कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
उक्त घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ। प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ। घटनामा सात जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन्।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा समिति बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य हुनुहुन्छ।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको छ।
गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा इपिएस परीक्षा फारम भर्ने विषयलाई लिएर त्यहाँ जम्मा भएका व्यक्तिहरूको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी, आर्थिक, भौतिक, एवं मानवीय क्षतिप्रति गृहमन्त्रालयले दुःख व्यक्त गरेको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भन्नुभयो, “उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ।” उहाँले मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताउनुभयो। घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो।
कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरूले प्रदर्शन गरेका थिए। त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभयो।
महानिरीक्षक कडायतका अनुसार मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन्। उहाँले उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र अर्का एक जना घाइते भएको बताउनुभयो। घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो।
नेपाली कांग्रेसले ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी भएको र तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न माग गर्नुभएको छ। साथै कांग्रेसले प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग माग गरेको छ।
हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै कांग्रेसले सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल पनि गरेको छ।
यसैगरी नेकपा (एमाले)ले उक्त घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रदाञ्जली व्यक्त गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्ति जारी गरी उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उक्त घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने