छाडा पशुचौपाया पूर्णरूपमा व्यवस्थापन हुन नसक्दा कैलालीका किसानले हैरानी बेहोर्न बाध्य भएका छन्। दूध दिउञ्जेलसम्म गाई पाल्ने र त्यसपछि छाडा छाड्ने प्रवृत्तिकै कारण छाडा पशुहरूको व्यवस्थापनमा कठिनाइ तथा चुनौती थपिँदै गएको हो।
यतिबेला यहाँ धान रोपाइँका लागि कतिपय किसानले धानको बीउ राखिसकेका छन् भने कोहीले राखिरहेका छन्। तर उनीहरूलाई खेतमा राखेको बीउ छाडा पशुचौपायाबाट जोगाउन सकस भइरहेको छ।
झण्डै एक बिघा जमिन भाडामा लिई खेती गर्दै आउनुभएका धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान हरिराम रानाले पैसा खर्च गरेर खेतमा उमारेको धानको बीउ छाडा पशुले खाँदा नोक्सानी भएको बताउनुभयो। “अहिले खेती गर्यो भने वर्षभरि खानलाई पुग्छ, अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु। थुप्रै पैसा खर्च गरेर बीउ राखेको छु। तर रातको समयमा छाडा पशु आएर धानको बीउ, बारीमा लगाएको तरकारी खाइदिनाले जोगाउन निकै सकस भएको भएको छ”, रानाले भन्नुभयो।
धनगढीका किसान नरीबहादुर विष्टले छाडा गाईगोरुका कारण रोपाइँका लागि खेतमा राखेको धानको बीउ बचाउन मुस्किल भएको बताउनुभयो। गत वर्ष पनि छाडा चौपायाले लगाएको अन्नबाली खाएर ठूलो नोक्सानी व्यहोर्नुपरेको उहाँले सुनाउनुभयो।
“छाडा पशुचौपाया दिनभर बजार क्षेत्रमा डुल्छन् भने रात परेपछि खेतबारीमा लगाएको खाद्यान्न बालीनाली नोक्सान गर्ने गर्दछन”, विष्टले भन्नुभयो। पशुलाई छाडा छाड्ने प्रवृत्तिकै कारण किसानले दुःख पाएका छन्।”
धनगढी उपमहानगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरेको छ। धनगढी– ३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौसंरक्षण सेवा समितिमार्फत गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ। त्यस्तै अन्य केही स्थानमा पनि गौशाला बन्ने क्रममा रहेको र बनेका पनि छन्। कतिपय स्थानमा काञ्जिहाउससमेत निर्माण गरिएका छन्।
धनगढीसँग पश्चिम सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, त्यस्तै गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको स्थानीयको भनाइ छ।
धनगढीको देवरियामा निर्माण गरिएको गौशालामा ठूलो सङ्ख्यामा छाडा गाईगोरु व्यवस्थापन गरिएको छ। त्यस्तै चटकपुरस्थित गौशालामा पनि ठूला सङ्ख्यामा छाडा पशुहरूको व्यवस्थापन गरिएको गौसंरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले बताउनुभयो।
छाडा चौपायाको व्यवस्थापनका लागि यहाँका स्थानीय तहहरूबाट केही प्रयास भए पनि समस्या भने समाधान हुनसकेको देखिँदैन। त्यसैले छाडा पशुचौपायाको व्यवस्थापन गर्न स्थानिय तहमात्रै नभई हरेक सरोकारवाला निकायको पनि ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने
- नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक