जब चितवनका सडकमा दौडिए ७६५ जना

रोटरी क्लब अफ रत्ननगरले चितवनमा फागुन १९ गते आयोजना गरेको रोटरी मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले जित्नु भएको छ । उहाँले निर्धारित दूरी १५ दशमलव चार किलोमिटरको दूरी ४६ मिनेट ३८ सेकेण्डमा पार गर्नुभयो ।

नारायणगढस्थित नारायणी नदी किनारबाट सुरु भएको दौड रत्ननगरको हरिहर मन्दिर पुगेर टुङ्गिएको थियो । पाललाई उपाधिसँगै नगद रु एक लाख, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

प्रतियोगितामा दोस्रो स्थानमा त्रिभुवन आर्मीकै सञ्जय श्रेष्ठ रहनुभयो । उहाँले निर्धारित दूरी ४६ मिनेट ४१ सेकेण्डमा पार गर्नुभयो । उहाँलाई रु ५० हजार, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

जुम्लाका दुर्गाबहादुर बुढाले ४६ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो । उहाँलाई रु २५ हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरियो । त्रिभुवन आर्मीका टङ्क कार्की चौथो र सुवास कार्की पाँचौँ हुनुभयो । उहाँहरूले क्रमशः रु १० हजार र पाँच हजार प्राप्त गर्नुभयो । छैटौँदेखि १०औँ स्थानसम्म क्रमशः नागेश्वर अहिर, प्रेमबहादुर बस्नेत, राजेन्द्र तामाङ, खिमबहादुर खत्री र धनु मानन्धर हुनुभयो । उहाँहरूले जनही रु तीन हजार प्राप्त गर्नुभयो ।

महिलातर्फको पाँच किमी दौडमा सशस्त्रकी फूलमती राना प्रथम हुनुभयो । उहाँले निधारित दूरी १८ मिनेट १६ सेकेण्डमा पार गर्नुभयो । उहाँलाई रु २० हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । दोस्रो हुनुभएका त्रिभुवन आर्मीकी सुनसरी रोकायाले १८ मिनेट २७ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । उहाँले नगद रु १० हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

सशस्त्रकी आशा राउत तेस्रो हुनुभयो । उहाँले निर्धारित दूरी १८ मिनेट ३३ सेकेण्डमा पार गर्नुभयो । उहाँले रु पाँच हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

सशस्त्रकै सीमा चौधरी चौथो हुनुभयो । उहाँले रु तीन हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । पाँचौँ स्थानमा रहनुभएकी स्मिता बुढाले रु दुई हजार पाँच सय, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । छैटौँ स्थानदेखि १०औँ स्थानसम्म रहनुहुने क्रमशः अस्मिता भुजेल, नम्रता गुरुङ, वर्षा ओली, सन्ध्या अधिकारी र लक्षिमा डाँगीले रु एक हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्नुभयो ।

खुल्लातर्फ चेपाङ समुदायका धावकलाई नगद रु दुई हजार र महिलातर्फ दूरी पार गर्ने रु एक हजारसहित सम्मान गरिएको थियो । उहाँहरूलाई रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले सम्मान गर्नुभयो । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का, कार्यक्रम संयोजक विपिन पोख्रेललगायतले भनाइ राख्नुभयो ।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारमा गर्नुभएको थियो । उहाँले भरतपुर भ्रमण वर्षलाई टेवा पुर्याउन यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रतियोगितामा सात सय ६५ धावकले सहभागिता जनाएका थिए । जसमध्ये खुलातर्फ चार सय ९४ जनाको सहभागिता थियो । महिलातर्फ दुई सय ७१ जनाले सहभागी भए । जसमध्ये खुलातर्फ ६८  र चेपाङ समुदायका धावक र महिलातर्फ ५४ जनाले सहभागी भएको कार्यक्रमका संयोजक पोख्रेलले जानकारी दिनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link