महिला स्वास्थ्य स्वयंसेविका सुनिता चौधरीलाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उहाँको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । चौधरीलाई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उहाँले आवत जावतमा सहज भएको बताउनुभयो ।
“हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर यात्रा गर्न कठिन थियो । एउटा साधनको आवश्यकता थियो”, चौधरीले भन्नुभयो, “वडा कार्यालयले समयमै बुझेर साइकल वितरण दिएको छ । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।”
स्वयंसेविका करुणा खडकाको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा लाग्छ । करुणालाई पनि साइकल पाएपछि अब सजिलो भएको छ । “हामी वडाका हरेक काममा हिँड्नुपर्छ, पैदल हिँडेर सबै भ्याउनुपर्ने समस्या थियो”, खड्काले भन्नुभयो, “वडा कार्यालयले साइकल दियो । अब सबै साथीलाई सजिलो हुन्छ । हामीले वडाध्यक्षलाई साइकल चाहियो भनेका थियौँ, व्यवस्था गरिदिनुभएछ ।”
शुद्धोधन गाउँपालिका वडा नं २ का १३ का महिलालाई साइकल वितरण गरेको छ । साइकल पाएपछि सुनिता र करुणा मात्रै होइन, खड्का वन स्वास्थ्य चौकीका कर्मचारी लगायत सबै स्वयंसेविका खुसी भएका छन् । उनीहरूले अझ थप स्वास्थ्य सेवा प्रभावकारी बनाउन काम गर्ने बताउनु भएको छ।
कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई घरदैलो सेवा गर्न सजिलो होस भन्ने उद्देश्यले वडाले साइकल वितरण गरेको बताउनुभयो।
उहाँले उच्च मनोबलका साथ स्वास्थ्य सेवा मात्र नभई सामाजिक अभियान, विकासका कार्यमा समाजलाई जागरूक बनाउने काम पनि गर्न स्वयंसेविकाहरूलाई आग्रह गर्नु भयो।” बालबालिका तथा मातृ मृत्युदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको अध्यक्ष बस्यालले बताउनुभयो।
उपाध्यक्ष शान्ता देवी ज्ञवालीले गाउँघरका डाक्टर भनेर चिनिएका स्वयंसेविकाहरूलाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो। आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाले उच्च मनोबलका साथ सेवा प्रदान गर्न उहाँहरूलाई आग्रह गर्नुभयो।
वडाध्यक्ष कमल खड्काले वडा कार्यालयले स्वयंसेविकालाई प्रोत्साहन गर्ने, उनीहरूका आवश्यकता पूरा गर्ने जिम्मा सरकारको भएकाले आउँदा दिनमा यस्ता कार्यक्रम निरन्तर गरिने बताउनु भयो ।“हामी यहाँहरूलाई खुसी राख्ने प्रयास गर्नेछौँ, सेवा दिने मानिस सधैँ खुसी रहनुपर्छ”, खडकाले भन्नुभयो, “तपाईँहरूकै कारण वडामा महिलाको नेतृत्व र क्षमता विकास भएको छ ।”
वडा सचिव हरि पोखरेलको स्वागत र खडवाबनगाई स्वास्थ्य चौकीका प्रमुख मदन पोखरेलको सञ्चालनमा साइकल वितरण कार्यक्रम भएको थियो। सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान