सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा इनरुवा–५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैदा भुक्तान गरिरहेका यादवसहित १२ जना २०६९ कात्तिक २३ गते फरार भएका थिए । विसं २०६५ वैशाख १६ गते विनायककुमार र श्यामकुमार यादवले प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए । उहाँको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
विनायकलाई कर्तव्यज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीले २०६५ जेठ ८ गते २० वर्ष ८ महिना १४ दिन कैद फैसला गरेको थियो । यादवसहित १२ जनाको समूहले २०६९ कात्तिक २३ गते क्षेत्रीय कारागार झुम्कामा पर्खालको भित्री भगबाट सुरुङ खनी भागेका थिए । विनायकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले गोबरगाङाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीका लागि पठाइएकामा २०७२ वैशाख १२ गते उनी कारागारबाट भागेका थिए । विनायक लामो समयदेखि भारतको सुपौलस्थित शिवनगरग्राम पञ्चायत रानीगञ्जमा बस्दै आउनुभएको थियो ।
छठ मनाउन नेपाल आएका बेला विनायकलाई पेस्तोल एक थान र त्यसमा प्रयोग हुने ११ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका ११ जना अझै फरार छन् । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आजबाट च्याम्पियन्स लिगको क्वार्टरफाइनल चरण, रोचक भिडन्त
- ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
- विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले बोरामा हालेर गाडेका थिए शव
- ‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
- जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
- चीनको डिजिटल युआनले विश्व व्यापारमा नयाँ क्रान्ति
- आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
- बुर्तिबाङको फस्टाउँदै गरेको पर्यटन व्यवसाय
- ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती
- यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
