हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति गर्ने चलन भएकोमा पछिल्लो समय केवल रङ्गहरुमा मात्रै होली सीमित हुने गरेको छ ।
पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई नृत्य र गीतको रुपमा प्रस्तुत गरिन्छ ।
साहित्यकार कविराज भट्ट होली प्रस्ुततिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन् । उहाँका अनुसार खडी होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्तुत हुन्छ, भने बैठी होली बसेर तालीसँग खेल्ने गरिन्छ । “अहिलेको पुस्ता त होली भनेपछि रङ्ग दल्ने मात्रै बुझ्न होलीको आफ्नै मौलिकता छ”, साहित्यकार भट्टले भन्नुभयो, “होली महिमा र गरिमालाई अहिलेका पुस्ताले आत्मसात गर्नु जरुरी छ ।” उहाँले होलीमा विभिन्न लोक बाजाहरुको प्रयोग गरिने बताउनुभयो ।
“देवस्थल, सार्वजनिकस्थललगायत घर–घरमा गएर होली खेल्ने प्रचलन परापूर्वकालदेखि चल्दै आएको पाइन्छ ।” उहाँले भन्नुभयो, “होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ ।” उहाँले होलीमा विभिन्न विषयवस्तुमा आधारित गाथाका साथै आशिषसमेत दिने गरेको बताउनुभयो ।
होलीमा प्रस्तुत गरिने गाथामा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ ।” उहाँले होलीलाई अतिरञ्जनात्मक बनाइ मादक पदार्थको सेवन तथा जथाभावी रङ मात्र दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गइरहेको बताउनुभयो ।
“अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने गरिन्छ ।” स्थानीय गणेश भट्टले भन्नुभयो, “यसले गर्दा हाम्रा लोकबाजा र ती मौलिक गीत हराउन थाले ।” उहाँले अहिलेको पुस्ताले परम्परालाई आत्मसात गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होली पर्वमा उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरेको छ । प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, र मर्यादित तवरले मनाउन सबैलाई आग्रह गर्दै अपराधिक क्रियाकलाप गरे कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु
- ‘हेर्दा राम्रो मार्फा गाउँ…’
- रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो
- चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर
- सहज बन्यो चीनको कैलाश मानसरोवरको यात्राका लागि महाकाली करिडोर
- किन बढिरहेछ हिमाली क्षेत्रमा विपद्को वितण्डा ?
- अग्रज पत्रकार नरेन्द्र उपाध्याय, अल बिदा !
- युद्धपछि गाजामा कुपोषण: मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
- पाहुनाको कुरिरहेको मुस्ताङको स्याङगाउँ
- देशभर मनसुनी वायुको प्रभाव यथावत