युइएफए च्याम्पियन्स लिग २०२६–२७ अन्तर्गत लिग चरणको पाँचौँ खेलमा पोर्चुगलको स्पोर्टिङ सीपी र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड २–२ को रोमाञ्चक तथा नाटकीय बराबरीमा रोकिएका छन्। बुधबार राति लिस्बनस्थित एस्टाडियो जोसे अल्भालालेमा सम्पन्न खेलमा दुवै टोलीका तर्फबाट दुई–दुई गोल हुँदा तीन पेनाल्टी, एक विचित्र गोल, भीएआरको निर्णय र एक रातो कार्डको दृश्य देखियो।
खेलको सुरुवाती चरणमा दुवै टोली रक्षात्मक रूपमा सतर्क देखिए पनि पहिलो हाफको मध्यतिर खेलमा नाटकीय मोड आयो। स्पोर्टिङले छोटो अन्तरालमा दुई पेनाल्टी पायो। पहिलो पेनाल्टीमा लुइस सुआरेजको प्रहार युनाइटेडका गोलरक्षक सेन्ने लामेन्सले रोके पनि ३३ औँ मिनेटमा प्राप्त अर्को पेनाल्टीमा सुआरेजले कुनै गल्ती नगरी गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए।
दोस्रो हाफको सुरुवातमा म्यानचेस्टर युनाइटेडले आक्रामक पुनरागमन गर्यो। ४८ औँ मिनेटमा पूर्वक्लबविरुद्ध कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। त्यसको दुई मिनेटपछि नै फर्नान्डेजले लामो दूरीबाट गरेको प्रहार मैदानको असमान सतह (डिभोट) मा ठोक्किँदै गोलमा परिणत भएपछि युनाइटेडले २–१ को अग्रता लियो।
अग्रता जोगाएर खेल आफ्नो पक्षमा पार्ने बाटोमा रहेको युनाइटेड ८० औँ मिनेटमा फेरि चुक्यो। गोलरक्षक लामेन्सले उच्च बल नियन्त्रणमा लिन गल्ती गरेपछि सुआरेजले कलात्मक बाइसाइकल किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि बराबरी गोल गरे। त्यसको केही बेरमै युनाइटेडले तेस्रो गोल गरेको देखिए पनि भीएआरको समीक्षापछि गोलरक्षक काइक परेरामाथि फाउल भएको भन्दै रेफ्री सिमोन मार्सिनियाकले उक्त गोल अमान्य ठहर गरे। इन्जुरी समयको ९०+३ औँ मिनेटमा युनाइटेडका युरी टिलेमान्स दोस्रो पहेँलो कार्ड (रातो कार्ड) खाँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सीमित बन्यो।
खेलपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माउरिसियो पोचेटिनोले खेलाडीहरूको मिहिनेत र जुझारुपनको प्रशंसा गर्दै एकाग्रता र ध्यान अझै बढाउनुपर्ने बताए। उनले सँगै काम गरेको छोटो समयमै टोलीले देखाएको चरित्रप्रति गर्व लागेको उल्लेख गर्दै विवादास्पद निर्णयहरूबाट टोली निकै प्रभावित भएको प्रतिक्रिया दिए। दुई गोल गरेका ब्रुनो फर्नान्डेज खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए।
यो बराबरीसँगै पाँच खेलबाट १० अङ्क जोडेको स्पोर्टिङ तालिकाको नवौँ स्थानमा उक्लिएको छ भने ७ अङ्कसहित म्यानचेस्टर युनाइटेड १९ औँ स्थानमा छ। अब युनाइटेडले आगामी शनिबार इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डविरुद्ध ओल्ड ट्राफोर्डमा खेल्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रासायनिक मलको बिक्रीमा कैफियत भेटिएपछि कृषि भण्डारलाई २ लाख जरिवाना
- लामो प्रतीक्षापछि सुकुम्बासी परिवारको हातमा जग्गाधनी प्रमाणपुर्जा
- आज पहिलोपटक ‘बालविवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: कोशीका केही हिमाली स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
- पूर्वाधार अभावबीच गाउँमा झाँगिँदै क्रिकेट
- आजको मौसम: तराईमा हुस्सु, पहाडमा आंशिक बदली र अन्यत्र सफा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
