राष्ट्रिय संस्थाहरूको अध्ययनले कुनै केन्द्रीय समन्वयकारी निकाय नभएको र अधिकांश नीतिहरू बाध्यकारी नरहेको देखाएको छ।

सिंगापुरले प्रस्ताव गरेको राष्ट्रसङ्घीय ढाँचाले साझा विश्वव्यापी सिद्धान्त र सुरक्षा मापदण्ड तय गर्न सुरुवाती आधार दिन सक्छ। विदेश मन्त्री बालकृष्णनले एआई प्रणाली प्रयोगमा ल्याउनुअघि कडा परीक्षण गर्नुपर्ने, स्वायत्त प्रणालीमा सीमा तोकिनुपर्ने र मानवीय हस्तक्षेपको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।

लोकतान्त्रिक नियमनको खाँचो

गत सेप्टेम्बरमा भएको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सुनुवाइमा स्वयं प्रविधि क्षेत्रका अगुवाहरूले पनि एआई नियमनको माग गरेका थिए। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साम अल्टम्यानले एआईलाई लोकतान्त्रिक बनाउने हो भने यससम्बन्धी महत्त्वपूर्ण निर्णयहरू सान फ्रान्सिस्कोका प्रयोगशालाहरूबाट मात्र नभई जनताप्रति उत्तरदायी सरकार र लोकतान्त्रिक प्रक्रियाबाट गरिनुपर्ने बताए।

निर्वासित पूर्व हङकङ सांसद नाथन लले सार्वजनिक निगरानीबिना एआई क्षेत्रमा सीमित कर्पोरेट शक्तिको एकाधिकार भएमा त्यसले लोकतन्त्रलाई नै खतरामा पार्ने चेतावनी दिएका छन्। अल्टम्यानले पनि प्रभावकारी सार्वजनिक नियमनको अभावमा शक्ति केही व्यक्तिको हातमा केन्द्रित हुने र निर्णयहरू अपारदर्शी बन्ने बताए।

पीजीएले जनता र अन्तर्राष्ट्रिय प्रतिबद्धताबिचको सेतुका रूपमा रहेका सांसदहरूलाई एआई नीति निर्माण र निगरानीमा संरचित भूमिका दिनुपर्ने बताएको छ।

नागरिकको आवाज र संसदीय सभाको प्रस्ताव

विश्वव्यापी एआई शासनलाई लोकतान्त्रिक बनाउन नागरिकहरूलाई प्रत्यक्ष बहसमा सहभागी गराउनुपर्ने विज्ञहरूको सुझाव छ। सन् २०२५ को पेरिस एआई एक्सन समिटमा सुरु गरिएको ‘ग्लोबल कोलिसन फर इन्क्लुसिभ एआई’ ले विमर्शमूलक प्रक्रियामार्फत नागरिकलाई एआईसम्बन्धी छलफलमा जोड्ने प्रयास गरिरहेको छ। यसका लागि ‘ग्लोबल सिटिजन्स एसेम्बली’ (विश्व नागरिक सभा) को अवधारणा अघि सारिएको छ, जहाँ विभिन्न क्षेत्रका प्रतिनिधिमूलक नागरिकले प्रमाण सुनेर सिफारिस गर्न सक्छन्।

यसै गरी ‘डेमोक्रेसी विदाउट बोर्डर्स’ ले एआईसम्बन्धी राष्ट्रसङ्घीय महासन्धिमा विश्वभरका निर्वाचित जनप्रतिनिधि सम्मिलित ‘संयुक्त राष्ट्रसङ्घीय संसदीय सभा’ (यूएन पार्लियामेन्टरी एसेम्बली) समावेश गर्नुपर्ने सुझाव दिएको छ। जो लाइनन र एन्ड्रियास बुमेलको पुस्तक अ वर्ल्ड पार्लियामेन्ट मा समेत मानवजातिलाई असर गर्ने एआईजस्ता विश्वव्यापी चुनौतीको नियमनका लागि औपचारिक विश्व संसद्को आवश्यकता औँल्याइएको छ।

एआईलाई मानवहितमा प्रयोग गर्न र यसको नियमनलाई प्रभावकारी तथा लोकतान्त्रिक बनाउन नागरिक सभा र संसदीय सभाको नियमित निगरानी अपरिहार्य देखिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link