शीत भण्डारमै कुहियो सुन्तला

अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा राखेका सुन्तला आवश्यक मात्रामा रेखदेख र व्यवस्थापन नहुँदा (रफ हेन्डलिंग) हरियो र नीलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागेको छ ।

पाणिनी गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो ।

वैज्ञानिक अनुसन्धानपछि सुन्तला मुख्य गरी हरियो (पेन्सिलियम डिजिटेटम) र नीलो (पेन्सिलियम इटालीकम) ढुसीको कारणले गर्दा सुन्तला नष्ट भएको वरिष्ठ वैज्ञानिक आचार्यको टोलीले स्थलगत अनुसन्धानपछि निष्कर्ष निकालेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो ।

भण्डारण गर्दा प्राविधिक त्रृटि रहेको, खुला हातले पन्जा नलगाई शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा ‘सोडियम हाइपोक्लोराइड’को मात्रा कम राखेको जसका कारण अघिल्ला वर्षको ढुसीका जीवाणु नष्ट नभएको अनुसन्धानपछि पत्ता लागेको छ ।

सुन्तलालाई पटकपटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आर्द्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख गरेको छ । सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नुपर्नेमा सबै पाकेका सुन्तला टिपेको, हात बढी प्रयोग भएको, हातका कारण बढी ढुसी लागेको निष्कर्ष छ ।

सुन्तला कसरी र किन कुहियो भनेर आइतबार परिषद्का वरिष्ठ वैज्ञानिक आचार्य, कृषि विकास निर्देशनालय बुटवलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटवलका बागवानी अधिकृत सुनयना बराली र कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेको टोलीले स्थलगतरुपमा शीत भण्डारमा पुगी सुन्तला कुहिएको बारेमा अनुसन्धान गरेको थियो ।

शीत भण्डारमा राखेका ६३ मेट्रिक टन सुन्तला कुहिएपछि रु ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि कृषकले झण्डै रु ५६ लाख ७० हजार घाटा व्यहोर्नुपरेको छ । कृषक मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राखेका थिए ।

शीत भण्डारमा राखी बेमौसममा महँगोमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि आफूहरुलाई ठूलो घाटा परेको कृषकको भनाइ छ । अघिल्ला दुई वर्षमा पनि यसरी नै कुहिएर सुन्तला नोक्सान भएको थियो । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको कृषकको भनाइ छ ।

अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी वर्षेनि सुन्तला बिग्रँदा किसान चिन्तित भएका छन् । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनी गाउँपालिकाले तीन वर्षअघि तीन सय मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरेको थियो । कोल्डस्टोर सिम्लेका सुन्तला कृषकको शिवशक्ति मिश्रित कृषक समूहले सञ्चालन गरेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link