चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट वन्यजन्तु मानव बस्तीमा पस्ने जोखिम न्यूनीकरण गर्न मेसजाली निर्माण गरिने भएको छ। वन्यजन्तु आगमनको उच्च जोखिम रहेको भरतपुर महानगरपालिकाका चार वडामा तीन किलोमिटरमा मेसजाली निर्माणको कार्य प्रारम्भ गरिएको हो।
भरतपुरका वडा नं २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउने स्थानमा सुरुआती चरणमा मेसजाली निर्माणको काम हुनेछ। निर्माणकार्यको माघ २६ गते महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सङ्घ र महानगरको रु दुई–दुई करोड गरी रु चार करोडको परियोजनाअन्तर्गत पहिलो चरणमा रु दुई करोड ७९ लाखको काम सुरु भएको बताउनुभयो।
छुटेका स्थानमा तत्काल सर्भे गरी नयाँ बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो। मेसजाली निर्माणले वन्यजन्तुको जोखिम अन्त्य हुने विश्वास प्रमुख दाहालले व्यक्त गर्नुभयो। भरतपुरका वडा नं ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको जनाउँदै उहाँले यी वडामध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको बताउनुभयो।
मेसजाली निर्माणको कार्यका लागि चार वडाको दक्षिणतर्फ जङ्गलको सिमानामा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो। मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब तीन किलोमिटर मेसजाली निर्माण गरिने आचार्यको भनाइ छ।
गोले सनसाइन जेभी सुकेधारा काठमाडौँले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता गरेको छ। पश्चिम चितवनका निकुञ्ज तटीय क्षेत्रसँग जोडिएका बस्तीमा बाघ, हात्ती, गैँडा, बँदेललगायतका वन्यजन्तुले बर्सेनि ठूलो मात्रामा जनधनको क्षति पुर्याउँदै आएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
