कथाः बाको चस्मा (म)

सानु शर्मा

“मामु होइसिन्न के…!” ऊ मेरो नजिक सरी, ” काम गर्ने मान्छे पनि घरमा छैन यति बेला…”  केही दिनदेखि उसको हाउ भाउ र शारीरिक सङ्केतमा आएको यो उखरमाउलो बदलावको कुनै विशेष कारण थियो भने उही जानोस् तर मेरो मनमा मर्नै लागेको महिनाको तलबको हिसाबकिताब भन्दा अरू केही कतै थिएन।

यही पैसा थियो, जसको आधारमा काठमाडौँ सहरले मलाई बास दिई रहेको थियो।

जानिनजानी मलाई ठाउँ  कुठाउँ छुने। मौका बेमौका मसँगै टाँसिन आउने। एकोहोरो मलाई हेरिरहने र शरीर ढाक्ने भन्दा देखाउने उसका यी क्रियाकलापहरूले मलाई जुरुकजुरुक जुरुकजुरुक नबनाएको त कहाँ हो र ? तर एक छिनको उन्मादमा उम्लिएर म  उम्लिएर पोखिएको दूध झैँ हुन चाहन्थिन। भाँडामै रहन चाहन्थेँ ताकी मेरो परिवारलाई काम लागिराख्न सकौँ।

“पढ्नमा ध्यानछेउ अनन्या!” मैले आफ्नो नाडीमा भएको अनुहार खुइलिएर बिरूप भएको घडीमा समय हेरेँ। यो पनि मन नलागी नलागी घस्रँदै थियो- मै जस्तो। सायद यसले पनि मैले जस्तै मौका राखिरहेथ्यो सुस्ताउने। यो मेरो तेस्रो ट्युसन थियो। थाकेर चुर भएको थिएँ। यति बेला मनले ओछ्यानको होइन, खुट्टा फिँजाएर पल्टने अढाई हात धरतीको कामना राखिरहेथ्यो। म कसैगरी बाँकीको आधा घण्टा धकेल्न चाहन्थेँ र यो अररो भएको ढाड सोझ्याउन चाहन्थेँ।

“छि: कस्तो होला, यो सर त!” उसले आङ तानी। मेरो तिघ्रामा प्याट्ट पिटी र अनुहार मेरो नजिकै ल्याउँदै भनी, ” मौकामा चौका हान्न जान्नुपर्छ क्या ! म्याथ र इङ्ग्लिसको लागि त भोलि पनि दिन आउँछ तर तपाईँको लागि नआउन पनि सक्छ..!”

पच्चीस वर्षको लक्का जवान थिएँ। लुरे लुरे भए पनि शरीरमा तातो रगतको कमी थिएन। तर उसको उन्मादपूर्ण निमन्त्रणाको सङ्केत जहाँ पुग्नुपर्ने हो त्यो भन्दा पहिल्यै बाटोमा मेरो पापी पेट थियो। अरूको के हुन्छ कुन्नि ?

“अनन्या! आज तिम्रो पढ्ने मुड छैन जस्तो छ।” मैले जुरुक्क उठ्दै भनेँ, ” म भोलि आएर पढाउँछु।”

“कस्तो बाइ, यो सर त!” उसले मेरो हात थामी, ” केई हुँदैन के, पहिलेको सरलाई त..”

म उसको हात झट्कारेर अघि बढेँ। ऊसँगको बाफिलो संसर्गको कल्पनामा भन्दा बाको भाँचिएको चस्मामा मेरो मन जेलिएको थियो यति बेला।

भइचालोले बेघर बनाएको मेरो पाँच जनाको परिवार हरि काकाको गोठमा बसेर घर ठड्याउने सपना देख्दै आधा पेट खाएर त्यही सपनाको डकार छोड्दै थिए। म कसरी पेटको बारेमा सोच्न छोडेर शरीरको बारेमा सोचौँ ? त्यसमाथि यो मात्र मेरो पेटको कुरा थिएन, मसँग जोडिएका अरू पेटहरूको पनि कुरा थियो।

उसको शरीरको लोभ जतिसुकै भए पनि उसकी आमाले भोलि दिने तलबको आकर्षण ठुलो थियो मेरा लागि त्यसैले म शरीरको इच्छालाई पेटको भोकको भारीले च्याप्दै बाहिर निस्केँ। बाहिर आएर मैले पसिना पुछेँ र फेरि उसको कोठामा पसेर उसको आमन्त्रण स्विकार्ने लोभलाई जबरजस्ती गलहत्त्याउँदै अघि बढेँ।

‘बल्खु!’ ‘ल है बल्खु, यता’। केही पर एउटा माइक्रो आएर रोकियो। माइक्रो भेट्न दौडनुपर्ने म, झन् बिस्तारै अघि बढेँ। खल्तीमा जम्मा एउटा नोट थियो। दरोसँग त्यो नोटलाई च्यापेर मैले मनमनै भनेँ, ” भैगो, किन साट्नु यो भएको यौटै मात्र नोट। भोलि देखा जाला।” बस देखि तर्किएर म सडकको पेटीमा उक्लिएँ। ढाडले गुनासो गर्‍यो। तर म सुनेको नसुनै अघि बढेँ।

अचानक कोही आएर जानी जानी मसँग ठोक्कियो।

“सरी!” आफ्नो गल्ती नै नभए पनि झुक्न सिकिसकेको मेरो मुखबाट निस्कियो।

“एक्लै हो!” एउटा आसपूर्ण गुनगुनाहटले मेरो कानलाई स्पर्श गर्‍यो।

“होइन, गरिबी पनि साथै छ!” मलाई भन्न मन लागेको थियो तर मुखबाट “होइन” मात्रै निस्कियो।

“आँखा खल्तीमा राख्या छस् कि के हो? हेरेर हिँड्न सक्दैनस् ?” गुनगुनाहट जस्तो स्वर कर्कश सुनियो। मलाई कुनै आश्चर्य लागेन। मान्छेको परिस्थिति। कारक यही हो- गुनगुनाहटको पनि कर्कश हुनुको पनि।

कोठामा पुग्दा रातले बिहानलाई सम्बोधन गर्न थालिसकेको जस्तो लाग्थ्यो। दुई घण्टा सकस पाएको खुट्टा र ढाडले जति गुनासो गरे पनि खल्तीको सिङ्गो नोटले ‘स्याबास’ भनेझैँ लाग्यो मलाई। समय हेर्न खोजेँ तर घडी एघार बजे नै सुतिसकेछ। खल्तीबाट मोबाइल झिकेर हेर्नुभन्दा पहिले मनले घडीमा ब्याट्री नफेर्ने निष्कर्ष निकालिसकेको थियो- बेकारको खर्च। सस्तै सही, मोबाइल छँदै छ नि।

धूलो र फोहरले रङ्गिएर बिहान लगाएर निस्केको सर्टको रङ्ग अर्कै देखिइसकेको भए पनि मसँग त्यसको विकल्प थिएन त्यसैले त्यसलाई फुकालेर सरक्क ढोका पछाडि झुन्ड्याएँ।

‘यो पटक बाको लागि नयाँ चस्मा किन्छु। अर्को पटक केही पैसा बचाएर आफ्ना लागि एउटा सर्ट किन्छु।’ सोच्ने बित्तिकै मनले मज्जा मान्यो। आँखाको स्क्रिनमा पुतली सडकको एउटा पसल बाहिर डमीमा सजिएको त्यो निलो सर्ट झुल्कियो। मन फुरुङ पर्‍यो, निलो रङ्गको त्यही सर्ट आफ्नो आङमा भएको कल्पनाले।

पातलो डसना भएको सारो ओछ्यानमा पल्टँदा कति बेर सम्म त ढाडले सोझिन पनि मानेन। मेरो शरीर ओछ्यानमा भए पनि मन उडेर गाउँ पुगिसकेको थियो।

‘जाडो आउन लाग्यो। पैसा जोडेर सिरक बनाउन थियो। आमालाई बाथ छ। चिसोले सधैँ थला पार्छ। झन् यसपालि त घरको ओत र न्यानो पनि छैन।’ मन हिसाब लगाउँथ्यो तर त्यो हिसाब मिलाउने श्रोत देखाउन सक्दैनथ्यो। म जस्तै थियो यो पनि। जिम्मेवारी देख्थ्यो, मान्थ्यो तर पुरा गर्न सक्दैनथ्यो।

तीन महिना देखि तीन ठुन्का भएर भाँचिएको, धागोले बाँधेर कानमा अड्याएको बाको चस्माको सिसा  साहिँला बाको मलामी जाँदा खोलामा खसेर धुलो पिठो भएको पनि महिना बढी भइसक्यो। त्यही भाँचिएको चस्माको साहायताले हाम्रो सुन्दर भविष्यको सपना देख्ने हाम्रा बालाई पनि थाहा छ सायद सहरको बाध्यता त्यसैले त भनिरहनुहुन्छ, ” अर्जुन ! काम चलेकै छ, तँ मेरो चस्माको फिकर नगर्। जाडो आउनैला’छ बोरूँ आमालाई एउटा न्यानो ओढ्ने ल्याइदे।”

अभाव नै हो सायद मनहरूलाई जोडेर राख्ने। पुगी सरी आएपछि त सबैको मनमा पखेटा लागिहाल्छ। कसको कहाँ र कसको कहाँ पुग्छ उडेर। मन बिनाको शरीर मात्रैले सम्बन्ध कसरी न्यानो भइराख्छ र ?

आइ ए पास भएदेखि जागिरको नाममा निस्किएका कुनै विज्ञापन आँखाबाट ओझेल भएको छैन। भ्याउने जति सबैको लागि जानेको/ लागे पुगेको तयारी गरेकै छु। इन्टरभ्युमा गएकै छु। अहिले एम ए दोश्रो वर्षमा पढ्दैछु तर जागिर भेटेको छैन। इन्टरभ्युमा सर्टिफिकेट  होइन, मेरो पोषण नपुगेजस्तो लुरो शरीर, रङ्ग खुइलिएका लुगा र अनआर्कषक व्यक्तित्व हेरिन्छ। सर्टिफिकेट, नलेज र क्षमता हेर्नुभन्दा पहिल्यै उनीहरूको मस्तिष्कले अयोग्य मानिसकेको हुन्छ मलाई ।  अनि कहाँबाट पाइन्छ जागिर  ? तोक लगाई माग्न कोही ठुलाबडा आफ्ना/चिनजानका छैनन्। कुनै युनियनमा सक्रिय भएर लाग्नको लागि बाको संस्कार र सिद्धान्त ओढेर/ओछ्याए हुर्किएको, ‘ठुलो मान्छे भन्दा राम्रो मान्छे बनेस्’ भन्ने बाको अर्ति सास फेरेभन्दा धेरै पटक सुनेर  हुर्किएको मैले पढाइमा झोस्सिनबाहेक अन्त कतै लाग्ने हिम्मत गर्नै सकिनँ। त्यो फुटे टुटेको चस्माको मद्दतले बाले देखेका र देखाएका सपनाहरु पुरा गर्नका लागि मेहनत गर्न बाहेक अरू केही गर्न नसिकेको मैले  मेहनत गर्नमा कहिल्यै कन्जुसी गरिनँ तर मेरो मेहनतले मलाई कतै पुऱ्याउन सकेको छैन। धन्न पढाइमा राम्रै छु त्यसैले ट्युसनले गुजारा चल्छ नत्र भगवान् जाने के हुन्थ्यो ? कमसेकम आफ्नो खर्चको साथसाथै घरमा नुन तेल, औषधी र खरखाँचो धानिएको छ।

ढाडले सोझिन मात्रै भ्याएको थियो, सूर्य देउता छिँडीमै चिहाउन आइपुगे। बेलुका केही नखाई सुतेकोले पेट नराम्रोसँग रिसाएर कराउँदै थियो। मन मारेर उठेँ। कोठामा खाना नबनाउने सर्तसहित भेटेको यो कोठामा पानी तताउने सरसामान पनि थिएन। बिहानको नित्यकर्मबाट फारिग भएर म जग बोकेर तल झरेँ।

बाटो परीपट्टिको चिया पसलमा एउटा भरखर फक्रिँदै गरेको फूल बस्थी बिहान बिहान। दिनभरि उसका बाउ आमा हुन्थे।

ऊ बडो तन्नमयता पूर्वक कुनै हिन्दी सिनेमाको गीत गुनगुनाउँदै चिया उमाली रहेकी थिई। दुईचार जना चिया पर्खँदै उसको भरखर फुल्न अग्रसर छातीमा आ-आफ्ना आँखालाई निरङ्कुश छोडेर कल्पनाको कुन्नि कुन लोकमा हराई रहेका थिए, यति बिहानै बिहानै। ऊ जानाजान ती आँखाहरूको असभ्यता झेल्थी, या उसलाई ती आँखामा भरिएको भोकको पत्तो चल्थेन, उही जानोस्। शरीरकै छाला जसरी कस्सिएको  कुर्तामाथि सल किन ओढ्थिन, भनेर पनि  सोच्दिनँ म ।  बरु सोच्थेँ- बिचरी, अबोध ! र यसरी सोच्दा मेरा आँखा मेरो नियन्त्रणमा रहन्थ्यो। यही निको लाग्थ्यो मलाई।

मलाई देखेर ऊ सधैँ मुस्कुराउँथी। मुस्कुराएपिछे उसको अनुहारको भावमा अर्कै रङ्ग मिसिएर झनै आकर्षक देखिन्थ्यो। मलाई देखेर फेरिएको उसको अनुहारको रङ्ग देखेर चिया पर्खिरहेका कति आँखाहरू ईर्ष्या बोकेर मतिर उठ्थे र मेरो सपाट अनुहार र रित्ता आँखा देखेर फिर्ता जान्थे। तातो पानी माग्न गएको मलाई चिया खान आग्रह होइन जबरजस्ती नै गर्थी ऊ। पहिले पहिले उसले जतिसुकै कर गरे पनि म उसले दिएको चिया खान्नथेँ तर अचेल उसको हातको चियाबिना मलाई मेरो बिहान खल्लो लाग्न थालेको थियो। ऊ मसँग कहिल्यै पैसा लिन मान्थिन। म भन्न सक्दिनँ, मलाई उसको आग्रह, अनुग्रह सुखद लाग्थ्यो या बिस रुपियाँको बचत ?

आज महिना मर्ने दिन।

ठ्याक्क पाँच बजे म अनन्याको घर पुगेँ।

मलाई आफ्नो खल्ती अहिले देखि नै गह्रौँ लाग्न थालिसकेको थियो। भोलि बाको चस्मा किन्ने सुनिश्चित गरेर मन पुलकित भएको थियो।

कति सानो हुने हामी गरिबको सपना ? एउटा सानो दायरामा सारा संसार अट्न सक्ने। यति बेला मलाई अरू कुनै कुराको सम्झना थिएन। आँखा अगाडि हिजो चस्मा पसलमा हेरेको सुनौलो फ्रेमवाला चस्मा घुमिरहेको थियो। कति सुहाउँदो हो मेरो बालाई त्यो चस्मा ? कति खुसी हुनुहुँदो हो उहाँ ? यो चस्माले त सायद उहाँका सपनाहरू पनि झनै राम्रा र प्रस्ट देखिँदाहून्।

“नमस्ते !” मैले बैठकमा अनन्याकी ममीलाई देखेर हात जोडेँ। जवाफमा मतिर बढेकी उनको हात उठ्यो र तोडसँग मेरो गालामा ठोक्कियो।

“तँलाई सोझो, सिधा देखेर छोरी पढाउन राखेको, कसरी हिम्मत गरिस् मेरी छोरीको शरीरमा हात हाल्न?” उनी चट्याङ गर्जे झैँ गर्जिइन। उनको अर्को थप्पड गालामा बज्रिदा सम्म पनि मैले बुझ्नै सकिनँ, त्यो थप्पडको करण के थियो र उनी के भन्दै थिइन्।

“मेरी छोरीको बदनामी हुने भएर पो नत्र त पुलिस बोलाउँथेँ म। बास्टर्ड। अझै हिम्मत हेरन डाँकाको, कसरी फर्केर आउन सकेको होला त्यसरी लघार्दा पनि?” उनी कड्किँदै थिइन।

लघारेको ? मैले जिल्ल पर्दै अनन्यातिर हेरेँ। उसको अनुहारमा कुटिल भाव उम्रियो एकै क्षण। उसले मतिर आँखा झिम्काई त्यस पछि ऊ दुवै हातले मुख छोपेर पूर्ववत् सुँकँसुँकाउन थाली।

“तर म्याडम..म त…”

“तँ निस्की…निस्की हाल मेरो घरबाट… नत्र म पुलिस बोलाउँछु।” उनले मतिर हात हल्लाउँदै भनिन्। म फेरि पनि आफ्नो सफाइ दिने कमजोर कोसिस गरिरहेँ तर उनले मेरो कुनै कुरा सुन्न चाहिनन् र म भन्दा आधा उमेरको घरमा काम गर्न राखेको केटोलाई डाकेर मलाई गलहत्त्याएर बाहिर निकाल्ने आदेश दिइन। बिचरो ऊ अनुहारमा म प्रति सहानुभूति बोकेर मलाई बाहिर धकेल्न थाल्यो। लाचारीले हलुका बनाएको म, त्यो फुच्चेको धक्कालाईले धकेलिएर बाहिर निस्किएँ।

निकै बेर म बन्द ढोकाको अगाडि यस आसमा उभिइरहेँ कि अनन्याकी ममीले ढोका खोलेर मैले ट्युसन पढाएको फिस मतिर फाल्नेछन् या उनको काम गर्नेले लिएर आउनेछ। यो आस भन्ने कुरा पनि गरिबहरूको डिक्सनेरीमा मात्रै हुन्छ सायद। धनीहरू त मनले चाहेको प्राप्त गर्छन्। हामी आस गर्छौँ जुन पुरा भए भाग्य, पुरा नभए दुर्भाग्य अनि जुन कुराको प्रतिफल भाग्य र दुर्भाग्यसँग गाँसिएको हुन्छ, त्यो कुराको प्राप्तिको कुनै टुङ्गो हुँदैन।

मन र खुट्टाको निक्कै लामो द्वादश पछि म त्यहाँबाट अघि बढेँ।  कहाँ जाऊँ ?  सारा बाटो बन्द देखेँ मैले।

दुई दिन म कोठाबाट बाहिर  निस्किनँ। न भोक लाग्यो न प्यास। म्याडमको अपमानले भन्दा पनि त्यति मेहनतले महिनाभरि पढाएको पैसा नपाएकोमा धेरै मर्माहत थिएँ म। बेजति त कुन ठुलो कुरा भो र ? यो त जहाँ र जहिले पनि भएकै हुन्थ्यो तर त्यो पैसा नपाउनु सपना हराउनु जत्तिकै थियो मेरा लागि।

त्यतिखेर मलाई लाग्यो- कतिपय कुराहरूमा पुरुष बढी लाचार हुन्छन् सायद, महिला भन्दा।  महिलाहरूको इच्छा विरुद्ध कुनै पुरुषले केही गरे ‘अब्यूज’ ‘बलात्कार’ ‘हिंसा’ भनेर चिच्याउन त सक्छन्  उनीहरू ? कमसेकम होहल्ला त गर्न सक्छन् ? तर हामी ? हामी कसरी भन्न सक्छौ कुनै स्त्रीले हामी माथि हात हालेको कुरा ? जबरजस्ती गरेको कुरा ? कसले पत्याउँछ ? त्यसमाथि आफ्नो पौरुषको कुरा पनि त आउँछ ?

तेस्रो दिन बिहानै मेरो मोबाइल सकी नसकी चिच्यायो। हरि काकाको नम्बर देखेपछि मैले फोन नउठाई सुखै पाइनँ।

“दाइ! तैँले चस्मा पठाइनस्। बा हिजो राति दिसा बस्न जाँदा लड्नुभयो। तँलाई थाहै छ नि,  बा चस्मा नभै आँखा देख्नुहुन्न भन्ने कुरो। त्यै पनि… हरि काकाले खुट्टामा काम्रो बान्दिएका छन्। हिँडडुल नगर्नु भनेका छन्। आमा रोएर छुट्टी छ। बाले तँलाई केइ नभन्न भन्नुभाथ्यो, तैँले पिर गर्छस् भनेर। तँ कैले आउँछस् दाइ ?” भाइले एक सासमा भनिसिद्ध्यायो र मेरो जवाफै नसुनी फेरि थप्यो-“दाइ ! तँलाई आउन मिल्दैन भने’नि बाको चस्मा र आमाको बाथको औषधी तुरुन्तै आउने जानेको हातमा पठा है। लौ, मैले राखेँ। काका कराउन थाले।”

म एक छिन आँसु आँसु भएँ।

आँसु सुकेपछि उठेँ- अब फेरि कहिल्यै नरुने दृढ प्रतिज्ञा गर्दै।

मैले सोचेँ- ती चस्मा विहीन आँखाका सपना जीवित रहन आवश्यक छ। त्यही नरहे यो बाँच्नुको सार के ? अब केही न केही त गर्नै थियो मैले ती आँखाका सपनाहरूलाई बचाउन पनि, आफू बाँच्न पनि।

मेरो दिमागमा त्यतिखेर जे थियो त्यो गर्नका लागि पैसा चाहिन्थ्यो। तर फेरि, पैसा केका लागि चाहिन्थेन र ?

म आफ्नो पुरानो मोबाइल बेचेर केही पैसा हात पार्ने आस होइन, विश्वास लिएर तीन दिनपछि घरबाट बाहिर निस्किएँ।

बाको चस्माले दुनियाँ हेर्न र सपना देख्न सिक्दै हुर्केको मैले जिन्दगीले जे दियो त्यो पर्याप्त नभए पनि त्यसैमा खुसी हुन जानेको थिएँ तर बिना अपराध चुपचाप सजाय भोग्नु कुनै बहादुरी त थिएन ? बाको चस्माले सही देखाएको दृश्य/सपना मेरा आँखाले फरक र गलत देख्न थालेको धेरै समयपछि मैले निधो गरेँ- अब म त्यो चस्माले देखाएको बाटोमा आँखा चिम्लेर हिँड्दिनँ। हिँड्नेछैन।

आधारातपछि बाग्मतीको पुलछेउमा अडिएर मैले आज दिउँसो मात्रै फुटपाथबाट किनेको नयाँ हुडीको जम्पर र कालो चस्मालाई लोभलाग्दो आँखाले हेरेँ एकै छिन र मन बलियो परेर बाग्मतीको छातीमा विसर्जित गरिदिएँ। अब म ढुक्क थिएँ। अगाडि जे त होला।

अर्को दिन अनन्या र उसकी ममी पुलिसमा रिपोर्ट लेखाउँदै थिए-“कसैमाथि शङ्का छ ?” सब‍इन्स्पेक्टरले सोध्यो।

