मङ्सिर १६ देखि सुरु हुने दसौँ राष्ट्रिय खेलकुदको तोकियो खेलस्थल

यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ।

त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिएका छन्। उनकाअनुसार, टेनिस, महिला तथा पुरुष खो-खो (बर्दिया), पौडी र सुटिङ (नेपालगञ्ज) हुनेछ।

त्यस्तै, जुडो र कुस्ती (सल्यान), आइटिएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ। सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक/एक खेल हुनेछन्।

त्यस्तै, बाँके र बर्दियामा दुई/दुई खेल सञ्चालन गरिनेछ। केही खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने यही मङ्सिर १६ गते गरिने छ।

प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link