आराध्य देव भगवान् श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उद्देश्यले गरिएको ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिंग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ।
भगवान् श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो। महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्संकल्पमा पदयात्रा समूह पशुपति क्षेत्र आइपुगेको हो।
गत चैत १५ गते पशुपति शंकराचार्यमठमा समुद्घाटन, पशुपति पूजन तथा वाग्मती गंगाको विशेष आरती गरी १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ भएको पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो। कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदि क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदल यात्रा गरी समूह अघि बढेको थियो। ४२ दिनमा तीर्थयात्रा पशुपति आइपुगेको हो।
‘बृहत्–पाशुपत–परिक्रमा’ का सङ्कल्पकर्ता गिरिले पशुपति तत्त्वका बारेमा प्रकाश पार्दै पशुपतिको लघुपरिक्रमा, मध्यमपरिक्रमा र बृहत् परिक्रमाका बारेमा उल्लेख गरेका थिए।
पशुपतिनाथ विश्वका धार्मिक क्षेत्रमध्ये आध्यात्मिक दृष्टिले ऊर्जाशील भूमि नेपाललाई रोजेर वाग्मती तटमा विराजमान हुनुभएकाले यसको महत्त्व उजागर गर्नुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिँदै आएका छन्।
‘बृहत् पाशुपत पदयात्रा’ लाई भव्यताका साथ सम्पन्न गर्न ‘मूल आयोजक समिति’ र विभिन्न उपसमितिको समेत गठन गरिएको थियो। पशुपति आइपुगेपछि समूहले यस क्षेत्रका भुवनेश्वर, भष्मेश्वर, रुद्रगारेश्वरलगायत तीर्थस्थलमा विधिवत् पूजा, आराधना र रुद्राभिषेक पनि सम्पन्न गरेको जनाइएको छ।
आज (सोमबार) बिहान पशुपतिनाथ मूल मन्दिरसहित वाग्मती नदीमा पूजा, आराधना र अघ्र्यदान गरेपछि बृहत् पाशुपत पदयात्रा समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भूराजनीतिक तनाव र आर्थिक चुनौतीका बीच सुरु भयो ‘ कोप’
- पहिरोको जोखिममा हाकुबेँसी, स्थानान्तरणका लागि स्थानीयको माग
- आज तिहारको चौथो दिन: विधिपूर्वक गाईको पूजा गरिँदै
- ला लिगा: फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने