सियारामका पाइला पछ्याउँदै १३३ किलोमिटर लामो पदयात्रामा नेपाल र भारतका तीर्थालु

नेपाल भारतबीच सांस्कृतिक आदानप्रदानका कैयौँ अवसर छन्। यसमध्ये मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव र फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा मुख्य हुन्। यी दुवै सांस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि सर्वसाधारणसम्म सहभागी हुने गर्दछन्।

यी दुवै अवसर श्रीराम तथा श्री जानकीसँग अन्तरसम्बन्धित छन्। रामजानकी विवाह महोत्सव रामसीताको विवाह भएको सम्झना र मिथिला माध्यमिकी परिक्रमा श्रीराम जानकीले विवाहपश्चात् विहार गर्ने क्रममा घुमफिर गर्नुभएका पदचापको अनुसरण हो।

प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर वृत्तमा परिक्रमा गरिने मध्यमा परिक्रमाको लस्कर २८ फागुनमा यात्राको दोस्रो दिन भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर (कलना) पुगेको छ। यस क्रममा सबैले सीयाराम नाम सङ्कीर्तन गर्दछन् भने पिठ्यूँमा सामल खाजा र फेरफार लुगाको पोको हुन्छ। खाली खुट्टाको यात्रा रहन्छ सबैको एउटै कामना मोक्ष र कल्याण हुने गर्दछ। वास्तवमै मिथिला माध्यमिकी यात्रा अलौकिक हुने गरेको भारतको सीतामढी जिल्लाको हनुमाननगरका सन्त ७० वर्षीय हनुमानशरण दास बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ “यो अलौकिक यात्रा हो। यो भगवत कृपाले जोडिएको छ र सबै १५ दिनका लागि सांसारिक मायामोह त्यागेर लाग्ने गर्दछन्। यो यात्राले नेपाल भारतका सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने गरेको छ।” यस यात्रामा नेपाली र भारतीय नागरिक सहभागी हुन्छन्। मिथिलामा विवाहपश्चात् जन्ती घर फर्कने र दुलहा ससुराली घरमै बस्ने चलन छ। यसअनुसार राजा दशरथ जन्ती लिएर अवध (अयोध्या) फर्के पनि श्रीराम जनकपुरमै रहनुभएको र सीताजीका साथ विभिन्न तीर्थस्थलको भ्रमण र वनविहार गर्नुभएको प्रसंग मिथिला माहात्म्यमा वर्णित छ।

फागुन औँसीदेखि सुरु भई शुक्लपक्षभरिका १५ दिनको यो यात्रामा १५ रात्रि विश्रामको स्थापित परम्परा छ जसमा नेपालतर्फ छ रात धनुषा, पाँच रात महोत्तरी र भारततर्फ चार रात बिताउने गरिन्छ। जनकपुरधामलाई केन्द्रमा राखेर एक सय ३३ किलोमिटरको वृत्तमा यो यात्रा गर्ने गरिन्छ। मिथिला माध्यमिकी परिक्रमा र यसको समापनसँगै रामायणकालीन कथा र सत्ययुगको राजा हिरण्यकशिपुले विष्णुभक्त छोरा प्रह्लादलाई अनेक कष्ट दिएको र अन्त्यमा हिरण्यकशिपु र उनकी बहिनी होलिकाको अन्त्य भई भक्त प्रह्लादको रक्षा भएको कथासमेत मिसिएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link