भूराजनीतिक तनाव र आर्थिक चुनौतीका बीच सुरु भयो ‘ कोप’

बढ्दो विश्वव्यापी तापक्रम, आर्थिक चुनौती र भूराजनीतिक तनावका बीच संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबार टर्कीमा सुरु भएको छ।

भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा करिब २०० देशका प्रतिनिधिसहित एक लाखभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा ऊर्जा सङ्क्रमणलाई तीव्रता दिने र विकासशील राष्ट्रलाई जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने विषयमा छलफल हुनेछ।

इरानसँगको अमेरिकी युद्ध र युक्रेनमा जारी रुसी द्वन्द्वका कारण बढेको ऊर्जा मूल्य तथा भूराजनीतिक तनावले जलवायु मुद्दामा अन्तर्राष्ट्रिय सहमति जुटाउन चुनौती थपेको छ। यसै वर्ष युरोपमा देखिएको उष्ण हावाको लहर, इन्डोनेसियाको वन डढेलो र हिमनदी पग्लिएपछि नेपालमा आएको विनाशकारी बाढीले जलवायु सङ्कटको गम्भीरता उजागर गरेका छन्।

यसै वर्षको अन्त्यतिर शक्तिशाली एल निनो उत्कर्षमा पुग्ने अनुमान गरिएको छ। यसले चरम मौसमी घटना बढाउनुका साथै सन् २०२६ वा २०२७ लाई हालसम्मकै सबैभन्दा तातो वर्ष बनाउन सक्ने पूर्वानुमान छ। संयुक्त राष्ट्रसङ्घले गत सेप्टेम्बरमा विश्वको औसत तापक्रम पूर्वऔद्योगिक अवस्थाभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको चेतावनी दिएको थियो।

यसपटक टर्कीले सम्मेलनको अध्यक्षता गर्ने र अस्ट्रेलियाले वार्ताको नेतृत्व गर्ने विशेष व्यवस्था गरिएको छ। विगतका जलवायु प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित भएकाले यस सम्मेलनलाई ‘कार्यान्वयन कोप’ नाम दिइएको छ।

टर्कीले सन् २०३५ सम्म विश्वको कुल ऊर्जा मागमा विद्युत्को हिस्सा हालको २० प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्‍याउने अभियान अघि सारेको छ। तर, जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा देशहरूबीच मतभेद कायमै छ।

युरोपेली सङ्घ (इयु) ले स्वच्छ विद्युतीकरणमा जोड दिँदै आएको छ। सन् २०२३ को कोप–२८ मा जीवाश्म इन्धनबाट क्रमशः टाढिने प्रतिबद्धता जनाइए पनि त्यसको कार्यान्वयनमा सहमति जुट्न सकेको छैन। गत वर्ष ब्राजिलमा सम्पन्न कोप–३० पनि तेल उत्पादक राष्ट्रहरूको विरोधका कारण जीवाश्म इन्धनको स्पष्ट उल्लेखबिनै टुङ्गिएको थियो।

विकासशील राष्ट्रलाई जलवायु अनुकूलनका लागि आर्थिक सहयोग उपलब्ध गराउनु सम्मेलनको अर्को प्रमुख चुनौती हो। अफ्रिकी राष्ट्रहरूले समुद्री पर्खाल निर्माण र खडेरी प्रतिरोधी बाली लगाउनेजस्ता कामका लागि अनुकूलनसम्बन्धी वित्तीय सहायता तीन गुणा बढाउन माग गरेका छन्। तर, युरोपेली सङ्घका एक वरिष्ठ अधिकारीले थप आर्थिक सहयोगका लागि राजनीतिक इच्छाशक्ति कमजोर रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट अलग गरेपछि अमेरिकी सरकारका अधिकारी सम्मेलनमा सहभागी भएका छैनन्। यद्यपि, मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलतापछि अमेरिकी कङ्ग्रेसको प्रतिनिधिमण्डल अन्ताल्या आउने भएको छ।

दुई सातासम्म कठिन वार्ता हुने अपेक्षा गरिए पनि सम्मेलनको वातावरण सकारात्मक रहेको अजरबैजानका प्रमुख वार्ताकार याल्चिन रफियेभले बताएका छन्। उनले सकारात्मक वातावरणलाई ठोस र सफल परिणाममा परिणत गर्न सहभागी राष्ट्रहरूलाई आग्रह गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link