भोजपुरमा धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन्। खेतमा धान पाकेर पहेँलपुर भएको अवस्थामा वर्षा र असिनाको जोखिम बढेपछि किसानलाई समयमै बाली काटेर सुरक्षित रूपमा घरमा भित्र्याउन समस्या भएको हो।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा यतिबेला किसान धान काट्ने र थन्क्याउने तयारीमा छन्। तर, बिहीबारदेखि भइरहेको निरन्तर वर्षाले धानबालीमा क्षति पुग्न थालेपछि किसानको मेहनत खेर जाने चिन्ता बढेको छ। वर्षाका कारण खेतमा पाकेको धान ढलेको छ भने काटेर राखेको धान भिज्ने र दाना झर्ने जोखिम बढेको किसानले बताएका छन्।
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका किसान टंकप्रसाद घिमिरेले निरन्तरको वर्षाले पाकेको धान खेतमै ढल्न थालेको बताए। “खेतमा धान पहेँलपुर भएर पाकेको छ। बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण पाकेको धान ढलेको छ। अझै पानी परिरहेमा धानबालीमा थप क्षति पुग्ने चिन्ता छ,” उनले भने।
धान भित्र्याउने मुख्य समयमा पानी परेपछि काट्ने, सुकाउने र घरमा थन्क्याउने काम प्रभावित भएको षडानन्द नगरपालिका–४ की किसान सङ्गीता राईले बताइन्।
मौसममा आएको प्रतिकूलताका कारण किसानलाई खेतमा पाकेको धान काट्नेदेखि काटिसकेको बाली सुरक्षित रूपमा घरसम्म पुर्याउन कठिनाइ भएको उनको भनाइ छ। धान भोजपुरका ग्रामीण क्षेत्रका किसानको प्रमुख खाद्य बालीमध्ये एक हो। वर्षभरि परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले किसानले महिनौँसम्म गरेको मेहनत र लगानी बाली भित्राउने समयमा मौसम प्रतिकूल हुँदा प्रभावित हुने देखिएको छ।
धान पाकेर काट्ने तयारीमा रहेका किसान अहिले मौसम खुल्ने प्रतीक्षामा छन्। समयमै घाम लागेर खेतमा रहेको धान काट्न, सुकाउन र सुरक्षित रूपमा भित्राउन नपाए उत्पादनमा क्षति पुग्ने उनीहरूको चिन्ता छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
- दोस्रो हाफमा पाँच गोल गर्दै रियल मड्रिडको सानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै
- आज महिला हिंसा उन्मूलन दिवस
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली, बिहीबार बिहान तराईमा हुस्सु
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल