देशभर अधिकांश भूभागमा मौसम सफा, केही ठाउँमा वर्षा र हिमपात हुन सक्ने

देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने भए पनि आज कोशी र मधेस प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु र पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी प्रदेशसहित देशका हिमाली भूभागमा आंशिक बदली भएको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो मधेस र कोशी प्रदेशका साथै गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति देशका हिमाली भूभाग, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। ती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
मौसम पूर्वानुमान
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link