पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर माघ १२ गते सार्वजनिक गरिएको छ।
समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले माघ १२ गते यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षणकोषलगायतले सदर चिडियाखानामा पत्रकार सम्मेलन गरी हिउँ चितुवासहित उसको अवस्थाका बारेमा विवरण सार्वजनिक गरेको हो।
विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताउनुभयो। यही माघ ९ गते त्यहाँ देखिएको उक्त चितुवालाई संरक्षणमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सक्रियतामा उद्धार गरी सदर चिडियाखाना जाउलाखेल ल्याइएको हो।
उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विज्ञहरूले उर्लाबारीमा हिउँ चितुवा कसरी आइपुग्यो भन्नेबारेमा अनुसन्धान थालिएको पत्रकार सम्मेलनमा बताउनुभयो।
नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ। नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो।
विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ। हिमाली क्षेत्रको १२ संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा करिब १२ हजार आठ सय १५ वर्ग किलोमिटर क्षेत्रमा सम्भावित बासस्थान रहेको छ।
यसको सङ्ख्याको वितरणका आधारमा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्मको हिउँ चितुवाको बासस्थानलाई पश्चिमी भूपरिधि, मध्य भूपरिधि र पूर्वी भूपरिधिमा विभाजन गरिएको छ। विश्वमा यसको अनुमानित सङ्ख्या तीन हजार नौ २१ देखि छ हजार दुई ९० रहेको छ। नेपालमा तीन सय एकदेखि चार सय सङ्ख्यासम्म रहेको अनुमान गरिएको छ। यो प्रजाति संवेदनशील वर्गमा र नेपालको संरक्षित सूचीमा पर्दछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम ‘सुपर फोर’मा
- अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान
- न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती
- नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
- दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित