काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनुपर्ने आवश्यकता औल्याइएको छ। ‘विश्व पानी दिवस’को सन्दर्भमा सम्पदा तथा पर्यटन विभागद्वारा एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा आज यहाँ आयोजित ‘हिटी प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा औँल्याउनुभएको हो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौको हिटी (ढुङ्गेधारा) प्रणालीलाई बचाउनुपर्छ भन्नुभयो।
उहाँले हिटी प्रणाली भूमिगत र वर्षातको पानी सतहको उपयोग गरेर पानीको वहावलाई नियमित गराएर सहरी विकासको पूर्वाधार आवश्यकता परिपूर्ति गर्ने प्रणालीका रुपमा स्थापित भएको बताउनुभयो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हिटी संरक्षणविद् पद्मसुन्दर जोशीले भन्नुभयो,“नेपाल भाषामा सफालाई ‘यचु’ भनिन्छ। यही यचुबाट ‘यि’ वा ‘इ’ र ‘झोल’को अर्थमा ‘ती’ मिलेर ‘चयुति’ भएको देखिन्छ। कथ्य भाषामा ‘यचुति’, ‘यिति’ हुँदै ‘हिति’ भएको हो। हितिहरूमा पाइने शिलालेखहरूमा यसको उपयोगका विषयमा नियम लेखिएको पाइन्छ। मलमूत्र लिएर, छालाको जुत्ता लगाएर जान नहुने नियम उल्लेख छ।”
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्क उद्धृत गर्दै संरक्षविद् जोशीले उपत्यकामा पाँच सय ७३ हिटी प्रणाली भएको बताउनुभयो।ती मध्ये ३५ प्रतिशतमा अहिले पनि पानी आउँछ। ४९ प्रतिशत सुख्खा भएका छन्। ४ प्रतिशत हराइसकेका छन्। महानगरपालिकाले अस्तित्वमा रहेका ढुङ्गेधाराको अस्तित्व बचाउन महानगर गौरव योजनाअन्तर्गत ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनःस्थापना’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनःस्थापना गर्ने यसको लक्ष्य हो। चालु आर्थिक वर्षमा यसका लागि रु बीस करोड विनियोजन गरिएको छ ।
कामपाको सहयोगमा अलान फाउन्डेसनले यसैवर्ष हिटीको विद्यमान अवस्थाका बारेमा अध्ययन गरेको थियो। अध्ययन गएको मङ्सिर महिनामा सार्वजनिक भएको थियो। यो अध्ययनले महानगरपालिकाभित्र एक सय ५४ वटा ढुङ्गेधारा रहेको, त्यसमध्ये ६१ वटा (४०%) पानी आउने, ५० वटा (३२%) पानी नआउने, सङ्कटमा परेका (लोप हुन लागेको अवस्थामा) १० वटा (६%), हराएका २१ वटा (१४%) र फेला नपरेका (नभेटिएका) १२ वटा (८%) रहेको उल्लेख गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
