गएका तीन वर्ष माघे संक्रान्तिमा सुनसान भएको देवघाटधाममा यसवर्ष माघे संक्रान्ति सुरु हुनु हप्तादिन अघिदेखि नै चलहलपहल सुरु भएको छ। नेपाल र भारतका विभिन्न स्थलदेखि दर्शनार्थीहरू माघे संक्रान्ति स्नानको लागि देवघाटधाममा आएपछि यहाँ चहलपहल सुरु भएको हो। इन्दिरा रानाभाट आफ्ना साथीहरूसहित २ दिनदेखि नै नेपालगञ्जबाट देवघाट आइसकेकी छिन्। उनी पहिलोपटक देवघाटमा स्नान गर्न आएकी हुन्।
माघे संक्रान्तिको दिन देवताहरू पनि देवघाटस्थित वेणीमा स्नान गर्न आउने भएकोले उनी पूण्य प्राप्तीको लागि देवघाट आएको बताउँछिन्।
देवघाटधाममा तीन वर्षपछि माघे संक्रान्ति मेलाको तयारी भएपछि यहाँ भीड बढ्न थालेको हो। अघिल्ला तीन वर्ष कोभिड १९ का कारण रोकिएको माघे संक्रान्ति मेलालाई यसवर्ष देवघाट क्षेत्र विकास समितिले आयोजना गरेको हो।
मेलामा पाँच लाख जनाबढी भक्तजन आउने लक्ष्यसहित समितिले चितवन, तनहुँ र नवलपुरका प्रशासन, स्थानीय तहसहितको समन्वयमा यसवर्ष माघेसंक्रान्ति मेलाको तयारी गरेको छ।
माघ १ गते देवघाटधाममा स्नान गर्न देवताहरू पनि आउने विश्वासका साथ मुख्यगरि नेपाल र भारतका विभिन्न स्थलबाट भक्तजनहरू देवघाटधाम आउने गर्छन्। यसवर्ष पनि देवघाटधाममा संक्रान्तिको २ दिनअघिदेखि नै दर्शनार्थीहरू पुगिसेका छन्। पुस मसान्त अथात् आज रातभर धुनी बालेर जाग्राम बसी बिहान वेणीमा स्नान गरि भक्तजनहरू फर्किने गर्छन्।
मेला व्यवस्थापनमा विभिन्न समिति
देवघाट क्षेत्र विकास समितिले संक्रान्तिमा भक्तजनको भीड व्यवस्थापन गर्नको लागि व्यवस्थापन समिति निर्माण गरेको छ। समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको संयोजकत्वमा मूल व्यवस्थापन समिति र अन्य विभिन्न उपसमिति बनाएको छ।
समितिले पत्रकार सम्मेलन गरेर माघे संक्रान्ति मेलाको तयारी पूरा भएको जानकारी दिएको हो। मेलामा तीर्थयात्रीलाई सरल, सहज र सुरक्षित होस भनेर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरूबीच समन्वय गरिएको छ।
देवघाटधाम जानको लागि तीन ठाउँबाट प्रवेशस्थल भएपनि अरु समेत धेरै आँपटारीबाट आवतजावत हुने गर्छ। मेलामा जानको लागि आजदेखि नै तीर्थालुलाई रामनगर–ठिमुरा हुँदै देवघाट पुग्ने बाटोको व्यवस्था गरिएको छ। त्यस्तै दासढुंगाबाट पनि देवघाट पुग्न सकिने मेला व्यवस्थापन समितिका संयोजक अधिकारीले जानकारी दिए। मेलाबाट फर्किने तीर्थालुलाई बागीश्वरी हुँदै आँपटारी निस्कने बाटोको व्यवस्था गरिएको छ।
त्यसैगरि मेलामा धुमपान, माँस–मदिरा र सुर्तीजन्य पदार्थ निषेध गरिएको छ भने डुंगा र र्याफ्टिङबाट नदी पार गर्दा एकतर्फीको भाडा ३५ रुपैयाँ कायम गरिएको छ। देवघाटमा तीन दिनसम्म विद्युत अविच्छिन्न प्रवाह हुने व्यवस्था मिलाइएको छ।
बेणीमा नुहाउँदा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आकस्मिक उद्धारका लागि दुई वटा काठका डुंगा, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय र नेपाली सेनाको कालीबहादुर गणबाट गरी दुई÷दुई वटा उद्धार ¥याफ्टिङको व्यवस्था गरिएको उनले बताए।
त्यसैगरी शौचालयको व्यवस्थापन, धुनी बाल्न समन्वय गर्न धुनी उपसमिति, बजार व्यवस्थापन लगायतका विभिन्न उपसमितिहरू पनि बनाएर मेला समन्वयको व्यवस्था गरिएको उनले जानकारी दिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख