बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन्। उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए। ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि प्राङ्गारिक मलसमेत विद्यालयमै बनाउन थालेका हुन्।
प्राङ्गारिक मल खरिद गर्नसमेत महँगो पर्ने भएकाले विद्यार्थीले कुहिने झारपातबाट प्राङ्गारिक मल बनाउँदै किबी तथा तरकारी खेती गर्दै आएका छन्। विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन विद्यालयकै तीन रोपनी जग्गामा विसं २०६८ सालमा परीक्षणका लागि किबी रोपिएको थियो। उक्त किबी अहिले व्यावसायिक रुपमा उत्पादन भइरहेको छ।
त्यही खेतीसँग जोडेर एक वर्षदेखि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको विद्यालयका प्रधानाध्यापक कमला थापाले जानकारी दिनुभयो। “संस्थागत रुपमा किबी खेती बागलुङमै पहिलोपटक लगाइएको रहेछ, तीन रोपनी जग्गामा लगाइएको किबी उत्पादन भएपछि अभिभावकले खरिद गर्छन्”, थापाले भन्नुभयो, “पछिल्लो एक वर्ष पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि प्राङ्गारिक मलसमेत विद्यार्थीले विद्यालयमै उत्पादन गर्दै आएका छन्।” कुहिने झारपातलाई दुई महिनासम्म माटोमा गाडेर मल तयार गरिन्छ, उक्त मलबाट किबी फल र तरकारी खेती गर्दै आइएको उहाँले जानकारी दिनुभयो।
प्राङ्गारिक मल उत्पादन गर्ने जिम्मा कक्षा ९ लाई दिइएको छ। किबीको हेरचाह गर्ने जिम्मा १० कक्षालाई छ। पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले गत वर्ष च्याउसमेत उत्पादन गरेका थिए। विद्यार्थीले उत्पादन गरेको फलफूल र तरकारी बिक्रीबाट कक्षा ८ देखि ११ सम्मका विद्यार्थीले शैक्षिक सामग्री खरिद गर्न सक्ने भएको प्रधानाध्यापक थापाको भनाइ छ। उहाँले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुरुआती चरणमा धेरै आम्दानी गर्न नसके पनि कम्तीमा अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री खरिद गर्न सक्ने भएको बताउनुभयो।
विज्ञान विषयको प्रयोगात्मक शिक्षाका लागिसमेत किबी बगैँचा भरपुर उपयोग भइरहको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या बताउनुहुन्छ। विद्यार्थीलाई परागशेचनको विषयमा किबी खेतीबाट राम्रो शिक्षा दिन सजिलो भइरहेको पच्याको भनाइ छ। कक्षा ९ का विद्यार्थीले विद्यालय परिसरमा मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन्। अहिले सिमी लगाइएको छ। वार्षिक दुई सय केजीसम्म किबी बिक्री हुने गरे पनि अन्य किबी विद्यार्थी र शिक्षकले उपभोग गर्दै आइरहेका छन्। विद्यालयको कृषि कर्मले घरमासमेत परिवारलाई सघाउन सहयोग पुगेको कक्षा ११ मा अध्ययनरत विद्यार्थी दिपेश विकले जानकारी दिनुभयो। विसं २०३६ मा स्थापना भएको उक्त विद्यालयमा हाल दुई सय ७८ विद्यार्थी अध्ययनरत छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा