“नमस्कार भाउजू !”
लगभग पाँच वर्षपछि यो सम्बोधन सुन्दै थिएँ म। मेरो सामुन्ने आकाशको अभिन्न मित्र उभिएका थिए। जिन्दगीमा किन त्यही मात्रै हुन्छ जुन हामी कहिल्यै नहोस् भन्ने चाहन्छौँ? मैले आकाशसँग गाँसिएका हरेक कुरासँग पिछा छुटाउन घर छोडेँ। सहर, सम्बन्धी र देश छोडेँ तर पनि कहीँ न कहीँ कोही न कोही निस्किहाल्छ मलाई उनीसँग जोड्ने।
एक मनले सोचेँ-मज्जाले झपारौँ मेरो सामुन्ने उभिएका आकाशको मित्रलाई, तर सकिनँ। उनको के गल्ती थियो र? जोसँग गुनासो थियो उसैलाई झपार्ने हिम्मत नभएकी म उनलाई कसरी झपार्थेँ, केवल ‘भाउजू’ भनेर बोलाएको भरमा ?
“भाउजू ?” मेरो सामुन्ने बसेकी मायराले आश्चर्य पूर्वक मलाई हेरिन्। मैले ओठ नजिक पुर्याएको कफीको कप फिर्ता टेबलमा राखेँ र भनेँ, “एक्कै छिन है मायरा।” अनि आकाशको साथी पवनसँग सम्बोधित भएँ, ” तपाईँ प्लिज एक मिनेट मसँग आउनुस् त।”
उनी आश्चर्यचकित हुँदै मेरो पछि पछि आए। म गएर अलि छुट्टै भएको एउटा टेबल सँगैको कुर्सीमा बसेँ।
“मैले गलत समयमा डिस्टर्व गरेँ जस्तो लाग्यो भाउजू, सरी !” उनले मेरो सामुन्ने बसेर केही हिचकिचाउँदै भने।
“त्यस्तो केही होइन पवनजी।” उनले छक्क परेर मलाई हेरे। मैले उनलाई कहिल्यै त्यसरी नाम लिएर बोलाएको थिइनँ। मैले त आकाशका कुनै साथीलाई नाम लिएर बोलाएको थिइनँ। किनभने आकाशले मन पराउँथेनन् र उनको साथमा हुँदा मैले त्यही मात्रै गरेँ जुन उनलाई मन पर्थ्यो।
“तपाईँहरू पनि यतै हुनुहुन्छ, मलाई थाहै थिएन।”उनले अलि अप्ठ्यारो मानेझैँ गरी भने।
म केही बोलिनँ।
उनैले थपे, “अनि आकाशलाई कस्तो छ? बाबु त ठुलो भयो होला हगी? अर्को बच्चा बच्ची पनि छन् कि ?”
“हामी अलग भएको धेरै भइसक्यो। बाबु पनि उनैसँग छ।” मैले दुई टुक भनिदिएँ।
यस्तै यस्तै प्रश्नहरूसँग भाग्दा भाग्दै मलाई लाग्न थालेको थियो-म धरतीको किनारसम्म आई पुगेको छु। यस्तो लाग्न थालेको थियो- अब मेरा लागि अर्को कदम बढाउने ठाउँ नै छैन। अगाडि धरती सकिएको छ, पानी पानी छ जताततै। अब एक कदम अघि बढाए मेरो डुब्नु निश्चित छ। सोचेरै मलाई आफू निसास्सिन थालेको अनुभव भयो। मैले लामो सास फेरेँ।
“हो र ?” उनी आश्चर्यको अधिकतामा झन्डै कुर्सी छोडेर उठे। म केवल लामो लामो सास फेरी रहेँ।
“तपाईँहरूको जोडी त उदाहरणीय थियो भाउजू, अरूको लागि। के भयो त्यस्तो कि…”
“भाउजू नभन्नुस् प्लिज !” मैले तिक्त स्वरमा भनेँ। के हुनुपर्छ डिबोर्ष हुनलाई? कस्तो अवस्था आएपछि डिभोर्स हुनुपर्छ? के भएको हेर्न चाहन्छन् मान्छेहरू? के चाहेका हुन्छन् मान्छेहरूले डिबोर्सीहरूसँग? म बिरक्तिएँ।
“ओहो ! कहिल्यै कुनै नराम्रो कुरा सुनिएन तपाईँहरूको बारेमा। तपाईँहरू खुसी हुनुहुन्थ्यो। आकाश पनि त अरू हरू जस्तो छैन। सिधा साधा मान्छे, छक्का पन्जा जान्दैन। राम्रो पोस्टमा काम गर्छ। राम्रो कमाउँछ…”
“प्लिज !” चिच्च्याउन मन लागेको थियो तर मैले सामान्य स्वरमा भनेँ,” पवनजी ! यी सबै कुराहरू मलाई थाहा छ तर अब मेरो लागि औचित्यहीन छ। हामी कानुनी रूपमा अलग भएको धेरै भइसक्यो। त्यसैले यी सब कुरा दोहर्याउनुस्। प्लिज।” म उठेँ।
“सरी !” उनी पनि हडबडाउँदै उठे।
मैले हात जोडेँ, ” मेरो ब्रेक सकियो। नमस्ते !” म फरक्क फर्केर अघि बढेँ।
मायराको छेउमा पुगेर मैले टेबलबाट आफ्नो पर्स उठाउँदै भनेँ, “मायरा ! तिमी बस्छ्यौ भने बस तर म गएँ।”
“वेट ! आ’म कमिङ विथ यु।” उनले मेरो पछाडि लम्कँदै भनिन्।
मैले फर्केर हेरिनँ।
“यो ठाउँमा पनि तिमीलाई साइनो लाउनेहरूले छोडेनन् हगी।” मायराले मेरो पछि पछि लम्कँदै सोधिन्, ” अब के गर्छ्यौ ?”
“अब पुग्यो ! अब भाग्दिनँ। अब जवाफ दिन्छु।” मैले दृढ स्वरमा भनेँ।
“प्रतिक्रिया झेल्न सक्छ्यौ ?” उनले सोधिन्।
“झेलेकै त छु। अब अरू के गरूँ? यसले पनि गएर अरूसँग के के भन्नेछ, कस्तो कस्तो कहानी सुनाउने छ-त्यो मलाई थाहा छ। तर यसले नराम्रो भन्ला भनेर के गरूँ? फेरि आत्महत्याको कोसिस गरूँ ?” मैले फर्केर उनलाई हेरेँ।
” बहुलायौ कि के हो ?” उनले अघि बढेर मलाई अँगालेर भनिन्,“लोग्ने मान्छेहरूले केही भने त लौ ठिक छ, उनीहरूले बुझेनन् भनेर चित्त बुझाउन सकिन्छ। तर, स्वास्नी मान्छेहरू समेत हात धोएर पछि परेको देखेर पो दुःख लाग्छ। किन यिनीहरू आफूजस्तै महिलाकै घाउको गहिराइ देख्दैनन्? आफूजस्तै अरूलाई बदनाम गर्दा, दुखाउँदा किन मजा लाग्छ यिनीहरूलाई ?” उनले अपसोचपूर्ण स्वरमा भनिन्।
“सबैलाई एकै ठाउँमा नमुछ त। तिमीजस्ता पनि त छन्, जो मेरो आँखाको आँसुमा मिसिएर बगिदिन्छन्। मेरो पिडामा म सँगसँगै निसास्सिन्छन्।” मैले भनेँ।
“छोड !” उनले मलाई पर धकिलिन र आँसुले डम्म भरिएका आँखा पुछिन्। यस पटक मैले अघि बढेर उनलाई अँगालेँ।
“तिम्रो कुरा भिन्नै छ मायरा। तिमी यहीँ जन्मियौ, यहीँको परिवेशमा हुर्कियौ सायद त्यसैले तिम्रो सोच फरक छ…”
“रियली ?” उनले मलाई आफूभन्दा पर धकालेर कम्मरमा हात राखेर मतिर हेरिन्,” वेल, लेट मी टेल यु समथिङ -जतिसुकै पुस्ता यहाँ बिताए पनि हाम्रो मानसिकता आज पनि उस्तै छ। नेपालमा जस्तै। आफ्नो सुभिदा अनुसार फराकिलो र साँघुरो हुने। अरूको मामलामा हामी सिङ्गो नेपाल साथमा बोकेर हिँड्छौ तर आफ्नोलागि अमेरिका निवासी, फरक सोचाइको बनिदिन्छौँ। भाउजूले/बुहारीले डिभोर्स मागेँ उसको चरित्रमा औँला उठाउँछौँ तर आफूलाई चाहिए दयाको पात्र बनेर समाज सामु उभिन्छौँ। हिप्पोक्रेसी हाम्रो रगतमै छ गीत !” उनले भनिन्। म केही नबोली लामो लामो सास तान्दै चुपचाप हिँडिरहेँ।
००००
आकाश र मेरो बिहेलाई लभ म्यारिज वा एरेन्ज म्यारिज भन्न मिल्थेन। हाम्रो बिहे चिनजानको बिहे थियो। दाइको बिहेमा भाउजूका चिनजानका आकाशले मलाई देखेर मन पराएर भाउजूसँग सोधखोज गरेका थिए। त्यही सोधखोजको फेर समातेर भाउजूको परिवारले मेरो घरमा कुरा चलाएपछि आकाशको दुई वटा कुरालाई निक्कै प्राथमिकता दिइयो-सरकारी जागिरे। राम्रो चाल चलन भएको।
दुवै परिवारको मध्यस्थतामा हाम्रो भेटघाट भयो।
उनलाई म मन परेकी थिएँ तर मलाई उनी त्यति साह्रो मन परेनन्। साधारण रङ्ग रूपका उनी म भन्दा होचा थिए। कुरा गर्न खासै ढङ्ग थिएन। भन्न त भाउजूले ‘खुब पढेलेखेका’ भन्नु भा थ्यो तर उनको बोलाई र व्यवहारमा त्यो पढाई कतै झल्कन्थेन।
मैले घरमा त्यही कुरा गरेर चित्त नबुझाएपछि परिवारका सबै जना म माथि जाई लागे।
“बरा ! गाउँमा हुर्के, बढे,पढेका मान्छे र’छन्। यो सहरका उरन्ठ्याउला साथीहरूसँग उठबस गरेकी तँलाई, के मन पर्थे त ?” आमाको सहानुभूति आफूले जन्माएको सन्तानको भागमा नपरेर त्यो पराईको भागमा पर्यो।
“सरकारी जागिरे। त्यत्रो ठुलो पद, पैसा र पावर !” बुवाले सारा हिसाबकिताब लगाउँदै भन्नुभयो-“पहाड घर जा भएनी के भो? परिवार जत्रो भएन केभो? तैँले बेहोर्नपर्नि होइन क्यारे !”
“जाँड, रक्सी, चुरोट खाँदैनन्।जुवा तास खेल्दैनन्। खराब सङ्गतमा छैनन्।” नयाँ नयाँ भित्रनुभएकी भाउजूले सानो स्वरमा थप्नुभयो।
“तर हाम्री गीतसँग कुनै जोड छैन !” दाइ भने अलि हिचकिचायो, “बहिनीभन्दा होचा रहिछन्।”
“के भो त ?”बुवा आमाले एक स्वरमा भन्नुभयो-“छोरा मान्छेहरूको त पौरख पो हेर्ने हो त ! अरू केमा कम छन्? यत्तिको केटालाई छोरी नदिएर अरू को खोज्न जानू ?”
मैले लगातार विरोध गरिरहेँ तर अहँ-कोही पनि मेरो कुरा सुन्न राजी नै भएनन्।
छोरीहरू जुनसुकै ठाउँका हुन् उनीहरूको स्थिति लगभग एक समान नै हुन्छ। नत्र के, मास्टर्स गरिरहेकी, काठमान्डुको मुटुमा स्वतन्त्रतापूर्वक सास फेरिरहेकी मलाई आफ्नै जीवन साथी रोज्ने स्वतन्त्रता हुन्थेन र? विदेश जाने जोसका साथ कस्सिएर पढाइमा लागेकी मेरो कुनै ब्वाइफ्रेण्ड पनि त थिएन? मेरो दुर्भाग्य ! नत्र त म कुनै पनि हालतमा आकाशसँग बिहे गर्ने थिइनँ होला।
साधारण बिहेको माग पनि आकाशकै थियो। मेरा आमा बुवा खुसीले गदगद भए। मेरो भने धूमधामसँग बिहे गर्ने सपना पनि तुहियो। मलाई उनीसँग उत्पात रिस उठ्यो। दुवै परिवारमा कुनै कुराको कमी थिएन फेरि किन मन्दिरमा फूल माला लगाएर बिहे गर्ने घोषणा गर्न परेको होला उनलाई? सायद मपाईँ भएर देखाउनु उनको मन पर्ने आदत थियो।
बिहे भएर उनको घरमा भित्रिएको दिन मेरो भाग्यलाई सराउने, ईर्ष्या गर्नेहरूको जमात देखेर एक छिन त मलाई पनि लाग्यो- राम्रै घरमा परेछु सायद। सासू, ससुरा र बाँकी परिवारको व्यवहार देखेर मनले गुनासो गर्न पनि बिर्सियो। तर फेरि त्यो मेरो भ्रम मात्रै साबित भयो। ‘जुन कुरा अस्वाभाविक रूपमा राम्रो देखिन्छ त्यसमा केही न केही खोट पक्कै हुन्छ’ भनेर कतै पढेको कुरा आकाशको साथमा बितेको पहिलो रातले नै साबित गरिदियो। पहिलो रात नै मेरो मन चकनाचुर भएर यस्तरी फुट्यो, त्यो फेरि कहिल्यै जोडिन सकेन। उनको म प्रतिको व्यवहार कुनै कोणबाट पनि सभ्य मान्छेको जस्तो थिएन। पहिलो रात नै त्यति कठोरता पूर्वक पेस हुने पुरुषले भोलि कस्तो व्यवहार गर्नेहुन्- त्यसको खाका प्रस्ट थियो मेरो सामु।
माइतमा गुनासो सुनिदिने कोही भैदिएको भए म भोलिपल्टै घर छोडिदेन्थेँ तर आकाशको सरल व्यक्तित्वको प्रभावमा चुर्लुम्म डुबेका मेरा आमा बाउलाई म मेरो टोकिएको, चिथोरिएको र नीलडामले भरिएको शरीर देखाउन सक्तिनँ, मैले बोलेका कुनै कुरामा उनीहरूले कान देलान्-मलाई विश्वास थिएन। यदि मेरो माइतमा मेरो पक्षमा उभिने कोही भैदिएको भए म त्यति सजिलै सम्झौता गर्ने थिइनँ तर मेरा घरकाहरू नै आकाशको गुणगानमा लागेपछि मैले विकल्पको बाटो देखिनँ।
बिस्तारै बिस्तारै मैले बोल्न छोडिदिएँ। मुख खोलेर पनि यही सब कुरासँग सम्झौता गर्न पर्ने हो भने के फाइदा थियो मुख खोलेर?
