नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटी नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (इयू) ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको बताइएको छ ।
छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योग विकासमा सरकार रनिजी क्षेत्रबीच समन्वय र सहकार्यमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युरोपसँगको सीधा हवाई सम्पर्क पुनः स्थापित गर्न तत्काल पहल गर्नुपर्ने पनि बताउनुभयो । साथै युरोपका पर्यटक धेरै खर्च गर्नेमध्येमा पर्ने भएकाले नेपाललाई युरोपियन यूनियनको सुरक्षा सूचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उहाँको जोड थियो ।
परिसंघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल सञ्चालनार्थ हवाई रुटको अभावमा चुनौती देखा परेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपाललाई फिल्मिङ गन्तव्यका रुपमा विकास एवं प्रवद्र्धन गर्न, पर्यटकीय क्षेत्रमा पुग्ने सडक यातायात मार्गको स्तरोन्नति तोकिएको समयमा पूरा गर्नुपर्ने, हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायतका विषयमा परिसंघले ध्यानाकर्षण गराएको छ ।
छलफलमा मन्त्री किरातीले नेपाल युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन पहल भइरहेको र छिट्टै सकारात्मक समाचार आउने बताउनुभयो । युरोपियन युनियनसँग पुनः सीधा हवाई सम्पर्क स्थापित गर्न नेपाल सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने विषयमा आफूले असहमति राखेको स्पष्ट पार्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
