नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई श्रद्धापूर्वक स्मरण गर्ने परम्परा छ।
कमलको फूलमाथि विराजमान रहने भएकाले पद्मासना देवीका नामले समेत चिनिने स्कन्दमाताको वर्ण सेतो तथा वाहन सिंह रहेको छ। यी देवीका चार हातमध्ये दाहिनेतर्फको माथिल्लो हातले काखमा रहेका सुपुत्र स्कन्दकुमार (कार्तिकेय) लाई सम्हालेको र तल्लो हातमा कमलको फूल सुशोभित छ। देब्रेतर्फको माथिल्लो हात वरमुद्रामा र तल्लो हातमा पनि कमलको फूल रहेको छ। स्कन्दमाताको उपासना गर्दा स्वतः स्वामी कार्तिकेयको समेत उपासना हुने विशेषता रहेको छ। देवी भागवत पुराणका अनुसार सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको भक्तिपूर्वक पूजाआजा गर्नाले साधकले अलौकिक तेज र कान्ति प्राप्त गर्ने विश्वास गरिन्छ।
धार्मिक मान्यताअनुसार कठोर तपस्यापछि ब्रह्माजीबाट भगवान् शिवका पुत्रको हातबाट मात्र मृत्यु हुने वर पाएको तारकासुरले तीनै लोकमा आतंक मच्चाएको थियो। त्यसपछि सतीदेवीले हिमालय पुत्री पार्वतीको रूपमा पुनर्जन्म लिई ब्रह्मचारिणी बनेर गरेको कठोर साधनाबाट प्रसन्न भई शिवजीसँग विवाह सम्पन्न भएको थियो। शिव र पार्वतीका सन्तानका रूपमा कुमार कार्तिकेयको जन्म भएपछि उनैले तारकासुरको वध गरी देवताहरूलाई मुक्ति दिलाएको पौराणिक प्रसङ्ग शास्त्रमा उल्लेख छ।
स्कन्दमाताको उपासनाले भक्तका सम्पूर्ण मनोकामना पूरा हुनुका साथै मोक्ष प्राप्ति हुने र भवसागर पार गर्न कुनै कठिनाइ नहुने विश्वास गरिन्छ। धार्मिक आस्थाका साथै यिनको पूजाले मानसिक शान्ति, पारिवारिक सद्भाव र सामाजिक चुनौतीहरूसँग जुध्ने आत्मबल मिल्ने शास्त्रमा वर्णन गरिएको छ।
यस दिन भक्तजनहरूले शुद्ध भई हरियो रंगको वस्त्र पहिरिएर उत्तरतर्फ मुख गरी पूजा गर्ने शास्त्रीय मान्यता छ। देवीको प्रतिमा वा कलश स्थापना गरी पञ्चामृत, सेतो वा कमलको फूल, चन्दन, धूप–दीप, अक्षता, नैवेद्य र फलफूल चढाएर पूजा गरिन्छ। त्यसपछि वन्दना श्लोक र माताको स्तोत्र पाठ गर्दै केराको विशेष प्रसाद अर्पण गरी आरती गरेर प्रसाद ग्रहण तथा वितरण गर्ने गरिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार अभावबीच गाउँमा झाँगिँदै क्रिकेट
- पोचेटिनोको पहिलो जितको प्रतीक्षा लम्बियो: स्पोर्टिङ र म्यानचेस्टर युनाइटेड २–२ को बराबरीमा
- आजको मौसम: तराईमा हुस्सु, पहाडमा आंशिक बदली र अन्यत्र सफा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
- दोस्रो हाफमा पाँच गोल गर्दै रियल मड्रिडको सानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै
- आज महिला हिंसा उन्मूलन दिवस
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली, बिहीबार बिहान तराईमा हुस्सु