अनियमित विद्युत् कटौतीविरुद्ध उद्योगीहरुको आपत्ति

रुपन्देहीमा अघोषित विद्युत् कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादन कार्य ठप्प भएको उद्योगीले गुनासो गरेका छन्।

केही समययता विद्युत्को समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेको बताए।

३३ केभिए तथा ११ केभिए औद्योगिक कोरिडोरका उद्योगहरूमा विगत केही दिनदेखि २४ घण्टै अघोषित विद्युत् कटौती भइरहेको रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले बताउनुभयो।

उद्योगहरूमा भएको अघोषित लोडसेडिङले उद्योगहरूको उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रेको, बजारमा माल वस्तुको अभाव सिर्जना भइसकेको तथा मूल्यवृद्धि हुने डर रहेको उहाँले बताउनुभयो। उहाँले भन्नु भयो, ‘यस्तो आर्थिक सङ्कटमा उद्योग चलाउनुपरेको छ, अघोषित विद्युत् कटौतीले झनै सङ्कटमा पार्‍यो, विविध प्रकारका नोक्सानी व्यहोर्नु परेको कारण निर्बाध रूपमा उद्योगहरू सञ्चालन हुन नसकी उद्योगहरू बन्द हुन स्थितिमा पुगेका छन्।’

राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगहरूलाई गुणस्तरीय तथा निरन्तर विद्युत् आपूर्तिको तालिका मिलाइ उद्योग सञ्चालनको वातावरण सिर्जना गर्न उहाँले माग गर्नुभयो।

उद्योगमा पटक पटक विद्युत् कटौती भएकाले उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणको प्रदेश कार्यालयमार्फत प्रणाली सञ्चालन विभाग, विद्युत् कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँ मिललाई समेत रुपन्देही उद्योग सङ्घले ध्यानाकर्षण गराएको  छ।

उद्योगमा केही समययता दैनिक १२ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ रहेको उद्योगीहरूको भनाइ छ। जसले उद्योग सञ्चालनमा समस्या आएको उद्योग सङ्घका निवर्तमान अध्यक्ष माधव पौडेलले बताउनुभयो। उहाँले उद्योग सञ्चालन हुन नसक्दा आपूर्तिमा असहज हुने चिन्ता व्यक्त गर्नु भयो। उहाँले भन्नुभयो, ‘उद्योग सञ्चालन हुन नसके मूल्यवृद्धि हुन सक्छ, सामान आयात गर्नुपर्ने अवस्था आउँछ, जसले गर्दा व्यापार घाटा पनि बढ्छ।’

पञ्चकन्या उद्योगका प्रबन्धक देवेन्द्र साहुले प्राधिकरणले विद्युत् दिन नसक्ने भए पूरै उद्योग बन्द गर्न तयार रहेको तर यसरी सूचनाबिना कटौती गरेर थला परेका उद्योगीलाई थप हतोत्साहित नबनाउन आग्रह गर्नुभयो। ‘यसै पनि हाम्रा उद्योग आधा चलेका छैनन्, यस्तो समयमा हामीले कुन समयमा काम गरेर उद्योग थेग्ने अवस्थामा छौँ, त्यसमाथि जुनसुकै बेला कटौती गरेपछि कति बेला चलाउने ?’ उहाँले प्रश्न गर्नुभयो।

सङ्घका महासचिव तथा बुटवल औद्योगिक क्षेत्रका उद्योगी हिरामणि भट्टराईले अनियमित विद्युत् कटौती गर्ने समस्या आए तत्काल सूचना दिन माग गर्नुभयो।

‘देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौँ। समस्या भए लोडसेडिङको तालिका दिनुपर्‍यो’ उहाँले भन्नुभयो। लोडसेडिङ गर्ने भए तालिका बनाएर उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुनुपर्ने उनको माग छ।  उद्योग सञ्चालन गर्न नपाइने भए लिखित रूपमा जानकारी गराउनुपर्ने उद्योगीको माग छ।

रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेको उद्योगी बताउँछन्। उद्योगी तथा रुपन्देही उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगीले माग गरे अनुसार तत्काल समय तालिकाअनुसार विद्युत् कटौती गर्न र उद्योगीहरूको माग पूरा गर्न आग्रह गर्नुभयो।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख इन्जिनियर हरिप्रसाद पाण्डेले विद्युत् आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताउनुभयो। उहाँले भन्नु भयो, आएको विद्युत् हामीले वितरण गर्ने हो, उद्योगहरूको माग अनुसारको आपूर्ति नभएकोले विद्युत् अनियमित हुने गरेको हो, यो अघोषित कटौती हो लोडसेडिङ होइन। ’

उहाँले प्रदेशमा अहिले के कति समस्या भएको हो भनेर केही दिनमा तथ्याङ्क निकालेर उद्योगीसँग समन्वय गरेर तालिका निकाल्ने बताउनुभयो। उहाँले अहिले पानी नपरेर उत्पादन कम भएको, र भारतबाट चाहे जति किन्न नसकिएकाले समस्या भएको बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link