म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ। ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो।
आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुरिँदा भौतिक संरचनामा क्षति पुगेको बताउनुभयो। “खोपारा क्षेत्रको पाखोमा पहिरो गएपछि दुई घण्टासम्म खोला सुक्ने र बाढी आउने गरेको थियो”, उहाँले भन्नुभयो, “गेग्रानसहितको बाढीले इन्टेकमा थुप्रिएर बाँधको भौतिक संरचनामा क्षति पुगेको हो।”
दुई वर्षअघि निर्माण सुरु भएको उक्त आयोजनाले आगामी असारभित्र परिक्षण उत्पादन गर्ने तयारी गरेको थियो। करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा बाढीले पुर्याएको क्षतिका कारण परिक्षण उत्पादन सुरु गर्ने समयतालिका प्रभावित बनेको आयोजनाका इञ्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार बाँध, पाइपलाइन, विद्युत् गृह निर्माण सकिएको छ भने आयोजनाको उपकरण जडान र प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ।
सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँध बनाएको थियो। बाँध नजिकै ५०/५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माण भएका छन्।
बाँधबाट विद्युत् गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान सकिएको इञ्जिनियर भट्टराईले बताउनुभयो। उहाँका अनुसार विद्युत् गृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ।
सुरुङ र नहरको विकल्पमा पाइपलाइबाट पानी ल्याएर पाँच सय पाँच मिटर माथिबाट विद्युत् गृहमा खसालिने योजना रहेको आयोजना कार्यालयले जनाएको छ। आयोजनाले नारच्याङको बेंसीगाउँबाट लेकगाउँ हुँदै बाँध र रेलेखर्कस्थित विद्युत् गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाइएको अन्नपूर्ण–४ का कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
