सुदूरपश्चिममा सरकार फेर्ने खेल

दिनेश बिष्ट

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागितासँगै सरकार परिवर्तनको सम्भावना बढेको छ। नेपाली कांग्रेसलाई सरकारमा ल्याउने गठबन्धनको तयारीसँगै सरकार परिवर्नतको विषय पनि अघि बढेको छ। कांग्रेसले सरकारमा चाँडै सहभागी गराउन माग गर्दै ढिलाई गरे समस्या निम्तिने चेतावनी दिएको छ भने सबैभन्दा ठुलो दल एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्वका लागि दावी गरेको छ।

एमाले विभाजनका बेलामा तत्कालिन माधव नेपाल समूह र माओवादी केन्द्र गठबन्धन बनाएर गत जेठ १४ गते सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बिस्तार भएको थियो। त्यसपछि एमाले विभाजन भएर एकीकृत समाजवादी बने यता प्रदेशमा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रको सरकार छ। केन्द्र तथा ६ वटा प्रदेशमा कांग्रेस सहित गठबन्धनको सरकार बनेपनि सुदूरपश्चिममा हालसम्म कांग्रेसलाई सरकारमा सहभागी गराइएको छैन।

गठबन्धन बनेको लामो समयसम्म कांग्रेसलाई सुदूरपश्चिम सरकारमा सहभागी नगराएको भन्दै कांग्रेस सांसदहरू रुष्ट भएपछिचाहिँ कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने बिषय जोडतोडका साथ उठेको छ। ‍प्रदेशसभाको अधिवेशन शुरु हुनु अघिनै कांग्रेसलाई सरकारमा सहभागी नगराए समस्या निम्तिने कांग्रेसले चेतावनी दिएको छ।

कांग्रेसका प्रदेशसभा सदस्य तथा संसदिय दलका प्रवक्ता डिल्लीराज पन्तले केन्द्रमा भएको गठबन्धनकै बेला कांग्रेसलाई सरकारमा लानुपर्ने भएपनि सत्तारुढ दलले बेवास्ता गरेको बताउनु भयो। “हामीलाई त्यतिबेलानै सरकारमा लिनुपर्ने हो लगिएन,” पन्तले भन्नुभयो, “ढिलो भइसकेको छ अब धेरै ढिलो गर्नुहुन्न। ४/५ दिनमै कांग्रेसलाई सरकारमा नलगे ठुलै समस्या निम्तिन सक्छ।” कांग्रेसलाई २ मन्त्रालय र अन्य राज्यमन्त्री सहित सरकारमा लानुपर्ने पन्तले वताउनुभयो।

तर सबैभन्दा ठुलो दल रहेको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नै नेतृत्वमा कांग्रेस सहितको सहभागितामा सरकार बनाउने गृहकार्य पनि थालेको छ। स्वभाविक रुपमा सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्ने भन्दै सुदूरपश्चिममा अब समाजवादीले नेतृत्व गर्नुपर्ने पार्टीको जोड छ। तर केन्द्रमा नेताहरूको बैठकलेनै निश्कर्ष निकाल्ने र यहाँको माग सम्बोधन हुनेमा सुदूरपश्चिमको संसदिय दल ढुक्क छ।

“हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने र मन्त्री परिवर्तन गर्ने कुरा संसदिय दलमा पठाएको छैन” , नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभाकी प्रमुख सचेतक दुर्गा कामीले भन्नुहुन्छ “सरकारमा कांग्रेसलाई लानुपर्छ भनेर कुरा आएको छ हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि भन्नुभएको छ, त्यस बारे गठबन्धनमा नेताहरू बीच छलफल भइरहेको छ। निर्णय हुने बित्तिक्कै हामी मन्त्री परिवर्तन र कांग्रेसलाई सरकारमा ल्याउँछौँ।”

दुर्गा कामीले भन्नुहुन्छ “स्वभाविक रुपमा नेकपा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो पाटी हो।त्यसैले पनि हामीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो तर नेताहरूले कस्तो सहमति गर्नुहुन्छ त्यो अनुसारनै हामी चल्ने छौँ।”

माओवादीले पनि ‍ सरकार परिवर्तन हुने सम्भावना रहेको जनाएको छ। गठबन्धनको भागबण्डाका आधारमा तीन दलले दुई/दुई र मधेसमा जसपाले नेतृत्व गर्ने सहमति अनुसार सबै प्रदेशको नेतृत्व भइरहेको छ। तर बागमतीमा माओवादीले नेतृत्व गर्ने कुरा उठिरहदा सुदूरपश्चिममा छोड्नुपर्ने अवस्था आउन सक्ने पार्टीले जनाएको छ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदिय दलका प्रमुख सचेतक अक्कल रावलले सरकारनै परिवर्तन समेत हुन सक्ने बताउनुभयो। नेकपा एकीकृत समाजवादी पार्टीको माग अनुसार बागमती प्रदेशको मुख्यमन्त्री माओवादीलाई र सुदूरपश्चिममा समाजवादीलाई दिन सक्ने रावलको भनाई छ। “बागमती प्रदेशमा माओवादी र एकीकृत समाजवादी पार्टी बीच पूर्व सहमती भएको छ भन्ने कुरा आएको छ यदी त्यो हो भने सुदूरपश्चिममा पनि नेतृत्व फेरिन सक्ने सम्भावना छ,” रावलले भन्नुभयो, “बागमतीमा माओवादीले नेतृत्व लिए यहाँ एकीकृत समाजवादीले लिने पक्कानै हो तर अहिलेसम्म पार्टीको निर्णय आइसकेको छैन । हेरौँ के निर्णय आउँछ त्यही अनुसार मन्त्री फेरबदल या सरकार परिवर्तन हुन्छ।”

यही सरकार रहे पनि एकीकृत समाजवादी र माओवादीले एक/एक मन्त्री र एक/एक राज्यमन्त्री फिर्ता बोलाएर कांग्रेसलाई दिनुपर्ने हुनसक्छ। एकीकृत समाजवादीले नेतृत्व गरे २ मन्त्री कांग्रेस, २ माओवादी र मुख्यमन्त्री सहित अन्य २ मन्त्रालय एकीकृत समाजवादीले लिनसक्ने अनुमान गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दिनेश बिष्ट/धनगढी का अन्य पोस्टहरु:
सुदूरपश्चिममा सरकार फेर्ने खेल
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link