एक सय ७० किलोमिटर दौड ‘मञ्जुश्री ट्रेल रेस’ को बढ्दो आकर्षण

मञ्जुश्री ट्रेल रेसमा एक सय ७० किलोमिटर, ९२, ५४ र २४ किलोमिटरका दौडमा  ६७ नेपाली र २१ विदेशी गरी ८८ धावक सहभागी 

नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको तेस्रो संस्करण सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फ रमेश लिम्बू र महिलातर्फ अनिता राईले उपाधि हात पार्नुभएको छ। एक सय ७० किलोमिटर रमेश लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल हुनुभएको हो।

विजेता लिम्बू र राईले सन् २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने ‘अल्ट्रा टुर मोन्टा रोस’मा सहभागी हुने अवसर प्राप्त गर्नुभएको छ। सो अवसरमा उहाँहरूको आर्थिक लगायत यात्रा व्यवस्थापनमा मञ्जुश्री ट्रेल रेसले संयोजन गर्नेछ।

शुक्रबार बिहान ६ बजे काठमाडौँको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट एक सय ७० किलोमिटर दौड सुरू भएको थियो। यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकले जनाएको छ। रेसमा दौडने क्रममा प्रतियोगीले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए। सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल नौ हजार आठ सय मिटरको उचाइ लिएका थिए।

उक्त उचाइ समुद्रदेखि सगरमाथाको चुचुरोसम्मको भन्दा बढी भएको आयोजक मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले बताउनुभयो। उहाँका अनुसार रेसअन्तर्गत छोटो दूरीका रेस पनि प्रतियोगिता गरिएका छन्। जसअन्तर्गत झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता समावेश गरिएका थापाले जानकारी दिनुभयो। उहाँका अनुसार सबै दौड दह चोकस्थित कालु पाँडे डाँडामै पुगेर सकिएका थिए।

९२ किलोमिटर रेस २० घण्टा १३ मिनेट ३ सेकेन्डमा पार गर्दै पुरुषतर्फ विक्रम थामी विजेता बन्नुभयो। महिला सहभागी कसैले पनि ९२ किलोमिटर रेस पूरा नगरेकाले सो विधामा महिलातर्फ विजेता नभएको आयोजकको भनाइ छ। ५४ किलोमिटर रेस आठ घण्टा ३३ मिनेट १९ सेकेन्डमा पार गर्दै पुरुषतर्फ विकल्प पोख्रेल र महिलातर्फ आठ घण्टा ३६ मिनेट तीन सेकेन्डमा पार गर्दै मन्जु रावत प्रथम हुनुभएको छ।

त्यस्तै २४ किलोमिटर रेस तीन घण्टा पाँच सेकेन्डमा पार गर्दै पुरुषतर्फ श्याम मग्राती र महिलातर्फ तीन घण्टा ३९ मिनेट नौ सेकेन्डमा पार गर्दै प्रिया राई प्रथम हुनुभएको छ। विजेताले मेडल, प्रमाणपत्र र ‘एड्भेन्चर गियर’ लगायतका पुरस्कार पाएका छन्। प्रतियोगिता चार चरणमा सम्पन्न भएको थियो। चार चरणमा गरी ६७ नेपाली र २१ विदेशी गरी ८८ प्रतियोगी सहभागी भएका अध्यक्ष थापाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा १९ जना महिला सहभागी थिए। यही प्रतियोगिताका लागि विदेशीसमेत नेपाल आएका थिए। यसरी विदेशमासमेत नेपालको अल्ट्रा ट्रेल रेसको प्रतिष्ठा बढ्दै गएको थापाको भनाइ थियो।

युरोपका विभिन्न अल्ट्रा ट्रेल रेस भन्दा नेपालका ट्रेल रेस रुट उत्कृष्ट लागेको पर्वतीय पर्यटन व्यवसायमा आवद्ध बेलायती नागरिक रोल्याण्ड हुन्टेरले बताउनुभयो। हुन्टेर एक सय ७० किलोमिटर दौडमा दोस्रो हुनुभएको थियो।

“ट्रेल रेसका लागि नेपाल विश्वमै उत्कृष्ट गन्तव्य हो। यसको अझै प्रचार र व्यवस्थापन हुनसके ट्रेल रेसको हबका रूपमा नेपाललाई विकास गर्न सकिन्छ”, अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेल रेसको क्षेत्रमा लागि परेका जिम्मी ओस्त्रोमले भन्नुभयो, “एक सय ७० किमी दौडदा ९० प्रतिशत भन्दा भढी भागमा मानवनिर्मित संरचना भेटिदैनन्।” राजधानी नजिक भएर पनि यसरी कृत्रिम संरचनारहित भएर प्रकृतिको काखमा रमाउन पाउनुमा बेग्लै आनन्द रहेको उहाँको भनाइ थियो।

“नेपालमा प्रचुर सम्भावना भएर पनि ट्रेल रेसको संस्कृति भने विस्तारै विकास हुँदै गइरहेको रेस व्यवस्थापक महेश दाहालले बताउनुभयो। “यस किसिमको प्रतियोगिताले नेपालमा रेस संस्कृतिको विकास गर्न र नेपाली धावकलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित रेसमा प्रतिस्पर्धा गर्नका लागि योग्य बन्न अभिप्रेरित गर्छ”, उहाँले भन्नुभयो।

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गर्नुभएको थियो। त्यसपश्चात उहाँहरूले सन् १०१६ मा यो रुट छिचोल्नुभयो।  जिमि ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक–पटक गरी ट्रेलको वैकल्पिक रुटसहित नक्शाङ्कन गर्नुभएको थियो।

विभिन्न चरणमा विभिन्न व्यक्तिको संलग्नतामा एक सय ७० किमी दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब तीन वर्ष लागेको थियो। फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एशोसिएशन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावककोस्तर मूल्याङ्न तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रियस्तरमा महत्वका साथ हेरिन्छ।

आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’को निर्धारित दूरी पूरा गर्ने सहभागीले आइटिआरएबाट छ अङ्क प्राप्त गर्छन्। यो आइटिआरए सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुने जनाइएको छ। सुविधा सम्पन्न राजधानी र अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक यो जस्तो उत्कृष्ट ट्रेल रेसको रुट अन्य मुलुकमा सायदै भएको आयोजकको भनाइ छ।

उक्त रेस ट्रेलमाण्डुसँगको सहकार्यमा आयोजना गरिएको हो। मन्जुश्री ट्रेल रेसको रुट काठमाडौँ उपत्यकालाई घेरेका पहाडको डाँडैडाँडा भएर अगाडि बढ्छ। चोभारको डाँडा काटेर मन्जुश्रीले काठमाडौँ उपत्यका बनाउन अगाडि अवलोकन गर्दा हिँडेको बाटो÷पदचाप पछ्याउँदै रेसको रुट बनाइएको छ।

आयोजकका अनुसार दौडको रुटमा १९ चेक पोइन्ट छन्। कालु पाँडे डाँडाबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिप्ले, गोर्जे भञ्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भन्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाँडे डाँडामा नै पुगेर फरेस्ट क्याम्पमा साङ्गीतिक प्रस्तुतिसहित समापन गरिएको हो।

मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी साहसिक खेल पर्यटकका लागि आकर्षण बनेको छ। हिमालय शृङ्खला, काठमाडौँ उपत्यका, जङ्गल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link