सायद आकाशलाई आफ्नो होचो कदको राम्रै कम्प्लेक्स थियो त्यसैले उनी आफ्ना अरू खुबीहरूको झ्याली पिटाई रहन्थे। आफूलाई सर्वश्रेष्ठ सावित गर्न आकाश पाताल जोडिरहन्थे। कति पटक उनको त्यो कोसिस हास्यप्रद मात्र नभएर लज्जाजनक नै हुन पुग्थ्यो तर उनी थिए कि कुरै बुझ्न चाहन्थेनन्।
बिहे गरेको दोस्रो वर्षमै सन्तान जन्माउने पक्षमा थिइनँ म तर अँहँ आकाशलाई कसले सम्झाओस्? त्यसमाथि सम्झाएर बुझ्ने नियत कहाँ थियो र उनको? खास गरी मैले भनेका कुनै पनि कुरामा कान दिन उनलाई आफ्नो पौरुषको अपमानजस्तै लाग्थ्यो। बिहे भएको मिति देखि मलै सधैँ उनैको मान्दै आएकी थिएँ, अहिले पनि मान्न बाध्य भएँ।
छोरो जन्मेपछि मेरो पिएचडी गर्न विदेश जाने सपना यसै तुहियो।
जिन्दगी अब दिन कटाएर बुढो हुने र एक दिन यत्तिकै मर्ने दिनचर्यामा परिणत भयो। केही गर्ने जोस र जाँगर सेलायो। अब जीवन एउटा बाध्यता बाहेक अरू केही थिएन, जसलाई बाँचिरहन यस कारण आवश्यक थियो किनकि यसलाई आफ्नो इच्छा अनुसार लम्ब्याउन या छोटाउन मिल्थेन।
ममा आएको त्यो परिवर्तन अरूले देखे पनि नदेखे पनि दाइले देख्यो सायद। एक दिन म माइतमा हुँदा उसले चिन्तित भावले सोध्यो-“ के भएको छ गीत तँलाई? तँ त अर्कै पो भइस् त? सबै ठिकठाक छ नि, होइन ?”
“के हुनु नि अरू ?” जवाफ आमाले दिनुभयो-“ तेरी बहिनीको बिहे भयो। घरबारे भई ऊ। अब पनि पहिलेझैँ हाहा हीही गरेको सुहाउँछ र उसलाई ?”
मैले आमातिर हेरेँ। सोध्न मन थियो-‘साँच्चै आमा, छोरीले बिहे भएपछि हाँस्न, बोल्न, खुशी हुन छोड्नपर्छ र? तर दाइ त बिहेभन्दा पहिले जस्तो थियो-उस्तै छ अहिले पनि? हाँस्छ, बोल्छ, साथीभाइको साथमा बसेर हल्ला खल्ला गर्दै बियर पिउँछ पहिलेझैँ, भने, मैले चूप हुन किन जरुरी छ? आफ्नो इच्छा जताउन, मुस्कुराउन, घुर्की लगाउन, मन लागेको गर्न किन बन्देज ममाथि ?’ तर केही भनिनँ। चुपचाप उठेर हिँडिदिएँ।
मेरो वैवाहिक जीवनको सबैभन्दा ठुलो त्रासदी थियो शारीरिक सम्बन्धप्रति आकाशको पाशविकताको हदसम्मको चाह ! ऊ सहमतिको, सामान्य शारीरिक सम्बन्ध होइन, जबरजस्तीको मनपरीको शारीरिक सम्बन्ध मन पराउने खालको मान्छे थियो। एक रातमा कैयौं पटक मसँग जबरजस्ती गर्थ्यो। जति म मर्माहत हुन्थेँ, दुख्थेँ, असहमति जनाउँथेँ उति ऊ उत्तेजित, रोमाञ्चित हुन्थ्यो। उसको त्यो खालको शारीरिक सम्बन्ध प्रतिको आशक्ति सामान्य कदापि थिएन त्यसैले म उसलाई बारम्बार साइकायट्रीक्स सँग कुरा गरेर परामर्श लिन आग्रह गर्थें तर ऊ मलाई गाली गरेर, आरोप लगाएर चुप लाग्न बाध्य तुल्याउँथ्यो।
“लोग्ने स्वास्नीको बिचमा हुने शारीरिक सम्बन्धको बारेमा परामर्श लिन दिमागको डाक्टरकोमा को जान्छ? तँलाई आफ्नो लाग्नेको जिन्सी आवश्यकताको वास्ता छैन भने तँ जा र दिमाग ठिक गरेर आइज !” उनी भन्थे। म उनको सधैँको जबरजस्तीले यति सम्म आजित भएकी थिएँ- आत्महत्याको ख्याल मनमा बलवान हुन थालेको थियो। मुख फोडेर ‘लोग्नेले सधैँ जबरजस्ती गर्छ’ भनेर कसैसँग भन्न पनि सक्तिनँ, त्यसैले चुप बस्थेँ। तर मन पाकिरहन्थ्यो। छड्की रहन्थ्यो। जुन कुरा कसैसँग बाँड्न सकिन्थेन, त्यसैको भारी झन् गह्रुङ्गो हुने रहेछ। त्यसमाथि यहाँ त अर्काले गरेको जबरजस्तीको त कुनै सुनवाइ हुन्थेन भने, उनी त लोग्ने थिए। औडाह र छटपटीले भित्रभित्रै पाक्दा पाक्दै मलाई कहिलेकाहीँ बहुलाउँछु जस्तै लाग्न थालेको थियो।
म जस्तो पढेलेखेको, सभ्य समाजको यौटा यस्तो अङ्ग जसलाई गलत र सहीको सीमा थाहा थियो तर बारम्बार त्यो सीमा मिचिदा, अतिक्रमण हुँदा कतै गएर आफ्नो अधिकारको लागि लड्न यही समाजले छेकबार लगाउँथ्यो। कस्तो विडम्बना यो? हामीलाई अधिकार त दिइन्थ्यो तर त्यो आधिकारसँगै त्यसलाई प्रयोग गर्न नसक्ने लाचारी पनि जोडिएको हुन्थ्यो। कहाँ गएर रिपोर्ट लेखाउन सक्थेँ म, लोग्नेले हरेक रात गर्ने जबरजस्तीको? शारीरिक र मानसिक बलात्कारको? पिडाको? उसको प्रताडना र पाशविकताको? घर र माइतीको इज्जतको गह्रुङ्गो भारी बोकेर समाजमा उभिएकी म र म जस्तै अरूहरू महरूको मुखमा त्यही इज्जतको निसास्सिने बुजो थियो ! कसरी चिच्याउन सक्थ्यौँ र हामी? यदि त्यो बुजो फालेर चिच्याउने हिम्मत गरौँ भने त्यो चिच्च्याहटको प्रतिक्रिया दुवै परिवारमा देखिन्थ्यो। उत्तिखेरै ! भैंचालोसँगै सुनामी उर्लन्थ्यो र तहसनहस भएका सारा सम्बन्धहरूको जिम्मेवारी हाम्रै खातामा लेखिन्थ्यो। आरोप प्रत्यारोप र बदनामीको भारी यस्तरी बोकाइन्थ्यो हामीमाथि-हामी त्यही बोझले थिचिएर घिडघिडो भएर मर्न बाध्य हुन्थ्यौँ। या बहुलाउँथ्यौँ। यही विकल्प छोडेको थियो समाजले हाम्रालागि। त्यसैले समाजका अरूहरू म जस्तै म पनि चुप थिएँ। तर आफ्नो चुप्पीसँग यस्तरी निसास्सिएकी थिएँ-या त म सास रोकिएर मर्ने थिएँ या बिस्फोट हुने थिएँ। आफैँ मरेँ भने त कसैलाई केही फरक पर्थेन तर यदि विस्फोट भएँ भने त्यसले पुर्याउने क्षतिको बारेमा सोचेर डराउँथेँ म।
हाम्रो बिहे भएको तेस्रो वर्षको सुरुवातमा आकाशको भतिजो निरभ कलेज पढ्न भनेर काठमाडौँ आयो।
आकाशको तुलनामा निक्कै राम्रो, अग्लो, गोरो निरभलाई आफ्नो घरमा स्वागत गर्दा उनी त्यति खुसी भएझैँ लागेनन् मलाई। यसै पनि उनलाई घरमा हामी बाहेक अरू कोही भएको कहिल्यै मन पर्थेन। गाउँबाट सासू ससुरा वा परिवारका अरू सदस्य आउँदा म दङ्ग पर्थेँ तर उनी तिनलाई घरबाट भगाउने बहाना खोज्थे। यस्तोमा यहीँ बसेर कलेज पढ्न भनेर आएको निरभ उनलाई कसरी सह्य हुन्थ्यो र ?
