चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन्। पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई गैँडालाई पूर्वी क्षेत्रमा ल्याइएको छ। अन्दाजी आठ र १७ वर्षका भाले गैँडालाई नियन्त्रणमा लिई पूर्वी चितवनको खैरहनी नगरपालिकाअन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ।
यस्तै कावासोती क्षेत्रबाट एउटा गैँडा नियन्त्रणमा लिई पूर्वी क्षेत्रमा ल्याइएको छ। अन्दाजी २८ वर्षको सो भाले गैँडालाई कसराबाट पूर्वी क्षेत्रमा छोडिएको हो। दुई पोथी गैँडा सुखीभार क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बुधबार १० वर्षको पोथी गैँडा ल्याइएको हो। आज आठ वर्षको पोथी गैँडालाई ल्याइएको छ। यी सबै गैँडा एकै क्षेत्रमा छोडिएको उहाँले बताउनुभयो।
निकुञ्जका हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएका नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनाको जनशक्ति गैँडा स्थानान्तरणमा खटाइएको छ। निकुञ्जले छ गैँडालाई आन्तरिक स्थानान्तरणको तयारी गरेको छ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन्। एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने गर्छन्। पूर्वी क्षेत्रमा घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा स्थानान्तरण गरिएको हो। त्यसमध्ये एउटा भाले गैँडालाई कोशीटप्पुमा स्थानान्तरण गरिने भएको छ। गत असोज १० गते त्यहाँ दुई पोथी गैँडा लगिएको थियो। प्रजनन प्रक्रिया सहज बनाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
