सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल भिडन्तमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।
लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले बिना कुनै विकेटको क्षतिमा मात्र १३.३ ओभरमा १५८ रन बनाउँदै पूरा गर्यो। सुदूरपश्चिमले ३९ बल बाँकी छँदै एकतर्फी जित निकाल्दै ऐतिहासिक उपाधि आफ्नो पक्षमा पारेको हो।
सुदूरपश्चिमको ऐतिहासिक जितमा स्कटिस ओपनर जर्ज मुन्से नायक साबित भए। फाइनलको दबाबलाई पूर्ण रूपमा निस्तेज पार्दै विस्फोटक ब्याटिङ गरेका मुन्सेले मात्र ५४ बलमा ८ चौका र १२ गगनचुम्बी छक्काको मद्दतमा अविजित १२५ रनको सानदार शतकीय इनिङ खेले। २३१.४८ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले २८ बलमा अर्धशतक र ४९ बलमा शतक पूरा गरेका थिए। खेलको ५.३ ओभरमा सन्दीप जोराले क्याच छाड्दा जीवनदान पाएका मुन्सेले त्यसपछि लुम्बिनीका कुनै पनि बलरलाई खेलमा फर्कने अवसर दिएनन्।
अर्का ओपनर विनोद भण्डारीले मुन्सेलाई उत्कृष्ट साथ दिँदै २७ बलमा ३ चौकासहित अविजित ३० रनको संयमित योगदान दिए। पहिलो विकेटका लागि मुन्से र भण्डारीबिच १५८ रनको कीर्तिमानी अविजित साझेदारी भएपछि लुम्बिनीका बलरहरू शेर मल्ल, किशोर महतो, रुबेन ट्रम्पलम्यान, डी’आर्सी सर्ट, अभिषेक गौतम र कप्तान रोहित पौडेल पूर्णतः निरीह बनेका थिए।
यसअघि टस जितेर सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रनको योगदान दिए। ३१ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन, निरोशन डिकवेलाले १७ बलमा २८ रन, अली शेखले १२ बलमा २४ रन तथा डी’आर्सी सर्टले १८ बलमा २१ रन बनाए। ओपनर आसिफ शेख १ रन र सन्दीप जोरा ४ रनमा आउट हुँदा रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे।
बलिङतर्फ सुदूरपश्चिमका बलरहरूले सुरुवातदेखि नै कसिलो प्रदर्शन गर्दै लुम्बिनीलाई ठुलो योगफल बनाउनबाट रोकेका थिए। सुदूरपश्चिमका स्कट कुगेलाइनले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक २ विकेट लिए। यस्तै, हेमन्त धामीले ४ ओभरमा २३ रन र थारिन्दु रत्नायकेले ४ ओभरमा २४ रन खर्चेर १–१ विकेट हात पारे भने कप्तान दीपेन्द्रसिंह ऐरीले पनि १ विकेट लिए।
तेस्रो प्रयासमा टुट्यो फाइनल हारको शृङ्खला
लगातार तेस्रो पटक एनपीएलको फाइनलमा स्थान बनाएको सुदूरपश्चिमका लागि यो उपाधि निकै विशेष रह्यो। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँगै पराजित हुँदै सुदूरपश्चिम उपविजेतामा सीमित बनेको थियो। यस सिजनको लिग चरण र पहिलो क्वालिफायरमा समेत लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले अन्ततः उपाधि भिडन्तमा लुम्बिनीलाई नै स्तब्ध पार्दै अघिल्ला हारहरूको बदला लिएको छ। यता, लगातार दोस्रो पटक फाइनल पुगेको अघिल्लो संस्करणको विजेता लुम्बिनी भने यस पटक उपाधि रक्षा गर्न असफल रह्यो।
प्रतियोगिताको फाइनल खेलमा अविजित १२५ रन बनाएका जर्ज मुन्से ‘प्लेयर अफ द म्याच’ घोषित भए भने प्रतियोगिताभर उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिए। उपाधिसँगै विजेता सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै: आर्थिक सहकार्य, हवाई मार्ग र पूर्वाधार विकास मुख्य एजेन्डा
- मङ्सिर १६ देखि सुरु हुने दसौँ राष्ट्रिय खेलकुदको तोकियो खेलस्थल
- देशभर अधिकांश भूभागमा मौसम सफा, केही ठाउँमा वर्षा र हिमपात हुन सक्ने
- आइतबारका लागि डलर, युरो, पाउन्ड र कुवेती दिनारको विनिमयदर सार्वजनिक
- उत्पादन बढे पनि घट्यो चिराइतोको भाउ, किसान निराश
- फिफा अध्यक्षको निर्वाचन २०२७ : इन्फान्टिनोलाई फ्रान्सका डियालो र जापानका ताशिमाको चुनौती
- यूएनएफपीए प्रतिवेदन: युवालाई आत्मनिर्भर बन्न र परिवार बसाउन बढ्दो चुनौती
- एनपीएल २०२६ : फाइनलमा आज कीर्तिपुरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै
- कन्याममा सुरु हुँदै प्रथम सूर्योदय चिया महोत्सव
- आजको लागि विदेशी मुद्राको विनिमय दर