“खै को माथि शङ्का गर्नु र? अहिलेसम्म कहिल्यै यस्तो भा’थिएन। हिजै हामी घरमा थिएनौँ। हिजै अनन्या साथीको घरबाट ढिलो ढिलो फर्की। हिजै घरछेउमा कसैले उसको ब्याग थुतेर भाग्यो। दशा लाग्या रहिछ भनौँ न। नत्र त अनन्या त्यति बेला सधैँ घरमा ट्युसन पढिरहेकी हुन्थी ।” ममी चाहिँले भनिन्।

“मास्टर हिजो किन आएन त?” प्रश्न सोधियो। आमा छोरीले एक्कै छिन हेराहेर गरे।

“महिना मर्‍यो। अब आउन सक्तिनँ भन्यो। उसको मर्जी।” जवाफ ममीले दिइन्।

“भरोसा गर्ने लायकको थियो?” फेरि सोधियो।

यस पटक अनन्या बोली, ” सर ! उसमाथि शङ्का गर्नु बेकार छ। झिँगा मार्ने हुती नभएको मान्छेले मेरो ब्याग के थुत्थ्यो ? त्यसमाथि पनि  ब्याग थुत्नेले स्टाइलिश हुडीवाला ज्याकेट लगाएको थियो। अँध्यारोमा पनि डार्क ग्लासेस् लगाएको थियो। त्यो सिधासाधा पढाकु सरसँग त एउटा खुइलेको सर्ट बाहेक अरू केही छँदै थिएन। सधैँ त्यै लगाएर आउँथ्यो। कसैको आँखामा हेरेर बोल्ने हिम्मत नभएको त्यस्तो लाछी मान्छेले कसरी त्यत्रो हिम्मत गर्न सक्छ ?”

ममी चाहिँ  मुखले केही बोलिनन् तर उनको अनुहारमा पूर्ण सहमति लेखिएको थियो।

सबइन्स्पेक्टर एकै छिन घोरियो।

“सधैँ त्यति धेरै पैसा साथमा राख्नुहुन्छ?” उसले सोध्यो।

“अचेल बिस तीस हजार कुन ठुलो कुरो होर?” ममीको अनुहारमा दम्भ झुल्कियो, ” त्यसमाथि साथीको बर्थडेको लागि गिफ्ट किन्नु थियो हाम्री अनन्यालाई!” उनले छोरीको काँधमा स्पर्श गर्दै भनिन्, “यौटै त छोरी छ हाम्रो।” फेरि गर्वपूर्वक थपिन, ” यसको ड्याडी आइएनजीयोमा काम गर्नहुन्छ।”

सबइन्स्पेक्टर असहाय भावले टाउको हल्लायो।

अर्को हप्ताको अन्त्यतिर म बडो आत्मविश्वासका साथ त्यही निलो सर्टमा सजिएर, बाको लागि त्यही सुनौलो फ्रेम भएको चस्मा, आमाको बाथको औषधी र सबैको लागि न्यानो सिरक बोकेर गाउँतिर लागेँ। त्यस बेला मेरो चाल ढालमा यति परिवर्तन आएको थियो- यदि म कुनै इन्टरभ्युका लागि गएको भए पक्कै पास हुने थिएँ।

गाडीबाट ओर्लेर गाउँतिर लागेपछि बाटोमा पर्ने खोलाको छेउमा अडिएर मैले झोलाबाट अनन्याको रित्तो ह्याण्ड ब्याग  झिकेँ र खोलाको खोँचमा अलि परै पुग्ने गरी यसरी हुत्त्याएँ, मानौँ त्यो सँगसँगै मैले आफ्नो लाचारी, कमजोरी र कम्मरसम्म झुकाउने बाध्यतालाई पनि खुर्केर फालेँ। सही त्यति बेला सम्म मात्रै सही रहन्छ जबसम्म त्यसलाई निमोठेर गलत बनाउने कोसिस गरिन्नँ र सहीका लागि अधिकार खोसिनु जत्तिको गलत अरू कुनै कुरा हुन सक्दैन।

******

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सानु शर्मा का अन्य पोस्टहरु:
कथाः बाको चस्मा (म)
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link