भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ।
प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार रु चार करोड ८० लाख लागतमा डेढतले भवन निर्माण सम्पन्न गरी अस्पताल सञ्चालनमा ल्याइएको हो।
अस्पतालबाट नियमित स्वास्थ्य सेवा प्रवाह भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले बताए। उनका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको छ।
गाउँमै विशेषज्ञ चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिएको उनले जानकारी दिए।
“सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल सञ्चालनमा ल्याएका हौँ”, अध्यक्ष राईले भने, “नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले अस्पताल सञ्चालनमा आएपछि विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राहत पुगेको बताइन्। स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
अस्पतालबाट आकस्मिक तथा बहिरङ्ग (ओपिडी) सेवा, प्रयोगशाला परीक्षण, गर्भवती महिलाका लागि भिडियो एक्सरे, मातृ तथा शिशु स्वास्थ्य सेवा, स्त्रीरोग तथा प्रसूति सेवा, नसर्ने रोगको परीक्षण र बर्थिङ सेवा सञ्चालन भइरहेका छन्। त्यस्तै, गाउँघर क्लिनिकमार्फत पनि स्वास्थ्य सेवा उपलब्ध गराइएको अस्पतालका चिकित्सक कौसलकिशोर अम्बिकादेव यादवले जानकारी दिए।
उनका अनुसार पाँच शय्या क्षमताको अस्पतालबाट दैनिक २५ देखि ३० जनासम्मले स्वास्थ्य सेवा लिँदै आएका छन्। अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि सदरमुकाम वा अन्य जिल्ला जानुपर्ने बाध्यता कम भएको भन्दै स्थानीयवासी खुसी भएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भोटेकोशी बाढीको पीडा: शोकमा थपुवा, सुनसान तिहार
- जलवायु प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न कोप–३१ को जोड
- वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात घट्यो
- एनपीएलमा आज दोहोरो भिडन्त: विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी आमनेसामने हुँदै
- म्याग्दीको बेनी–दरवाङ सडक मर्मत सुरु
- आज भाइटिका पर्व मनाइँदै: दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै दाजुभाइ
- दिदीबहिनी र दाजुभाइ नहुनेका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्दै
- एनपीएल २०२६: सुदूरपश्चिम रोयल्सको शानदार जित, जनकपुर बोल्ट्स २७ रनले पराजित
- बाँसका सामग्री उत्पादनमा जुट्दै कटैयागाउँ, श्रम र सामाजिक सद्भावको नमुना
- काँकडभिट्टा नाका: गत वर्षको तुलनामा यस असोजमा चिया निर्यात दोब्बर