मलाई भने नम्र, भलाद्मी देखिने/सुनिने निरभसँग घुलमिल हुन बेरै लागेन। उसको कोमल, मिठासपूर्ण बोलिचाली, सभ्य, सुघड व्यवहारले उसलाई मेरो त्यो सानो परिवारको सदस्य बन्न कत्ति बेर लागेन।
बिहे भएकै दिन देखि म ‘तँ’ भएकी हुँ आकाशका लागि। आफूलाई ‘हजुर’ ‘बक्स्योस्’ भनाउन जोर लगाउने उनलाई कुनै मतलबै थिएन मलाई उनको ‘तँ’ले कति हीन अनुभूत गराउँथ्यो भनेर। उनको मुखबाट आफ्नो नाम पनि एकदमै कम पटक सुनेथेँ मैले।
‘ओइ ! यो गर त’ या ‘ओइ याँ हेर ! यता सुन् त !’ भनेर काम चलाउने उनलाई ‘जाबो स्वास्नीलाई पनि के को ‘तिमी’ भनेर चेपारो पार्नु’ भन्ने लाग्थ्यो। म उनलाई सम्झाउने कोसिस गर्थेँ-‘कमसेकम अरूका अगाडि त तिमी भन्नुस् !’ तर अहँ, उनकै शब्दमा-उनलाई यो देखावटी गरेको पटक्कै मन पर्थेन। जबकि उनी आफू चाहिँ साथीभाइका अगाडि मलाई आफ्नो स्वास्नी होइन दासी बनेर उनको सामु हात बाँधेर, आँखा झुकाएर पेस हुन दबाब दिन्थे। ताकी उनी आफूले स्वास्नीलाई ‘ठेगानमा’ राखेको उद्घोष गरेर जुँगा मुसार्न सकुन्।
एक पटक अति भएपछि आमासँग गुनासो गर्न खोजेकी थिएँ तर उहाँले मेरो कुरा राम्ररी सुन्दैन सुनिकन भन्नुभयो-“ लोग्ने मान्छे सप्पै त्यस्तै हुन् क्या। आफ्नै बुवालाई हेर्न ! मसँग कहिल्यै मीठो मुखले बोलेको सुनेकी छस्? स्वास्नी मान्छे भएपछि सहनुपर्छ बाबै ! तर तिमरू आजकालका उरन्ठ्याउला केटीहरू पढाइका नाउँमा इस्कुल कलिचमा के के सिकेर आउँछौ कुन्नि, घरमा टिक्नै सक्दैनौ !”
कहिल्यै स्कुल कलेजको मुख नदेखेकी मेरी आमालाई यो थिचो मिचोले पुरुषलाई सर्वश्रेष्ठ र महिला लाई कमसल देखाउँछ भन्ने थाहै थिएन त्यसैले त उहाँकालागि त्यो सबै सहन सहज थियो तर विशिष्ट श्रेणीमा एमए पास गरेर विदेशमा पिएचडी गर्ने सपना देखिरहेकी मलाई थाहा थियो-त्यो व्यवहार गलत थियो तर पनि सहनुको विकल्प थिएन। यस्तो बेलामा मलाई सधैँ आमासँग ईर्ष्या लाग्थ्यो। हरे ! म पनि आमा जस्तै अनपढ, अशिक्षित भएको भए ! म पनि, नैतिक अनैतिक तरिकाबाट अकुत सम्पत्ति कमाएर काठमाडौँमा घरबार जोडेर, आफूलाई ड्राइभ गर्न नआए पनि यौटा गाडी किनेर त्यसलाई चलाउने ड्राइभर राखेर त्यो ड्राइभरलाई झैँ मलाई पनि ‘ओइ ! याँ सुन त’ भनेर सम्बोधन गर्ने लोग्नेको एकोहोरो, उसको मात्रै शारीरिक भोक मेटाउन उसको तल सुत्दा हीनताबोध हुने थिएन होला। मलाई पनि आमाले जस्तै त्यो लोग्नेको खुट्टा पखालेको पानी पिउनु अहोभाग्य अनुभूत हुने थियो होला। तर आकाश जत्तिकै पढेलेखेकी, उनी भन्दा सेन्सेवल म त्यो सबै सहनुपर्दा आफूलाई बारम्बार ह्यूमिलिएट फ़िल गर्थेँ। उसो त मेरो कुनै ठुलो माग पनि थिएन उनीसँग। अलिकति इज्जत, अलिकति आफ्नोपन र अलिकति आफ्नो इच्छा अनुसार सास फेर्ने स्वतन्त्रता बाहेक अरू मलाई केही चाहिएको पनि थिएन। तर मलाई केवल शरीर मात्रै देख्ने मेरो लोग्नेलाई मनसम्म पुग्ने इज्जतको बाटै थाहै थिएन। स्वास्नी मान्छेलाई पनि इज्जत चाहिन्छ, मान चाहिन्छ भन्ने कुरा थाहै थिएन उनलाई ! कुन्नि कस्ता कस्ता किताब र कस्तो स्कुल कलेजबाट पढेर ‘शिक्षित’ मानिएका थिए उनी ?
आकाश भतिजोको आगमनले कत्ति खुसी भएका थिएनन्। त्यसमाथि निरभ र मेरो कुरा मिलेको देखेर त उनको व्यवहार म प्रति झनै आक्रामक हुँदै गयो। खै किन हो कुन्नि उनलाई निरभ र मेरो घुलमिल पटक्कै मन पर्थेन। उनलाई त छोराले निरभलाई पछ्याएको पनि मन पर्थेन। भतिजोलाई औपचारिकता बस केही भन्न सक्थेनन् त्यसैले ऊसँगको रिस पनि मैमाथि पोख्थे उनी।
बिस्तरै बिस्तरै निरभ हाम्रो सम्बन्धमा देखिएको खल्लोपना र उदाशिनता देखेर यस बारेमा खोतली खोतली कुरा केलाउन थाल्यो। भरिएर झुसी भएकी म उसको सहानुभूति र ‘कठै’ले पग्लिएर, उसलाई शुभचिन्तक मानेर ऊ सामु छताछुल्ल भएर यस्तरी पोखिएँ-आकाशको जबरजस्ती र पाशविक व्यवहारका बारेमा समेत ढाकछोप नगरी सुनाइदिएँ। सुनेर उसले बडो सहानुभूति देखायो। काकाको व्यवहारको लागि दु:ख मनाउ गर्यो। उसको त्यो टिठाईले मेरो मनको घाउमा मलहम लागेझैँ भयो तर त्यो राहत क्षणिक थियो। लोग्नेले त कुनै महत्त्व नदिएको मेरो दु:खाईको त्यो बिरानोले परवाह गर्ला भनेर कुन्नि कसरी सोच्न सकेँ मैले ?
उसको सहानुभूतिले खाटा बसेझैँ भएको मेरो मनको घाउलाई एक दिन उसैले झिरले उधिनी दियो !
त्यसपछि पो मलाई लाग्यो-कत्रो ठुलो गल्ती भएछ म बाट। मैले भनेका कुराहरूलाई हतियार बनाएर ऊ मलाई ब्ल्याक मेल गर्न थाल्यो। मैले ऊसँग उसको इच्छा अनुरूपको व्यवहार नगरे ऊसँग गरेका सारा कुरा काकालाई सुनाइदिने धम्की दिन थाल्यो। साँच्चै हो रहेछ-कुरा आफूसँग राखुन्जेल मात्रै व्यक्तिगत हुन्छ, आफ्नो हुन्छ तर अरू कसैलाई सुनाएपछि त्यो अरूकै हुन्छ, सार्वजनिक हुने रहेछ। आफ्नो कमजोरी अरूलाई देखाउनु भनेको अरूलाई आफ्नो फाइदा उठाउने बाटो देखाउनु रैछ। यदि मैले आफ्नो कमजोरी उसलाई नदेखाएकी भए उसको हिम्मत कदापि हुने थिएन होला मलाई त्यस किसिमको व्यवहार गर्ने तर अब पछुताउनुको विकल्प थिएन।
आकाशको पाशविकताले नै पुरुषदेखि बिरक्तिएको मेरो मन, अहिले त झन् घृणाको फ्याक्ट्री भएको थियो। आफ्नै छोरालाई काखमा लिँदा पनि मनको घृणा मत्थर हुन्थेन। मलाई उसप्रति पनि त्यो आकर्षण र न्यानोपना जाग्थेन, जुन कोखको सन्तान प्रति जाग्नुपर्थ्यो। आखिर छोरा मान्छे न थियो? भोलि यसले पनि म जस्तै अर्को कुनै म लाई यसै गरी दुखाउनेछ जसरी यसको बाउले मलाई दुखाइरहेको छ। जसरी निरभले मलाई रुवाएको छ। यही सोचले चिथोरी रहन्थ्यो मन। छन् त यति विवेक मसँग पनि थियो कि म जे सोचिरहेथेँ त्यो सही थिएन। यौटा दुई वटा लोग्ने मान्छेको गलत व्यवहारको जिम्मेवारी सबै लोग्ने मान्छेलाई बोकाउनु मूर्खता थियो मेरो। तर मेरो चोट र पीडाले मलाई अरू केही सोच्न सक्ने अवस्थामा छोडेकै थिएन। मानौँ विक्षिप्त नै भएको थिएँ म। यौटै पुरुषको जबरजस्तीले बहुलाउन ठिक्क परेकी म, निरभको ब्ल्याक मेलले त्यही भएँ-जुन नहुन कोसिस गरिरहेकी थिएँ। आखिरमा परिस्थितिले मलाई विस्फोट गराएरै छोड्यो।
पहिले त आफैँलाई मार्ने कोसिस गरेँ तर मर्न सकिनँ। म अस्पतालबाट सिधै पुलिस चौकी पुर्याइएँ। त्यसपछि भने मेरो सारा डर हरायो। मैले आफूले आजसम्म बेहोरेको सारा सकसको नालीबेली पुलिसको सामु लगाएँ। मर्न खोज्नुको करण बताएँ। हल्ला खल्ला मच्चियो। त्यो हल्लाखल्लामा आकाश र निरभको स्वर यति चर्को थियो, मेरो स्वर कतै दबिएर सुनिन छोड्यो। झन् अझै मेरा बाउआमाले पनि आकाशलाई नै साथ दिएपछि त मेरो व्यथा, प्रताडनाको कुनै सुनवाइ हुने कुरै भएन।
मैले आकाशलाई छोडेँ भने मेरो मुख नहेर्ने चेतावनीसम्म दिन भ्याए मेरा जन्मदाताहरूले। यो कठिन समयमा जब मलाई उनीहरूको साथको सबैभन्दा धेरै आवश्यकता थियो तब उनीहरू मलाई छोडिदिने धम्की दिँदै थिए। तर अब मलाई कुनै कुराको परवाह थिएन। चौबाटोमा नाङ्गिइसके पछि अलिकति र धेरै नाङ्गिनुले के फरक पर्छ र?
आकाशसँग डिभोर्स मागेपछि उनले छोरो नछोड्ने अडान लिए। मैले उनलाई छोड्नका लागि छोरोलाई समेत छोडिदिने निर्णय गरेँ। मेरो परिवारका प्राय: सबैले छोरो छोड्न भन्दा बरु मिलेर बस्न दबाब दिए तर मैले कसैको सुनिनँ। मानिनँ। लामो आरोप प्रत्यारोपपछि आकाशको र मेरो डिभोर्स भएरै छोड्यो।
मेरा आमा बाउ, नातेदारहरूले मात्र होइन सारा समाजले मलाई नै दोषी ठहर्यायो। यस्तोमा आकाश र उसको परिवारले के बाँकी राख्थ्यो र? आकाशसँग मिलेर बस्न नमानेपछि मेरा बाउआमाले मलाई उनीहरूको घरमा छिर्न दिएनन्। सायद उनीहरूको मनमा कतै झिनो आस अझै बाँकी नै थियो कि उनीहरूले मलाई सहारा नदिए भने म आकाशसँग सम्झौताको लागि तयार हुनेछु भनेर ! तर मैले त उनीसँग मुक्ति पाउनका लागि कोख चिरेर जन्माएको छोरा सुद्धा छोडिदिएको थिएँ भने अरू कुन कुराले बाध्य पार्न सक्थ्यो र मलाई उनको साथमा बस्न ?
डिभोर्स पछि बेसहारा, बेघर र बदनाम भएकी म विक्षिप्त थिएँ। तर जब आकाशको चार वर्षसम्म लगातार चलेको पाशविकताबाट छुटकारा पाएको पहिलो रात साथीको घरको ओछ्यान मा एक्लै, आकाशको हातपात बिना सुतेँ-मलाई ती सारा आरोप लाञ्छना र मानसिक प्रताडना तुच्छ लागे। अब मेरो शरीर मुक्त थियो। मेरो थियो। म अब फेरि म भएकी थिएँ। सधैँ सधैँको जबरजस्तीको पीडा भोग्न नपर्ने सोचले मात्रै पनि मलाई फेरि जिउँदो बनाइदिएको थियो। म चार वर्षपछि पहिलो पटक निश्चिन्त भएर निदाएँ त्यो रात।
त्यसपछि केही समय लरखराएर सम्हालिएँ अनि आफ्नो खुट्टामा दह्रोसँग टेकेर उभिएपछि मैले आफ्नो पिएचडीको सपनालाई पखेटा दिएँ। र, देश छोडेर विदेश उडेँ।
आज म अमेरिकाको पब्लिक हेल्थ अर्गनाइजेसन अन्तर्गत एउटा कार्यालयमा काम गर्थेँ।
म, डाक्टर गीत ! अब म कसैको जबरजस्ती नझेल्न दृढ प्रतिज्ञै थिएँ त्यसैले बराबरीको सम्बन्धमा थिएँ। मायरासँगको सम्बन्धमा थिएँ म !
मेरो जीवनमा समावेश पुरुषले दिएको चोट यति कहालीलाग्दो थियो, मैले अरू कुनै पुरुषमाथि भरोसा गर्न डराएँ।
कहिलेकाहीँ मान्छेले ‘बिच’को बाटो स्वतन्त्रता पूर्वक रोज्दैनन्। समाज र सम्बन्धले बाध्य बनाउँछ त्यो ‘बिच’को बाटो रोज्नका लागि, जुन मैले रोजेकी थिएँ!
००००
श्रोत: आइएनएस-स्वतन्त्र समाचार