बाँकेको राप्ती सोनारी क्षेत्रमा मान्छे मार्न पल्किएको पाटेबाघलाई संरक्षणकर्मीहरूले फागुन १८ गते नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको होल्डिङ सेन्टरमा पठाइएका छन् ।
डिभिजन वन कार्यालय, बाँके निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, पशु चिकित्सक सहित सुरक्षाकर्मीहरूको टोलीले नियन्त्रणमा लिएको बाघलाई चितवन पुर्याइएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष , बाँके निकुञ्ज डिभिजन वन लगायत सुरक्षाकर्मीहरूको टोलीले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर स्थित जंगल क्षेत्रमा बेहोश बनाउने गोली हानेर नियन्त्रणमा लिएको हो । फागुन ७ गते फत्तेपुरको जंगल क्षेत्रमा वन पैदावार लिन गएका ६० वर्षीय स्थानीय बासिन्दा धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
चलाउने बाघको आक्रमणमा परेको क्षेत्रबाटै बाघलाई नियन्त्रणमा लिने योजनाका साथ बाघको आहाराका लागि भैसीको पाँडो बाँधेर राखिएको थियो।पाँडो राखिएको एघारौ दिनमा बाघले पाडोको शिकार गरेको थियो । पाँडोको शिकार पछि बाघ त्यसै क्षेत्रमा बस्दै आएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्राविधिक फिरुलाल चौधरीले हात्ती चढेर बाघलाई बेहोश बनाउने गोली हानेका थिए । बेहोश बनाउने गोली लागे पछि ढलेको बाघलाई प्रकृति संरक्षण कोष, वन निकुञ्ज र सुरक्षाकर्मीहरूको टोलीले बोकेर बाघ राख्नका लागि बनाइएको बिशेष किसिमको खोरमा हालेका थिए ।
नियन्त्रणमा लिएको बाघ पछिल्लो २ महिना देखि राप्ती सोनारी क्षेत्रमा स्थानीय बासिन्दाहरूलाई आक्रमण गर्दै आएको बाघ भएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले बताउनुभयो। बाँकेको राप्ती सोनारीमा फागुन ८ गते बाघले स्थानीय बासिन्दा २८ वर्षीय वकिल गद्दीलाई गम्भिर घाइते बनाएको थियो। घाइते गद्दीको अहिले पनि भेरी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बाघको आक्रमणबाट गत पुस २४ गते बाँकेको राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र २२ गते राप्ती सोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो । बाघको आक्रमणबाट बाँकेमा यो वर्ष ५ जना र बर्दियामा ४ जनाको जनाको ज्यान गइसकेको छ। मान्छेलाई खाने बाघलाई नियन्त्रणमा लिए पछि स्थानीय बासिन्दाहरू खुशी भएको बाघको आक्रमणबाट आफन्त गुमाएका चित्र बहादुर चलाउनेले बताए ।
(श्रोत: INS NEWS-स्वतन्त्र समाचार)
