कावासोतीको टरुवा ताल जोगाउन जागे जनता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल संरक्षणका लागि जुटेका  छन्।  ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर चौरजस्तै बन्न थालेपछि आफूहरू सरसफाइसहित संरक्षणमा जुटेको ताल संरक्षण तथा सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो।

सरसफाइ नहुँदा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेकाले यसको सरसफाइमा जुटेको उहाँले बताउनुभयो। “यो जिल्लाकै महत्वपूर्ण ताल हो तर संरक्षण हुन नसक्दा सङ्कटमा पर्दै गएकाले स्थानीयको सक्रियतामा ताल सफा गर्ने अभियान सञ्चालन गरेका छौँ”, अध्यक्ष सापकोटाले भन्नुभयो। दैनिक रूपमा स्थानीयको सक्रियतामा तालभित्र रहेको जलकुम्भी झार हटाउने काम भएको उहाँले बताउनुभयो। पानी भएको स्थानको जलकुम्भी हटाउने काम करिब सकिएको र जेसिबीको सहायताले छेउछाउमा सफा गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो।

कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष एवं स्थानीय सन्तोष रानाले बताउनुभयो। दिगोरूपमा संरक्षणको योजना बनाएर अघि बढ्न सके टरुवा ताल जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने उहाँको भनाइ छ। “बजार क्षेत्रबाट नजिक रहेको र पानीको पर्याप्त स्रोत भएको हुँदा यसको दिगोरूपमा संरक्षणको योजना बनाउँदै अघि बढ्न आवश्यक छ। त्यसो गरेमा आर्थिक विकाससमेत टेवा पुग्नेछ”, रानाले भन्नुभयो।

हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ। बजार क्षेत्र मानिने कावासोती वडा नं २, ३ र ८ मा तत्कालीन बस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा यही तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे। सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउनदेखि घर निर्माणका कार्यमा प्रयोग गर्ने गर्दथे।

करिब ३ दशमलव ५२ हेक्टर क्षेत्रफलमा ताल फैलिएको छ। टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैँमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन्। यसलाई जोडेर एकीकृत रूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष रानाले बताउनुभयो।

दुई वडामा फैलिएकाले संरक्षण कसले गर्ने भन्ने अन्योलता छ। ताल संरक्षणका लागि भनेर विभिन्न समिति निर्माण भएका छन् तर ती समितिले एकीकृत कार्ययोजना निर्माण नगर्दा संरक्षणमा नै चुनौती थपिएको यहाँका स्थानीयको बुझाइरहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link