भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान जारी

भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।

तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा चुनाव हुँदैछ ।

यस चरणमा १२० जना महिला सहित एक हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन् । करिब १७ करोड मतदाता आजको निर्वाचनमा सहभागी हुँदैछन् जसका लागि १ लाख ८५ हजार मतदान स्थल रहेको आयोगको भनाई छ ।

आजका लागि तय भएको जम्मु काश्मिरको अनन्तनाग–रजौरीको निर्वाचन स्थगित गरिएको र उक्त निर्वाचन आगामी मे २५ का लागि तय भएको निर्वाचन आयोगले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादस्थित निशान माध्यमिक विद्यालयको मतदान स्थलमा आज मतदान गर्नुभयो । यसअघि प्रधानमन्त्री मोदीले आमजनतालाई तेस्रो चरणको मतदानमा सक्रिय र व्यापक रुपमा सहभागी हुन आह्वान गर्नु भएको छ ।

तेस्रो चरणको यस निर्वाचनमा केन्द्रीय गृहमन्त्री अमित शाह, मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र दिग्बिजय सिंह, मन्त्रीहरु ज्योतिरादित्य सिन्दिया, मनसुख मान्डविय, समाजवादी पार्टीकी नेतृ डिम्पल यादव, भारतीय कम्युनिष्ट पार्टीका नेता सुप्रिया सुले समेतका नेताहरु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसअघि सन् २०१९ को चुनावमा आज भइरहेका ९३ स्थानमध्ये भारतीय जनता पार्टीले ७२ स्थानमा जित हासिल गरेको थियो ।

आजको तेस्रो चरणको निर्वाचनपछि भारतीय लोकसभाको कूल सिट ५४० मध्ये आधामा मतदान सम्पन्न हुनेछ ।

सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखबाट सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदैछ ।

यस चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वको भारतीय जनता पार्टीले लगातार तेस्रो पटक विजय हासिल गर्नेगरी प्रचार गरिरहेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link