हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जयमान बनेको थियो। किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (केःलाङ) ले इलाम बजार गुञ्जयमान बनेको हो।
झण्डै पाँच सय हाराहारीमा च्याब्रुङ र करिब एक हजारका बाधक (च्याब्रुङे) सहित कलाकारले च्याब्रुङ नाच प्रस्तत गरेका थिए। च्याब्रुङ नाच हेर्न हजारौँ सहभागी भए। ठूलो टुँडीखेलको धूलो मैदानबाट च्याब्रुङ बजाउँदै निस्केको समूह भानुपथ–नविनचोक हुँदै प्रकाशपथ र मालापथ परिक्रमा गरेको थियो। महोत्सवमा इलामका १० वटा पालिकासहित याक्थुङ/लिम्बू जातिको बाहुल्यता रहेको पूर्वका नौ, उपत्यकाका तीन तथा चितवन गरी १३ जिल्लाबाट आएका र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट आएकाहरूको सहभागिता थियो।
महोत्सवमा सांस्कृतिक झाँकीसहित च्याब्रुङ नाच, धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुत गरिएको किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिनुभयो।
त्यस्तै, लिम्बू समुदायको पोसाक तागा (पुरुषले लगाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लागाउने सांस्कृतिक पोसाक) र लिम्बू सांस्कृतिक खानपान (परिकार) समेत प्रदर्शन गरिएको थियो। महोत्सवमा तोङ्बा, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनलगायतका परिकार अतिथिलाई पनि खुवाइएको थियो।
सो अवसरमा लिम्बू समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणसम्बन्धी विभिन्न कार्यपत्रमाथि छलफल गरिएको थियो। छलफलमा ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ/लिम्बू भाषा विकासको योजनालगायतका विषयमा छलफल भएको थियो।
चुम्लुङ इलामकी अध्यक्ष सोङ्मीले महोत्सवबाट लिम्बू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन, विकास र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्नुभयो। “आदिवासी याक्थुङ/लिम्बू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन एव नयाँ पुस्तामा पुस्तान्तरणमा महोत्सवले सहयोग पुर्याएको छ”, अध्यक्ष सोङ्मीले भन्नुभयो, “नयाँ र पुराना पुस्ता मिलेर नै पुख्र्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्दछ, यो महोत्सवले त्यही सन्देश दिएको छ।”
परम्परागत लोकबाजा च्याब्रुङ
च्याब्रुङ पूर्वी पहाडमा बस्ने लिम्बू समुदायको परम्परागत लोकबाजा हो। मादलजस्तै काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङमा खरीको प्रयोग हुँदैन। यसमा प्रायः गोरु, गाई र बाख्राको छाला प्रयोग हुन्छ। लिम्बू समुदायमा विवाह, भोजभतेर तथा शुभ कार्यमा च्याब्रुङ बजाएर नाच्ने गरिन्छ। झ्याम्टाको साथमा पनि च्याब्रुङ नाच नाचिने प्रचलन छ।
च्याब्रङ नाचको आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरू बताउँछन्। च्याब्रङ नाच विभिन्न जनावर र पशुपंक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ। च्याब्रङ नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ।
याक्थुङ/लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रुङ नाचलाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाले प्रयास गर्दै आएका छन्। पछिल्लो समय लिम्बूले मात्र नभई राई, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल आदिले पनि उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने