एनपिएल २०२६: हिजोको खेलमा सुदूरपश्चिम र चितवनको जित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत हिजो कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७ रनले पराजित गरेको छ। यो जितसँगै सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ।

टस जितेर पहिलो बलिङ रोजेको काठमाडौँ गुर्खाजले कसिलो बलिङ प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रनमा रोकेको थियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सङ्कटपूर्ण अवस्थामा उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रनको महत्त्वपूर्ण इनिंग खेले। त्यस्तै, थारिन्दु रत्नायकेले २६ र आरिफ शेखले १६ रन बनाए। काठमाडौँका बलर जाहन्दद खानले घातक बलिङ गर्दै ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे।

१२६ रनको लक्ष्य पछ्याएको काठमाडौँ गुर्खाजले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो। काठमाडौँका लागि रशिद खानले ३१ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। त्यसै गरी, दुशान हेमान्ताले २१ र साम हेज्लेतले ११ रन जोडे। सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने स्कॉट कुगेजिलिन र हेमन्त धामीले समान १-१ विकेट लिँदै रोयल्सको जित सुनिश्चित गरे।

अलराउन्ड प्रदर्शन गरेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

चितवन राइनोजको सहज जितसँगै जनकपुर बोल्ट्स प्लेअफ दौडबाट बाहिरियो

हिजो भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। यस जितसँगै चितवनले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ भने जनकपुर बोल्ट्स प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले चितवनको कसिलो बलिङसामु निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन मात्र जोड्न सक्यो। जनकपुरका लागि कप्तान हरमीत सिंहले २५ बलमा सर्वाधिक २५ रन बनाए। त्यस्तै, विशाल सुस्लिङले १५ तथा राहुल यादव र सन्तोष कार्कीले समान १०–१० रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन्। चितवनका बलर रञ्जित कुमारले ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर ३ विकेट लिए। कप्तान सिकन्दर राजा र कामिल मिश्रले २–२ विकेट हात पारे।

८९ रनको सामान्य लक्ष्य पछ्याएको चितवन राइनोजले १६ बल बाँकी छँदै १७.२ ओभरमा ६ विकेटको क्षतिमा ९२ रन बनाएर जित सुनिश्चित गर्‍यो। चितवनको जितमा डेभिड मलानले ३९ बलमा अविजित ३५ रनको महत्त्वपूर्ण इनिङ्स खेले। कुशल मल्लले १५ र रवि बोपाराले १३ रनको योगदान दिए। जनकपुरका बलर राहुल यादवले ३ विकेट तथा ललित राजवंशीले २ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

संयमित ब्याटिङ गर्दै टोलीलाई जिताएका डेभिड मलान ‘प्लेयर अफ द म्याच’ घोषित भए। यो जितपछि चितवन ६ खेलबाट ७ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने लिगका सबै ७ खेल खेलिसकेको जनकपुर ४ अङ्कका साथ बाहिरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link