प्रजातन्त्र पुन:स्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो। काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो। विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए। जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका थिए। केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहेका थिए। नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन उनी सधैँ क्रियाशील रहे।
२०१५ सालमा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताएका थिए। विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरेका थिए। २०३३ सालमा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय भएका थिए।
तत्कालीन पञ्चायती सरकारले बीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट उनले सफाइ पाएका थिए। गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि काँग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्त्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। जनआन्दोलनका लागि कम्युनिस्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका थिए।
नेता सिंहलाई विसं २०१७ साल पुस १ गतेको कूपछि विसं २०२५ सम्म बीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो। २०२५ सालमा जेलमुक्त भएपछि बीपीसँगै भारत निर्वासनमा गएका नेताहरू २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार भएका थिए। त्यसपछि उनीहरूलाई सुन्दरीजल बन्दीगृहमा दोस्रो पटक थुनिएको थियो।
विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बीपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको छ। जहाँ बीपी, गणेशमानलगायत बन्दी बनाइएका नेताका सालिकसहितको संरचना निर्माण गरिएको छ।
गणेशमान जयन्तीका अवसरमा आज नेपाली काँग्रेसका दुवै समूह र यसका भ्रातृ एवं शुभेच्छुक संघसंस्था, गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- म्याग्दीको बेनी–दरवाङ सडक मर्मत सुरु
- आज भाइटिका पर्व मनाइँदै: दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै दाजुभाइ
- दिदीबहिनी र दाजुभाइ नहुनेका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्दै
- एनपीएल २०२६: सुदूरपश्चिम रोयल्सको शानदार जित, जनकपुर बोल्ट्स २७ रनले पराजित
- बाँसका सामग्री उत्पादनमा जुट्दै कटैयागाउँ, श्रम र सामाजिक सद्भावको नमुना
- काँकडभिट्टा नाका: गत वर्षको तुलनामा यस असोजमा चिया निर्यात दोब्बर
- आज नेपाल संवत् ११४७ को नयाँ वर्ष र म्ह: पूजा आराधना
- देखासिकी र पश्चिमा संस्कृतिले देउसीभैलोको सांस्कृतिक पहिचान कमजोर बन्दै
- एनपीएल: आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै
- आज गोवर्द्धन पर्वत, बली राजा, गोरु तथा हलिको पूजा आराधना