भ्रष्टाचार गर्ने जो सुकै, जुन घराना, पार्टी वा समुदायको भए पनि नछाडिनेः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताउनुभएको छ। लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका विषयमा जानकारी दिन राजनीतिक दल, पत्रकार, नागरिक समाज, धार्मिक अगुवासँग फागुन ११ गते भएको भेटघाटमा उहाँले शान्तिसुरक्षा, अमनचयन र अपराध नियन्त्रण गर्न सफलता हासिल भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “यस विषयलाई व्यवहारमा लागू गर्न प्रभावकारी कदम चालिने छ।” गणतन्त्र स्थापनापछि केही सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै उहाँले विकास र समृद्धिको प्रक्रियालाई तीव्र बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

जनताको समाजिक आर्थिक जीवनमा परिवर्तन ल्याउनु आजको मुख्य कार्यभार भएको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगरीकन समृद्धिले फड्को मार्न सक्दैन भन्नुभयो। उहाँले अहिलेको सरकार आएपछि सुशासनको अभियान सञ्चालन भएको उल्लेख गर्दै तक्मा वितरण, राष्ट्रिय परिचयपत्रका विषय, भूटानी शरणार्थी समस्या, ललिता निवास जग्गा प्रकरण, बाँसबारी छाला उद्योग लगायत सरकारले उपलब्धि हासिल गरेर खर्बौंको सम्पत्ति सरकारका नाममा ल्याएको बताउनुभयो।

“जे गरे पनि हुन्छ भन्ने स्थितिको अन्त्य गर्न खोजेका छौँ,” उहाँले भन्नुभयो। जतिसुकै शक्तिशाली, राजनीतिक पहुँचको भए पनि जत्रा ठूला नेता भए पनि वा जति ठूलो कर्मचारी भए पनि अब नचल्ने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले दोषीलाई कानुनको कठघरामा ल्याइन्छ, आउनुपर्छ  भन्नुभयो। सुशासन कायम गर्न नदिन राजनीतिक दलका नेताहरू, ठूलठूला उद्योगी–व्यवसायी, दलाल र कर्मचारीको गठबन्धन भएको बताउँदै गृहमन्त्री श्रेष्ठले जालसाजी, कीर्ते, ठगीजस्ता कामले छुट पाउँदैन र हामीले पनि विश्राम लिँदैनौँ भन्नुभयो। उहाँले अनियमितता तथा भ्रष्टाचार गर्ने जो सुकै, जुन घराना, पार्टी वा समुदायको भए पनि नछाडिनेमा जोड दिँदै अपराधी हो वा होइन भन्ने विषय हेरिने बताउनुभयो।

गृहमन्त्री श्रेष्ठले धार्मिक सद्भावको विषयलाई संवेदनशील रुपमा हेरिएको उल्लेख गर्नुभयो। भेटघाटमा लुम्बिनी प्रदेश, गृहमन्त्री सन्तोष पाण्डेयलगायत सहभागी हुनुहुन्थ्यो। सो अवसरमा बाँकेमा रहेका राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि र धार्मिक अगुवाले विभिन्न विषयमा गृहमन्त्री समक्ष जिज्ञासा राखेका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link