उफ !  किन यस्तो गर्मी?

राजेश घिमिरे

भारतको बिहारमा अप्रत्याशित रूपमा लामो गर्मीको लहरले लिची र आँपजस्ता ग्रीष्मकालीन फलफूलको उत्पादनमा मात्र प्रभाव पारेको छैन त्यसले ती फलको स्वादमा समेत असर गरेको छ । बिहार कै मुजफ्फरपुरमा रहेको राष्ट्रिय लिची अनुसन्धान केन्द्र (एनआरसीएल) ले बढ्दो तापक्रमलाई ध्यानमा राख्दै बगैंचामा सिँचाइ गर्न किसानलाई सल्लाह दिएको छ। किसानहरूका अनुसार पहिला यस्तो हुन्थेन।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण पानी पर्ने समयमा फेरबदल र मौसममा गडबडी हुँदा खेती लगाउन समस्या हुने,  भूक्षय र बाढी पहिरोका घटना बढ्नाले माटोको उर्वरा शक्ति घट्नाले कृषि उत्पादनमा ह्रास हुने अनि नयाँ खालका कीटाणु तथा रोगव्याधी निस्किएर बालीनालीलाई क्षति  हुने जस्ता खेति किसानी मारमा पर्ने कुरा बताउँदै आएका थिएँ। तर अबचाहिँ कृषि उपजको स्वादमा नै असर पर्ने कुरा आउन थालेको छ।

अहिलेको गर्मी र मनसुन आउन भइरहेको ढिलाईका लागि धेरैजसो मानिस क्लाइमेट चेन्ज वा जलवायु परिवर्तनका कारण यस्तो भइरहेको हो भनेर अनुमान गरिरहेका हुन्छन्। यो शत प्रतिशत सत्य नभए पनि जलवायु परिवर्तन अहिले हामीलाई छटपटी गराइरहेको गर्मीका बीचमा ठूलै सम्बन्ध छ।  

खासमा ५४ अर्ब टन कार्बन डाईअक्साइडको वार्षिक उत्सर्जनको साथ अहिले हरितगृह ग्यास उत्सर्जन आजसम्मकै सबैभन्दा उच्च बिन्दुमा छ। यसको अर्थ हामी मान्छेले आजका दिनमा अहिलेसम्मकै सबैभन्दा बढी हरितगृह ग्यास हावामा फालिरहेका छौ। सन् १८०० को दशकको अन्त्यदेखि मानवका गतिविधिले पृथ्वीको सतहको तापक्रम १.१४ डिग्री सेल्सियसले बढाएको छ – र यो तापक्रम प्रति दशक ०.२ डिग्री सेल्सियसभन्दा बढीको अभूतपूर्व दरमा बढिरहेको छ।

जमिनमा अहिलेसम्मकै उच्च तापक्रम (जसलाई जलवायु वैज्ञानिकहरूले जमिनको सतहको अधिकतम तापक्रम भन्छन्) दोब्बर छिटो  गतिमा बढिरहेको छ। यही उच्च तापक्रम नै मानिसले अहिले अनुभूत गरिरहेको उकुसमुकुस गर्मी र जङ्गलमा डढेलो लाग्नुको सबैभन्दा ठूलो कारक हो।

अनुसन्धानकर्ताहरूले अहिले अत्याधिक तातो भइरहेको विश्वले आउँदो केही वर्षहरूमा पहिलो पटक मुख्य तापक्रम वृद्धि सीमा तोड्ने भनेका छन्। वैज्ञानिकहरूले २०२७ को बीचमा १.५ डिग्री सेल्सियस ग्लोबल वार्मिङ थ्रेसहोल्ड पार गर्ने सम्भावना ६६% रहेको बताएका हुन।

यी परिवर्तनहरूको मतलब १.५ डिग्री सेल्सियसको लागि बाँकी कार्बन बजेट अर्थात विश्वले अझै पनि उत्सर्जन गर्न सक्ने कार्बन डाईअक्साइडको मात्रा, (जसले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा राख्ने ५० प्रतिशत मौका दिन्छ) अहिले लगभग २५० करिव एक अर्ब टन मात्र बाँकी छ। अहिलेकै उत्सर्जन स्तरको हुँदै जाने हो भने छ वर्ष भन्दा कममा त्यो मात्रा सकिने वा पूरा हुनेछ।

अब कुरा गरौ १.५ डिग्री सेल्सियसको सीमाको। सन् २०१५ मा भएको पेरिस सम्झौता अन्तर्गत विश्व तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न देशहरू “प्रयास” गर्न सहमत भएका थिए। एक वा दुई दशकको लागि प्रत्येक वर्ष तापमान वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि जाँदा लामो समय गर्मी हुने, अधिक तीव्र आँधी आउने र जंगलमा डढेलो लाग्ने जस्ता तापक्रमको धेरै ठूलो प्रभावहरू देखिने छ।

जलवायु परिवर्तनले गर्दा सन् १९६० देखि २००५ सम्ममा विश्वको तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको र सन् १९६१ देखि २००३ सम्ममा समुद्र सतह १.८ मिलिमिटर प्रति वर्षका दरले बढेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन् ।

४९ अन्य वैज्ञानिकहरूले हालै प्रकाशित गरेको इन्डिकेटर्स अफ ग्लोबल क्लाइमेट चेन्ज २०२२: एनुअल अपडेट अफ लार्ज-स्केल इन्डिकेटर्स अफ द स्टेट अफ द क्लाइमेट सिस्टम एण्ड ह्युमन इन्फ्लुएन्समा उच्च तापक्रम (जसलाई जलवायु वैज्ञानिकहरूले जमिनको सतहको अधिकतम तापक्रम भन्छन्) दोब्बर छिटो  गतिमा बढिरहेको जनाइएको हो।

ग्लोबल क्लाइमेट चेन्ज प्रोजेक्टका सूचकहरू लीड्सको प्रिस्टले इन्टरनेशनल सेन्टर फर क्लाइमेटका निर्देशक प्रोफेसर पियर्स फोर्स्टरले समन्वय गर्नुभएको हो। उहाँले भन्नुभएको छ, “यो जलवायु परिवर्तनको लागि महत्वपूर्ण दशक हो। अहिले गरिएका निर्णयहरूले तापक्रम कति बढ्नेछ र परिणामको रूपमा हामीले देख्ने प्रभावहरूको डिग्री र गम्भीरतामा प्रभाव पार्नेछ। “

प्रोफेसर पियर्स फोर्स्टरले  भन्नुभएको छ, “जलवायु परिवर्तनको सामना गर्न हामी फुर्तिलो खुट्टा चल्नुपर्छ। हामीले जलवायु प्रणालीको अवस्थाको बारेमा नवीनतम प्रमाणहरूको प्रकाशमा नीति र दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ। समय अब ​​हाम्रो पक्षमा छैन। अप-टु-डेट जानकारीको पहुँच अत्यन्त महत्त्वपूर्ण छ।”

आईपीसीसीको छैटौं मूल्याङ्कन प्रतिवेदनको कार्य समूह १ का सह-अध्यक्ष र जलवायु सूचक परियोजनामा संलग्न  युनिभर्सिटी पेरिस साक्लेका डा भ्यालेरी म्यासन-डेल्मोटेले भन्नुहुन्छ “यो अपडेटले मानव गतिविधिहरूका कारण हाम्रो पृथ्वी तीव्र गतिमा तातिरहेको देखाउँछ। यो पेरिस सम्झौताको २०२३ ग्लोबल स्टकटेक (जलवायु सङ्कटका बारेमा हरेक पाँच वर्षमा विश्लेषण गर्न बनाइएको संयन्त्र) का लागि वेकअप कल हो – जलवायुका सम्बन्धमा अहिले भइरहेका काम र  त्यसको  गति जलवायु सम्बन्धी जोखिमहरूको वृद्धिलाई सीमित गर्न पर्याप्त छैन।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राजेश घिमिरे का अन्य पोस्टहरु:
उफ !  किन यस्तो गर्मी?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link