कोहलपुरको मेयर र राष्ट्रपति रनिङ शिल्डमा नै स्कुलले फर्जी खेलाडी पठाएपछि

बाँकेको कोहलपुर नगरपालिकाले सातौं नगरस्तरीय मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा केही विद्यालयले फर्जी खेलाडी समावेश गरेको पाइएको बताएको छ। नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले आज छानबिन समितिको प्रतिवेदन सावर्जनिक गर्दै छ विद्यालयले फर्जी खेलाडी समावेश गरेको निष्कर्ष निकालेको हो।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल खेलमा, ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेलमा, एभरेष्ट सैनिक माध्यामिक विद्यालय प्रेमनगरले छात्रतर्फको भलिबलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिको निष्कर्ष छ। ग्रीन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा बढी उमेरका खेलाडी सहभागी गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले तीन हजार मिटर दौडमा फर्जी खेलाडीलाई सहभागी गराएको समितिको प्रतिवेदनमा उल्लेख छ। साथै सगरमाथा ज्ञानपुञ्ज मावि किरणनालाले छात्र भलिबलमा फर्जी खेलाडी समावेश गरेको पाइएको समितिको भनाइ छ।

गत पुस १० गतेदेखि १३ गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा फर्जी खेलाडीहरू खेलाइएको विषयमा उजुरी परेपछि कोहलपुर नगरपालिका शिक्षा समितिको पुस १४ गते बसेको बैठकले सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापा, नगर प्रहरी प्रमुख वीरबहादुर थापा र शिक्षा शाखा अधिकृत रविलाल मिजार सदस्य हुनुहुन्थ्यो।

कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासङ्घका प्रतिनिधि, प्याब्सनका प्रतिनिधिसहित बृहत भेलामा सार्वजनिक गरिएको उक्त प्रतिवेदन बुझ्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रतिवेदन कार्यान्वयनका लागि प्रतिबद्धता जनाउनुभयो।

साथै उहाँले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितालाई मर्यादित बनाउन कसैसँग सम्झौता नगरिने स्पष्ट पार्नुभयो। फर्जी खेलाडीसम्बन्धी अनियमितता गरेका विद्यालयलाई ३० हजार जरिवाना गरी दण्डित गरिने पालिकाले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link